नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आन्तरिक लोकतन्त्र मजबुत बनाउँदै भूराजनीतिक सन्तुलन मिलाउन सके नेपाल बन्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भट्टराईले नेपाल जैविक र वातावरणीय रूपले पछि नरहेकाले समृद्ध बन्न सक्ने बताएका हुन्।
‘शर्त के हो भने हामीले पछिल्लो ज्ञान, विज्ञानमा आधारित वैज्ञानिक विचार प्रणालीलाई अपनाउनु पर्छ। नेपालको जुन एउटा बहुलजातीय, बहुभाषी सांस्कृतिक चरित्र हो यो नेपालको मौलिकता हो भन्नेकुरालाई पनि स्वीकार्नुपर्छ,’ उनले भने।
अहिले पनि थुप्रै वामपन्थीहरूले पहिचानवादी कुरा छाड्ने र संघीयता छाड्ने कुरा गर्ने बताउँदै यथार्थ स्वीकार्नुपर्ने बताए। ‘यो पहिचानवादी कुरा नगरौँ भन्नुहुन्छ, खुसुक्क मसँग आएर। यथार्थ हेर्ने हो नि। यथार्थ हेर्दा नेपाल त विविधतायुक्त देश हो। आन्तरिक लोकतन्त्रलाई पनि बढी मजबुत हामीले बनाऔँ। समावेशी र प्रत्यक्ष लोकतन्त्र छ त्यसलाई अझ उन्नत बनाऔँ। समावेशी र सहभागितामुलक लोकतन्त्रलाई अझ माथि पुर्याऔं। त्यसो हुनसक्यो र भूराजनीतिक सन्तुलन मिलाउन सकियो भने नेपाल बन्छ,’ उनले भने।’ अध्यक्ष भट्टराईले सक्रिय शान्तिवादको नीति बनाएर भारत र चीनसँगका समस्या समाधान गर्नुपर्ने बताउनु भयो।