काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामान्य चोट लागेको छ ।उनको सचिवालयले गएराति शौचालयमा चिप्लिएर प्रचण्डलाई सामान्य बाहिरी चोट लागेको स्पष्ट पारेको हो ।
सचिवालय सदस्य गंगा दाहालले सामाजिक सञ्जालमार्फत शौचालयमा लडेपछि नजिकैको मेडिसिटी अस्पतालमा सामान्य जाँचपछि प्रचण्ड घर फर्किसकेको जानकारी दिइन् । उनका अनुसार प्रचण्ड नियमित काममा फर्किसकेका छन्।
‘गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य जाँचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु। बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद,’ उनले लेखेकी छन् ।