काठमाडौँ । एमाले नेता महेश बस्नेतले गत महिना जेनजी आन्दोलनका क्रममा भएको घटनाहरूको सबै हिसाब गरेर राखेको बताएका छन् ।उनले आफूहरुलाई पक्राउ गरेर देखाउन पनि चुनौती दिएका छन् । बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा नेता बस्नेतले आफूहरूलाई पक्राउ गर्न गृहमन्त्री ओमप्रकाश अर्याललाई चुनौती दिए ।
आज (बिहीबार) एमालेले भक्तपुरको गुण्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी ओलीलाई पक्राउ गरिएको खण्डमा देशभरी आगो बाल्ने चेतावनी दिएका हुन् ।
‘मैले हिजो पत्रकार सम्मेलनमा भनेँ– तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई छोएर देखाउ । देशभरी आगो बल्ने छ,’– उनले भने ।
साथै, नेता बस्नेतले आगामी असोज २५ गते एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा मोटरसाइकल र्यालीमार्फत शक्ति प्रदर्शन गर्ने बताए । उनले भने, ‘२५ गते राष्ट्रिय युवा संघ नेपालले १ बजे तिनकुनेबाट मोटरसाइकल र्याली गरेर देखाउँदैछ । युवाहरुको तागत के हो ? नेकपा (एमाले) का तागत के हो ? तपाईँहरु सबैलाई २५ गते जान म आग्रह गर्दछु ।’