काठमाडौँ । सुदूरपश्चिममा सडक अलपत्र पार्ने ‘ठेकेदार’ इन्द्र बानियाँ आज बागमती प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामालाई कांग्रेस संसदीय दलका नेतामा पराजित गर्दै दल नेता बनेका बानियाँ आज बागमती प्रदेश सरकारको बागडोर सम्हाल्दैछन्।
मुख्यमन्त्री बन्न लागेका बानियाँको साझेदारी रहेको निर्माण कम्पनीको लापरबाहीले सुदूरपश्चिममा वर्षौंदेखि सडक निर्माण अलपत्र बनेको छ।सुदूर पहाडका बाजुरा र अछाममा निर्माणाधीन मुख्य सडक अलपत्र छन्। बाजुराको कोल्टी–मार्तडी र अछामको जयगढ–रामारोशन सडकखण्ड लामो समयदेखि अधुरै छन् ।
एक साताअघि माओवादी सांसद अक्कल बहादुर रावलले सुदूरपश्चिम प्रदेश सभामै यो विषय उठान गरेका थिए। प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै रावलले सुदूर पहाडमा सडक अलपत्र पार्ने ठेकेदारलाई मुख्यमन्त्री बनाएर पुरस्कृत नगर्न आग्रहसमेत गर्न भ्याएका थिए। करोडौंमा ठेक्का लिएर ठेकेदार बानियाँले सडक निर्माणमा लापरबाही गरिरहेको आरोप लाग्न थालेको छ ।
अछामको ३८ किलोमिटर जयगढ–रामारोशन सडक २०७४/०७५ सालमा सुरु भए पनि अझै सम्पन्न भएको छैन । १५ करोड बजेटमध्ये साढे १३ करोड फिर्ता हुनुपरेको पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ । त्यस्तै, बाजुराको कोल्टी–मार्तडी सडकमा पनि दोस्रो र तेस्रो प्याकेजमा बानियाँको साझेदारी रहेको कम्पनीले अहिलेसम्म आधा मात्र काम सम्पन्न गरेको छ । पटक–पटक म्याद थप भए पनि निर्माण कार्य सुस्त गतिमा छ ।