काठमाडौँ । नेपालमा आज गणतन्त्र दिवस मनाइँदैछ। तत्कालीन सात राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलन र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष पूरा भएको छ। सोही अवसरमा राष्ट्रपती,प्रधानमन्त्री,सभामुख लगायत अन्य व्यक्तिहरुले गणतन्त्र दिवस, २०८२ को शुभकामना व्यक्त गरेका छन् ।
यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले हाल गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति भएको बताएका छन् । उनले गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न राजनीतिक उपलब्धि मात्र पर्याप्त नहुने भन्दै त्यसका लागि हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने बताए । यस्तै, शासकीय चरित्र, राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड छ । सन्देशमा उनले भनेका छन्, “हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ । गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्दछु ।” लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकलाई निराश बन्ने अवस्था आउन नदिने गरी काम गर्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । “शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज । मुकुटको होइन–मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन, जनताको सात दशक लामो बलिदानपूर्ण सङ्घर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “गणतन्त्र दिवसको गरिमामय अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना, जय–जय–जय नेपाल !”
यस्तै सभामुख देवराज घिमिरेले भ्रष्टाचार, असमानता र शासकीय कमजोरीजस्ता विषयमा निर्मम हुँदै समृद्ध, समावेशी र न्यायपूर्ण नेपाल निर्माण गर्नु नै गणतन्त्रको साँचो सम्मान हुने बताएका छन्। १८औँ गणतन्त्र दिवसका अवसरमा आज देश–विदेशमा रहेकाका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै सो कुरा व्यक्त गरेका हुन् ।
उनले गणतन्त्रको भावना केवल संवैधानिक संरचना परिवर्तनमा सीमित रहनु हुँदैन भन्दै गणतन्त्र जनसरोकार, सुशासन, पारदर्शिता र समावेशिताको जीवन्त अभ्यासका साथै समृद्धिको बलियो आधारमा रूपान्तरित हुनुपर्ने बताए। सभामुख घिमिरेले लोकतान्त्रिक गणतन्त्रमा देखिएको गणतन्त्रविरोधी गतिविधि केवल संविधानको अवमूल्यन मात्र नभई सहिदहरूको अपमान पनि भएको बताए । उनले आन्दोलनका सपना र बलिदानमाथि प्रहार गर्ने कुनै पनि चाहनालाई सम्पूर्ण राजनीतिक दल तथा नेपाली जनता एकजुट भएर अस्वीकार गर्नुपर्नेमा जोड दिए ।
सभामुख घिमिरेले सन्देशमा भनेका छन्,“गणतन्त्र दिवसमा सबै नेपालीहरूले गणतन्त्रको रक्षा, प्रवर्द्धन र सुदृढीकरणमा समर्पित भएर राष्ट्रलाई स्थायित्व, विकास र समृद्धिको दिशामा सफलीभूत गराउने सङ्कल्प लिन जरुरी छ । देश गणतन्त्रमा प्रवेश गरेसँगै राजनीतिक संरचना, शासन प्रणाली र नागरिक अधिकारको परिभाषा नै परिवर्तन भएको छ, यो ऐतिहासिक परिवर्तन केवल राजतन्त्रको अन्त्य मात्र थिएन, नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र जनआकाङ्क्षाको औपचारिक जित पनि थियो ।”
नेपाली जनताका प्रतिनिधिमार्फत विसं २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट घोषणा गरिएको गणतन्त्र दिवस जनताको बलिदानीपूर्ण सङ्घर्षलाई स्मरण गराउने प्रत्येक नेपालीको साझा गौरवको दिन भएको उनको भनाइ छ ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय तन्त्र हुन नसक्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधानको इमानदारीपूर्वक कार्यान्वयन गर्ने, जनतालाई अपनत्व हुनेगरी समानुपातिकरसमावेशी शासन प्रणाली र सङ्घीयताको कुशलताका साथ अभ्यास गर्नुपर्ने चुनौती रहेको उल्लेख गरेका छन् ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत विकासमार्फत मात्र समुन्नत, सभ्य र समृद्ध नेपाल निर्माण गर्न सकिने बताएका छन् । आज गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उनले नेपाली जनताको बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षा गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र अग्रगामी परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनु सच्चा गणतन्त्रवादीको कार्यभार भएको बताएका छन्। गणतन्त्र दिवस–२०८२ का अवसरमा आज शुभकामना दिँदै उनले गणतन्त्रको रक्षा, प्रयोग र विकासका लागि परिवर्तनकारी शक्तिबिचको एकता र गणतान्त्रिक शक्तिबिचको सहकार्य अपरिहार्य रहेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘दलतन्त्र’को एकाधिकारले गणतान्त्रिक व्यवस्थाको मर्ममाथि नै प्रहार गरेको बताएको छ। १८ औं गणतन्त्र दिवसको दिन शुभकामना सन्देश जारी गर्दै नागरिक सर्वोच्चता, विधिको शासन र समावेशी लोकतन्त्र गणतन्त्रका आधारभूत स्तम्भ भएको तर अहिले यी स्तम्भ कति बलिया छन् भन्ने प्रश्न सबैका सामु टड्कारो रूपमा खडा भएको रास्वपाले बताएको हो।