काठमाडौं – स्वर्गीय शास्त्रीय सङ्गीतज्ञ ‘‘संगित प्रविण’’ नरराज ढकालको स्मरण गरिएको छ। आराधना समुह र संगितग्राम गुरुकुल नेपालको संयुक्त आयोजनामा सांगीतिक कार्यक्रमको आयोजना गरेर उनको सम्झना गरिएको हो।
शास्त्रीय गायन र बादनसहित ‘‘संगित प्रविण’’ ढकालको भक्तपुरको बाराहिस्थानमा सम्झना गरिएको हो। सङीत ग्रामको प्रशिक्षण केन्द्रमा ८ बर्षीया सौम्य कछिपतिको “गणेश बन्दना’’बाट कार्यक्रमको शुरुआत गरिएको थियो। जसमा उनलाई तबलामा महेन्द्र सिङ्ख्वाल र हारमोनियममा सुनिल लोहलाले साथ दिएका थिए।
कार्यक्रममा सितारबादक अनिल धितालले पनि प्रस्तुति गरेका थिए। राग बृन्दावनी सारङ्गमा आधारित भएर उनले “सुर बहार“ प्रस्तुत गरे। जसमा अनिललाई तबलामा भक्तपुरकै चर्चित तबलाबादक अनन्त प्रजापतिले साथ दिएका थिए। नेपाली शास्त्रीय संगितका पर्याय, सङीतज्ञ नरराज ढकालले नेपाली सङगीतमा पुर्याएको योगदान र उनको अद्वितीय प्रतिभाका कारण “संगित प्रविण’’ को उपनामले परिचित छन्।
कार्यक्रमको प्रमुख प्रस्तुतिको रुपमा “सङीत प्रबीण नरराज ढकाल’’का सुपुत्रद्वय प्रभुराज ढकाल र प्रतिकराज ढकालले “राग भीमपलासी’’मा आधारित शास्त्रीय गायन प्रस्तुत गरेका थिए। उनीहरुलाई तानपुरामा महेन्द्र सिन्ख्वाल, तबलामा अनन्त प्रजापती र हार्मोनियममा सुनिल लोहलाले साथ दिएका थिए।
भक्तपुरमा आयोजित उक्त कार्यक्रम भक्तपुरको शास्त्रीय सङ्गीतको बिकासको लागि कोशेढुङ्गा हुनसक्ने शास्त्रीय गायक प्रभुराज ढकालले बताए। उपत्यकाका सङ्गीतप्रेमीहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रम त्रैमासिक रुपमा निरन्तर अगाडि बढाउने कार्यक्रम संयोजक, कार्यक्रमका उद्घोषक तथा आराधना समूहका प्रमुख सदस्य शम्भोचरण राजभण्डारीले बताए।
कार्यक्रममा भक्तपुरका वरिष्ठ संगितकर्मी बद्री नारायण ताम्राकार, भक्तपुर साङ्गीतिक समाजका अध्यक्ष प्रबिन शाही, संगित प्रशिक्षक बिजय कायस्थ, संगित प्रवर्धक अल्बर्ट बज्राचार्य, उध्यमी चन्द्र प्रसाद कछिपती, गायक कपिल कसपाल, रोशन धौभडेल, संगितकार सुमन रंजितकारलगायत भक्तपुरका कलाकारहरु संगित श्रवण र गुरु नरराज ढकालप्रती श्रद्धा अर्पण गर्न उपस्थित भएका थिए।
यस्ता खालका कार्यक्रममार्फत आयोजना गरि शास्त्रीय संगीतको महत्वलाई उजागर गर्दै लैजाने संगितग्रामका प्रमुख सुनिल लोहलाले बताए। कार्यक्रममा उपस्थित संगीत श्रवणकर्ता र अतिथिको तर्फबाट भक्तपुर सांगितिक समाजका अध्यक्ष प्रबिन शाहिले संगितलाई क्रीकेट खेलसँग तुलना गर्दै क्रिकेटमा एक दिवसिय र टि–ट्वान्टी आएपनि यस्को आधार भने टेष्ट क्रिकेट भएजस्तै संगीतमा अनेक धारहरु आए पनि यस्को मुख्य आधार शास्त्रीय संगीत नै रहेकोले यसको महत्व कहिल्यै कम नहुने र सबैले शास्त्रीय संगितको ज्ञान राख्नुपर्ने बताए।