नेपालगन्ज– नेपालगन्ज विमानस्थलको धावनमार्गमा एउटा बँदेल अवतरण गरिरहेको विमानसँग ठोकियो। उक्त घटनापछि वन्यजन्तुका कारणले हुने जोखिम न्यूनीकरण गर्न चनाखो बन्न विमानस्थलको स्तरोन्नतिको जिम्मा पाएको ठेकेदार कम्पनीलाई निर्देशन दिइएको अधिकारीहरूले बताएका छन्।
मङ्गलवार साँझ अपराह्ण ६ः२० बजे बुद्ध एयरको ४०५ एटीआर–७२ विमानल बँदेलको पाठो ठोकिएको थियो। विमानले सकुशल अवतरण गरेको भए पनि उक्त घटनाले पश्चिम नेपालको एउटा प्रमुख विमानस्थलमा वन्यजन्तुका कारण हुने जोखिमलाई सतहमा ल्याइदिएको जानकारहरू बताउँछन्।
विमानस्थलका प्रमुखले विमानस्थल स्तरोन्नतिको ठेक्का लिएको कम्पनीले काम समयमा नै नगर्दा उक्त घटना भएको भन्दै चाँडो आफ्नो काम सम्पन्न गर्न निर्देशन दिइएको बताए।
साँझ अवतरण गर्न लागेको बुद्ध एयरको विमानसँग ठोकिएको बँदेलको पाठोको मृत्यु भएको थियो। तर विमानमा कुनै क्षति नपुगेको अधिकारीहरूले जनाएका छन्। विमानमा वन्यजन्तु ठोकिँदा ठूलो क्षति हुन सक्ने भन्दै हवाई सुरक्षाका जानकारहरूले यसबाट सरकारले पाठ सिक्नुपर्ने बताएका छन्।
जोखिमपूर्ण
बुद्ध एयरका नेपालगन्ज व्यवस्थापक विनीत शाह जनावरसँग धावनमार्गमा विमान ठोकिनु जोखिमपूर्ण भएको बताउँछन्। चालकको सावधानीले मङ्गलवार कुनै दुर्घटना भने नभएको उनले बताए।
नेपालगन्ज विमानस्थलमा यसअघि पनि बँदेल र दुम्सीजस्ता जनावर विमानस्थलको धावनमार्गमा देखिने गरेको बताइन्छ।विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले धावनमार्ग कालोपत्रे गर्ने, झाडी फालेर सम्याउने जस्ता कामको ठेक्का पप्पु कन्सट्रक्शनले समयमा नै काम नगर्दा समस्या देखिएको बताए।
उनले भने, “ठेक्का पाएको कम्पनीले समयमा काम नगर्दा विमानस्थलमा झाडी र घाँस पलाएकोले यो समस्या देखिएको हो। हामीले उक्त कम्पनीलाई समयमा नै काम सम्पन्न गर्न भनेका छौँ।’’
स्थानिय बासिन्दाहरूले विमानस्थलको किनारामा लगाइएका तारबार काटेर घाँस काट्न विमानस्थलभित्र छिर्ने गरेकाले पनि धावनमार्गसम्म जङ्गली जनावर आवतजावत गर्ने गरेको ठाकुरको भनाइ छ ।
सफाइ आवश्यक
विमानस्थलमा राम्रोसँग सरसफाइ नगरिँदा झाडी फैलिएको छ अधिकारीहरू बताउँछन्। झाडीमा बँदेल आउने गरेका छन्।कहिलेकाहीँ एक दिनमै आठदेखि १० वटा बँदेल देखिने गरेको विमानस्थलका कर्मचारीहरूले बीबीसीलाई बताएका छन्।
नेपालगन्ज विमानस्थलमा प्रायस् साँझको समयमा वन्यजन्तुहरू धावनमार्गमा आउने गरेको बताइन्छ।बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले घाँसे मैदान र झाडीका कारण जङ्गली जनावारहरू विमानस्थलभित्र प्रवेश गरिरहेकाले त्यसको सफाइका लागि नेपाल नागरिक उड्ययन प्राधिकरणको ध्यानाकर्षण गराइएको बताए।
जोखिम अन्यत्र पनि
नेपाल नागरिक उड्डयन प्राधिकरणको एउटा प्रतिवेदनअनुसार राजधानीबाहिर नेपालगन्ज विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थल, विराटनगर विमानस्थल र पोखरा विमानस्थलमा वन्यजन्तु र चराको उच्च जोखिम रहेको छ।
काठमाडाैं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले चरा र बाँदर धपाउन सिकारी नै खटाएको छ। बेलाबेलामा चराकै कारण काठमाडौं विमानस्थलमा विमान अवतरण प्रभावित हुने गरेको छ।
चरा ठोकिएर विमान दुर्घटना हुने क्रम बढेको भन्दै सन् २०१५ मा बर्ड डिटेक्शन रेडार अर्थात् चराको निगरानी गर्ने उपकरण प्रयोगमा ल्याउने निर्णय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गरेको थियो। सन् २०११ देखि २०१५ सम्ममा अन्तर्राष्ट्रिय विमानस्थलमा ७४ पटक जहाजमा चरा ठोक्किएको सरकारी तथ्याङ्क छ।
प्राधिकरण के भन्छ
नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार वन्यजन्तु तथा चराको जोखिम न्यूनीकरणका लागि विमानस्थल क्षेत्रवरिपरि काँडे तारवार गर्नुका साथै विभिन्न किसिमका ध्वनि र प्रकाश उत्पन्न गर्ने उपकरण प्रयोगमा ल्याइएको छ।
वन्यजीव रोक्नलाई बाँके राष्ट्रिय निकुन्ज र जिल्ला वन कार्यालयको सहयोगमा नेपालगन्ज विमानस्थलमा विशेष खालको पासो प्रयोगमा ल्याइएको अधिकारीहरू बताउँछन्। त्यहाँ केही समयअघि दुई वटा दुम्सी पासोमा परेका थिए।
पछिल्लो समस्याको समाधान खोज्न आइतवार जिल्लास्थित सुरक्षा निकायको बैठक राखिएको नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुखले बताए। तराईका नेपालगञ्ज, विराटनगर, राजविराज र चन्द्रगढी विमानस्थल स्तरोन्तीकालागि गुरुयोजना बनाएर काम अघि बढाइएको नेपाल नागरिक उड्ययन प्राधिकरणका निर्देशक प्रदिप अधिकारीले जानकारी दिए। बीबीसी