काठमाडौँ । नेपालमा आज गणतन्त्र दिवस मनाइँदैछ। तत्कालीन सात राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलन र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष पूरा भएको छ।
विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ।
जेठ १५ गतेकै दिन नेपाली जनताले स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्र र नागरिक सर्वोच्चता प्राप्त गरेका थिए। गणतन्त्र दिवसलाई वंशियतन्त्रलाई जनताले जितेको उत्सवका रूपमा पनि लिइन्छ।सङ्घीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि बढ्न जनतालाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ। नागरिकका समस्या समाधान, शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको प्रत्याभूतिसहित गरिबीको अन्त्य र विश्वमञ्चमा नेपाल र नेपालीको प्रतिष्ठालाई उँचो बनाउनु लोकतान्त्रिक गणतन्त्रको प्रमुख कार्यभार रहेको छ।
जनअपेक्षा र जनभावनाअनुरूप चल्नु नै गणतान्त्रिक संविधानको मूल भावना भएकाले आमनागरिकको अधिकारप्रति अटुट आस्था राख्दै यो दिवसलाई लोकतन्त्रको पोषकका रूपमा स्थापित गर्नु उत्तिकै आवश्यक छ। लोकतान्त्रिक गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली भएकाले यसलाई उदारवादी आदर्शको उपजका रूपमा हेरिन्छ। विश्वमा अभ्यासमा रहेका शासन व्यवस्थामध्ये लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्तम भएकाले जनताको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका लागि यो एक बलियो अस्त्रका रूपमा रहेको छ।
अठारौँ गणतन्त्र दिवस आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी भव्यता र हर्षोल्लासका साथ मनाइँदैछ। गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट महानुभावहरू सहभागी हुनुहुनेछ। यस अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ।