काठमाडौं । प्रतिनिधिसभा,राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरीदेवी न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएकी छन्। बुधबार सभापति न्यौपानेले सभामुख देवराज घिमिरेसमक्ष शपथ लिएकी हुन्।
समितिका ज्येष्ठ सदस्य सर्वेन्द्र नाथ शुक्लाको अध्यक्षतामा बुधबार बिहान बसेको बैठकमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको थियो । निजामति सेवा विधेयकको कुलिङ पिरियडमा विवादमा तानिएपछि समिति सभापति कांग्रेसका रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त पदमा न्यौपानेको मात्र उम्मेदवारी परेको थियो ।
बैठकमा समिति सदस्य खतिवडाले न्यौपानेलाई सभापति निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई नेकपा (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठले समर्थन जनाएका थिए। नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेकी न्यौपाने हाल कांग्रेसको केन्द्रीय सदस्य हुन्। कांग्रेसको मङ्गलबार बसेको पदाधिकारी बैठकले न्यौपानेलाई समितिको सभापति उम्मेदवार बनाउने निर्णय गरेको थियो । उनी नेपाली कांग्रेसको समानुपातिक सांसद हुन्।