काठमाडौं, देशको संघिय राजधानी । देशकै सबैभन्दा ठुलो शहर । बालेनको शहर । सबैभन्दा विकशित शहर ।
यस्तै–यस्तै नामले चिनिन्छ यो शहर । तर, एकपटकको भारी वर्षाले नै यो शहरको वास्तविकता उदाङ्गो पारिदिन्छ ।
३–४ घण्टा लगातार भिषण वर्षा हुनेवित्तिकै शहरका धेरै सडकहरु खोलामा परिणत हुन्छन् । आइतबार नारायणहिटी (अहिलेको संङ्ग्राहलय, पहिलाको दरबार)को दक्षिणपट्टीको बाटोमा आवाज आयो, ‘‘काठमाडौंको बाटोमा मोटरबोट चलाउनुको मज्जै बेग्लै, सरररर...’’
हुन त उनी मोटरसाईकल कुदाउदै थिए । मोटरसाईकलको आधाभन्दा बढी पाङ्ग्रा पानीमुनि थियो, दुई खुट्टा चाँही मोटरसाइकलको ‘लेगगार्ड’माथि । उनले चर्को श्वरमा काठमाडौंको दुरवस्थामाथि व्यङ्ग्य गरिरहेका थिए ।
हरेक वर्ष वर्षामा देखिने दृष्य हो यो । नागपोखरी, अनामनगर, पुतलीसडक, गौरीघाट, गुहेश्वरी, शान्तिनगर, कपन, सामाखुसी, शंखमूल, बल्खु, अनि खोला किनारका वस्तीहरु डुबानमा पर्ने गरेका छन् ।
पानी निकासको उचित व्यवस्थापन हुन नसक्दा राजधानीवासीहरु वर्षेनी सास्ती भोग्न बाध्य छन् । ‘‘हरेक वर्ष यसरी डुवान हुन्छ,’’ नागपोखरीका एकजना स्थानिय भन्छन्, ‘‘ढलको सही निकासको व्यवस्था गर्ने हो भने त समाधान हुन्थ्यो ।’