चितवन — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई सबैको साझा घर भन्दै बिग्रिन लागेको घर सबै मिलेर सम्हाल्नुपर्ने बताएका छन्। सोमबार चितवनमा आयोजित जननायक वीपी कोइरालाको १११औँ जन्मजयन्तीको विशेष सम्मान कार्यक्रममा महामन्त्री थापाले कांग्रेसलाई बिग्रन नदिने प्रतिवद्धता व्यक्त गरे।
'घर सफा गर्छौं, बिग्रन दिने छैनौँ'
थापाले कांग्रेस पार्टीलाई सुधार्ने प्रतिबद्धता जनाउँदै भने, "घरमा केही फोहर देखिएको थियो, त्यसलाई सफा गर्छौँ। बिग्रन लागेको घर हामी समाल्छौँ।" उनले कांग्रेसको विचारलाई सुदृढ बनाएर गाउँगाउँसम्म पुर्याउनु आवश्यक रहेको बताए।
गठबन्धन राजनीति र भविष्यको बाटो
महामन्त्री थापाले पछिल्ला समयमा कांग्रेसले निर्वाचन जित्नका लागि मात्रै गठबन्धन गरेको तर अब विचारको आधारमा अघि बढ्ने कुरामा जोड दिए। "अबका निर्वाचनमा कांग्रेस एक्लै लड्न सक्ने गरी संगठनलाई सुदृढ बनाउनुपर्छ," उनले भने। उनले कांग्रेसको विचारलाई प्राथमिकता दिँदै अगाडि बढ्नुपर्ने सुझाव दिए।
कांग्रेस शुद्धीकरणको अभियान
थापाले केन्द्रीय समितिको बैठकबाट कांग्रेस शुद्धीकरणको बाटोमा अघि बढेको बताए। "अब विगतमा जस्तो पार्टी माथि बिग्रिँदा तल बिग्रियो भन्ने छुट कसैलाई छैन," उनले भने।
प्रदीप पौडेलको मन्तव्य
कार्यक्रममा केन्द्रीय सदस्य तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउँदै विचार प्रष्ट राखेर जनतामाझ जानुपर्ने बताए। उनले भने, "सरकारमा रहेका साथीहरूले पार्टीसँग परामर्शमा काम गर्ने र बाहिर रहेका साथीले खबरदारी गर्नुपर्ने छ।"
सम्मान समारोह
चितवन सभापति राजेश्वर खनालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न विधामा १७४ नेताहरुलाई सम्मान गरिएको थियो। मरणोप्रान्त, विशिष्ट र विशेष सम्मान प्रदान गरिएको कार्यक्रममा केन्द्रीय सदस्यहरू उमा रेग्मी, टेकप्रसाद गुरुङ, दिनेश कोइराला, र अन्य नेताहरूले पार्टीलाई बलियो बनाउन सबैले इमान्दारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए।