काठमाडौँ । निजामती विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधान किर्ते गरेको आरोप लागेपछि संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गर्दै सांसदहरू आक्रोशित भएका छन्।
सांसदहरूले विधेयकमा किर्ते गरेर रोस्टमबाट प्रस्तुत गरिएको भन्दा फरक शब्द ‘घुसाइएको’ भन्दै त्यसको नैतिक र राजनीतिक जिम्मेवारी सभापति खतिवडाले लिनुपर्ने बताइरहेका हुन् । नेकपा (एकीकृत समाजवादी) का नेता तथा सांसद राजेन्द्र पाण्डेले यस्तो गम्भीर लापरवाही समिति सभापतिको सहमतिबिना सम्भव नभएको आरोप लगाएका छन् ।
त्यस्तै नेकपा (एमाले)का सांसद पदम गिरीले निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ प्रावधानमा षड्यन्त्र गर्नेले कारबाही भोग्नुपर्ने बताएका छन् । मंगलबार सभामुख देवराज घिमिरेसँग प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सदस्यको छलफलपछि उनले षड्यन्त्र गर्नेले राजीनामा दिनुपर्ने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि सभापति खतिवडालाई कडा शब्दमा आलोचना गर्दै राजीनामा मागेको छ। रास्वपाका प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत सभापति खतिवडाको राजीनामा नै मागेका हुन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रले पनि यो चलखेललाई गम्भिर भनेको छ । पार्टीका उपमहासचिव जनार्दन शर्माले संघीय निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडको व्यवस्थाबारे भएको चलखेललाई गम्भीर अपराधको संज्ञा दिँदै छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
विवाद चुलिँदै गएपछि समितिको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका सांसदहरू सभापतिलाई प्रतीक्षा गरिरहेका छन् । बैठक बिहान ८ बजेका लागि तय गरिएको थियो तर कुलिङ पिरियड प्रकरणको निष्कर्ष ननिस्किँदासम्म बैठक अघि बढ्न नसक्ने अडान सांसदहरूले लिएका छन्।
राज्य व्यवस्था समितिबाट सर्वसम्मत पास भएको प्रतिवेदन प्रतिनिधि सभाबाट पास हुँदा हेरफेर गरिएको पाइएपछि यसमा प्रश्न उठिरहेको हो । समितिको प्रतिवेदनमै नरहेको ‘बाहेक’ शब्द छलछाम गरी घुसाइएको सांसदहरूले बताइरहेका छन् ।