काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन्। कांग्रेसको कानुन विभागले सानेपामा आयोजना गरेको कार्यक्रममा उनले प्रदेश संरचना अब हटाउन नसकिने र यसलाई अझ प्रभावकारी बनाउनेतर्फ सोच्नुपर्ने बताए।
देउवाले भने, "प्रदेश संरचना बनिसकेको छ, हटाउन सकिने स्थिति छैन। अब कसरी अझ प्रभावकारी बनाउने भन्ने विषयमा विचार गर्न सकिन्छ।"
समानुपातिक प्रणाली र समावेशी राजनीति
देउवाले समानुपातिक प्रणालीमा प्रश्न उठेपनि समावेशी राजनीतिमा कसैले प्रश्न नगरेको बताए। कतिपय समुदायले अहिले पनि चुनाव जित्न नसक्ने उल्लेख गर्दै, उनले समावेशी राजनीति आवश्यक रहेको र यसविरुद्ध जनमत नभएको बताए। "समावेशी राजनीति अहिलेको आवश्यकताको रूपमा रहेको छ," देउवाले भने।