काठमाडौँ । ‘नेप्से एआई’ नामक एप्स डाउनलोड नगर्न नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुरोध गरेको छ । मङ्गलवार एक प्रेस विज्ञप्ति जारी गर्दै नेप्से एआई नामक एप्स लगायत अन्य कुनै पनि अपरिचित लिङ्क तथा एप्स डाउनलोड/इन्स्टल नगर्न अनुरोध गरेको हो ।
केही दिन यता विभिन्न सामाजिक सञ्जालमार्फत नेप्से एआई एप्स डाउनलोड गर्न लगाई शेयर बजारको विश्लेषण गरी बढी भन्दा बढी नाफा कमाउन सक्ने भ्रामक सूचना प्रवाह भइरहेकाले सीआईबीले यस्तो अनुरोध गरेको हो ।
सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार सेयर बजारसम्बन्धी विज्ञापन देखाएर उक्त एप डाउनलोड गरेपछि एक जना प्रयोगकर्ताको २८ लाख ६१ हजार रुपैयाँ अन्यत्र खातामा ट्रान्सफर भएको र पीडितको मोबाइलमा रहेका डेटा तथा एपहरूसमेत डिलिट भएको उजुरी सीआईबीमा दर्ता भएको छ । यस्ता घटना भएमा तत्काल बैंक, नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा सम्पर्क गर्न समेत सीआईबीले आग्रह गरेको छ ।

