कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणमा दाङका स्वास्थ्य संस्थालाई पूर्ण तयारी अवस्थामा राखिएको छ। जिल्लामा सरकारी, निजी समेत गरेर १३ अस्पताल छन्। यस्तै प्रदेश सरकारले छोटो समयमा निर्माण गरेको कोरोना बिशेष अस्पतालमा समेत व्यवस्थापन गरिएको छ।
बेलझुण्डीमा रहेको कोराना विशेष अस्पतालमा एक सय शय्याको आइसोलेशन वार्ड तयार गरिएको छ यससँगै जिल्लाका सबै स्वास्थ्य संस्थामा १६१ शय्याको आइसोलेसन वार्ड छन्। प्रदेश सरकारले बेलझुण्डीमा सञ्चालनमा ल्याएको कोरोना विशेष अस्पतालमा एक सय शय्याको आइसोलेशन वार्ड छ।
आइसोलेशन वार्डमा जिल्लाका मात्रै नभएर बाहिरबाट आउने बिरामीलाई पनि राखेर उपचार गरिने छ। त्यस्तै दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० शय्याको आइसोलेशन वार्ड छ। लमही अस्पतालमा पनि तीन शय्याको आइसोलेशन वार्ड तयार गरएको छ।
दाङमा कोरोना संक्रमित तथा आइसोलेशनमा राख्नुपर्ने अवस्थाका बिरामीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र बेलझुण्डीस्थित कोरोना विशेष अस्पलताको आइसोलेशन वार्डमा उपचारको व्यवस्था गरिएको छ। अस्पतालमा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने पिपिइलगायत स्वास्थ्य सामग्री उपलब्ध रहेको कोरोना विशेष अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डा सर्वेश शर्माले बताएका छन्।
अहिले कोरोना विशेष अस्पतालमा ७० थान पिपिई रहेको स्वास्थ्य कार्यालयका कोभिड–१९ का फोकल पर्सन तथा कोरोना अस्पतालका सूचना प्रमुख कमल चन्दले जानकारी दिए। यहाँस्थित आयुर्वेद अध्ययन संस्थानको शिक्षण अस्पताल भवनमा कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइएको हो।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि आवश्यकता अनुसार पिपिइ रहेको कायममुकायम रजिष्ट्रार डा कैलाश देवले बताएका छन्। जिल्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा भने सीमित पिपिई हुँदा समस्या हुने गरेको छ। इलाका स्वास्थ चौकी हेकुलीका इञ्चार्ज टेकबहादुर खत्रीका अनुसार अहिले स्वास्थ्यचौकीमा सीमित पिपिई उपलब्ध रहेकाले सबै जनशक्ति प्रयोग गर्न नसकिएको बताए। (रासस)
कोरोना विशेष अस्पतालमा आइसियु सेवा
कोरोना विशेष अस्पतालमा सघन उपचार सेवा शुरु भएको छ। अस्पतालका मेसु डा शर्माका अनुसार राप्ती प्रादेशिक अस्पतालमा तीन चिकित्सकसहित ४५ स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन्। उनले अस्पतालमा चौबीसै घण्टा दुई चिकित्सक र स्वास्थ्यकर्मीले बिरामीको निगरानी गर्ने गरेको बताएका छन्। तुलसीपुरस्थित राप्ती लाइफ केयर हस्पिटलका कार्यकारी अध्यक्ष हरि रिजालले आफूहरु सरकारसंँग सहकार्य गरेर जस्तो अवस्थामा पनि सेवा प्रदान तयार रहेको बताए।
३३८ शय्याको क्वारेनटाइन
दाङका दश स्थानीय तहमा चैतको शुरुदेखि हालसम्म तीन हजार ६३२ जना भारतलगायत अन्य खाडी मुलुकबाट भित्रिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन समितिका सूचना अधिकारी विश्वराज आचार्यले जानकारी दिएका छन्। यहाँका सबै पालिकामा भारत तथा विदेशबाट आएकाहरुलाई राख्न ३३८ शय्याका व्यवस्थित क्वारेनटाइन केन्द्र निर्माण गरिएका छन्।