विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान र इलाका प्रहरी कार्यालय रानी (सीमा), मोरङमा कार्यरत प्रहरी नायव निरीक्षक सुवास अधिकारीलाई ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरिएको हो ।
प्रहरी निरीक्षक चौहानले लागूऔषध नियन्त्रणमा देखाएको सक्रियता र साहसिक कार्यका लागि पुरस्कृत गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । चौहानको नेतृत्वमा भद्रपुर नगरपालिका–५ मा गरिएको चेकजाँचमा ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगरसहित १ व्यक्ति र कार नियन्त्रणमा लिइएको छ । भद्रपुर–७ मा प्रहरीले ६ राउण्ड गोली फायर गरी २०५ ग्राम ८० मिलिग्राम ब्राउन सुगरसहित २ जना पक्राउ गरेका थिए ।
झापा गाउँपालिका–४ मा साइकलबाट लागूऔषध ओसारपसार गरिरहेको अवस्थामा १६७ ग्राम ब्राउन सुगरसहित १ जना पक्राउ परेका थिए। यता, नायव निरीक्षक सुवास अधिकारीले मोरङको कटहरी गाउँपालिका–३ मा ज्यान मारी फरार रहेका १ अभियुक्तलाई पक्राउ गरेका थिए । उनी जन्मकैदको सजाय पाएका र अन्य विभिन्न मुद्दामा फरार रहेका २१ जना प्रतिवादीलाई पक्राउ गर्न सफल भएका थिए । लागूऔषध दुर्व्यसन नियन्त्रणमा पनि उनले उल्लेखनीय भूमिका खेलेको प्रहरीले जनाएको छ ।
उल्लेखित दुवै प्रहरी अधिकृतको उत्कृष्ट कार्य, विभागीय मूल्य–मान्यता तथा निर्देशनको प्रभावकारी कार्यान्वयनको उच्च मूल्यांकन गर्दै असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गर्दै सम्मान गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।