साउथ अष्ट्रेलिया सरकारले नेपाली चेली मञ्जु खड्कालाई महत्वपूर्ण मानिने बहुसांस्कृतिक आयोगमा पुन आगामी तीन वर्षका लागि नियुक्त गरेको छ।
आयोगमा खड्कासहित १५ जनालाई नियुक्त गरेको हो। साउथ अष्ट्रेलियामा दुई सयभन्दा बढी समुदाय रहेको मानिन्छ। तिनै समुदायहरूमा क्रियाशीलहरूमध्येबाट १५ जनाको आयोग सरकारले निर्माण गर्ने गरेको छ।
तीन वर्षे कार्यकाल रहने आयोगले साउथ अष्ट्रेलियामा रहेका आप्रवासीहरूको सरकारसँगका अपेक्षा अनि उनका सांस्कृतिक विविधताको संरक्षणका लागि सुझाव दिने गर्दछ।
आयोगले बहुसांस्कृतिक मुलुक अष्ट्रेलियामा रहेका विविध सांस्कृतिक समूहहरूबीचमा सुमधुर सम्बन्धहरू राख्नका लागि के–के गर्नुपर्छ र त्यसमा के–के चुनौतीहरू छन्। त्यसबारे पनि बहुसांस्कृतिक मन्त्रीमार्फत सरकारलाई प्रतिवेदन पेश गर्ने गर्दछ।
सरकारले आयोगको सिफारिसमा यहाँका विभिन्न समुदायकेन्द्रित नीति तथा बजेटको निर्माण गर्ने गर्दछ। राज्य सरकारले आयोग गठनका लागि सार्वजनिक रूपमा इच्छुकहरूका लागि दरखास्त आह्वान गरेको थियो।
दरखास्त दिनेहरूको छनोटका लागि गठित स्वतन्त्र आयोगले शैक्षिक योग्यतासहित सामाजिक पृष्ठभूमि, क्रियाशीलताबारे अध्ययन गरेर अध्यक्षसहित १५ जनाको छनोट गरेको हो।
खड्काको यो दोस्रो कार्यकाल हो। खड्काले पहिलो कार्यकालमा नेपालीसहित अष्ट्रेलियामा बढ्दै गरेका विभिन्न समुदायहरूको संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न राज्यमा ध्यानाकर्षण गराएको बताइन्। उनले खास गरी नेपाली समुदायभित्रसमेत विभिन्न शैक्षिक तथा बौद्धिक क्षमता भएर पनि फरक रोजगारीमा संलग्न जनशक्तिलाई सहि क्षेत्रमा लगाउन सके सम्बन्धित व्यक्ति मात्र नभएर राज्यलाई समेत सही व्यक्ति सही ठाउँमा पुग्दा फाइदा हुने विषयमा आफूले ध्यानाकर्षण गराएको बताइन्।
गत कार्यकालमा आयोग सदस्यका रुपमा साउथ अष्ट्रेलियामा क्रियाशील विभिन्न समुदायको कार्यक्रममा सहभागी हुने क्रममा नेपाल र नेपालीलाई पनि चिनाउन सफल भएको उनको भनाइ छ।
खड्काले नेपाली समाजको प्रतिनिधित्व गर्दै बहुसांस्कृतिक आयोगमा नियुक्त हुन पाउदा गर्व लागेको बताइन्। उनले आयोगमार्फत नेपाली समाजलाई थप योगदान गर्दै सिंगो बहुसांस्कृतिक समुदायका हकहित र अधिकारलाई सुनिश्चितका लागि क्रियाशील रहने बताइन्।
नेपालमा समेत विभिन्न सामाजिक संघ संस्थामा कृयाशील खड्काले सन् २०१४ मा अष्ट्रेलिया आगमनदेखि नै सामाजिक क्षेत्रमा क्रियाशील हुँदै स्थानीय म्यारियन काउन्सिलबाट सामुदायिक नेतृत्व विकासको कोर्स गरेर काउन्सिलको सामुदायिक गतिविधि मूल्यांकन टिममा रहेर काम गरेकी थिइन्।
एडिलेड नेपाली विद्यालयकी संस्थागत प्राचार्यसमेत रहेकी खड्का सन् २०१९ मा एनआरएनए नारी निकुञ्ज साउथ अष्ट्रेलिया र २०२१ मा नारी निकुञ्ज अष्ट्रेलियाको संयोजकको समेत जिम्मेवारी सफतापूर्वक निर्वाह गरेकी थिइन्।
खड्काले विगतमा प्रवासको दैनिक जीवन अनि अध्ययनसँगै सामाजिक क्षेत्रमा क्रियाशील हुँदै आएको र गत वर्ष आयोगको नियुक्तिपछि विभिन्न समुदायका कार्यक्रमहरूमा सक्रियतापूर्वक सहभागी हुँदै आएकोमा यो नियुक्तिले थप काम गर्न प्रेरित गरेको बताइन् ।