काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य असारको अन्तिमसम्ममा सम्पन्न गर्न निर्देशन दिएका छन् ।
प्यारापिट र फ्लडलाइट जडान कार्यमा भइरहेको ढिलाइ प्रति गम्भीर चासो व्यक्त गर्दै सोमबार सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई डाकेर छलफल गरेका प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफल भएको थियो । छलफलमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय संघीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंठसहित सम्लग्न निर्माण व्यवसायी सहभागी थिए ।