काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा धोका दिएको आरोपमा ६ जना नेताहरूलाई कारवाही गरेको छ ।
नेविसंघका केन्द्रीय सदस्यद्वय अशोक सिंह विष्ट र विजय शाह (अनुराग) सहित ६ जना नेतालाई साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको छ ।
नेविसंघको अनुशासन समिति संयोजक परोपकार अधिकारीले सूचना जारी गर्दै २ विष्ट र शाहसहित विद्यार्थी नेताहरू जितेन्द्र तिमिल्सिना, शैलेन्द्र उपाध्याय, हिमेन्द्र शर्मा र शेखर रोकायलाई निलम्बन गरेको जनाएका छन् ।
गत वैशाख १८ गते रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्ववियु निर्वाचनमा संगठनको हितविपरीत कार्य गरेको आरोपमा उनीहरू कारवाही गरिएको हो । आरआरमा अनेरास्ववियुका अध्यक्षका उम्मेदवार लोकेश खड्काको अध्यक्षतामा सर्वदलीय रूपमा स्ववियु घोषणा गरिएकोमा नेविसंघको तर्फबाट स्ववियु सचिवमा शैलेन्द्र उपाध्याय चयन भएका थिए ।
समिति बनाउँदा केन्द्रीय प्रतिनिधि तथा उम्मेदवारहरूसँग कुनै छलफल नगरी फरक सङ्गठनसँग मिलेको आरोप नेविसंघले लगाएको छ । व्यक्तिगत स्वार्थका लागि नेविसंघका आधिकारिक उम्मेदवारलाई हटाएर अन्य व्यक्तिलाई स्ववियु सचिव र सदस्य पदमा चयन गराएको नेविसंघले ठहर गरेको छ ।
