चितवन– चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त भएको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोग देखिन थालेको छ ।
वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डा. हरेन्द्र झाका अनुसार गर्मीमा छाला अत्यधिक चिल्लो हुन्छ, दाग देखिन्छ र डढेर कालो देखिन्छ ।
उनले भने, ‘छालामा हुने रंग बनाउने कोषिकाले धेरै रंग बनाउँछन्, जसले गर्दा छाला डढेको र कालो देखिन्छ ।’ बढ्दो तापक्रमले चिल्लो निकाल्ने ग्रन्थीको छिद्र ठूलो भएर जान्छन्, जसमा चिल्लो, धुलो, फोहर तथा कीटाणु जम्मा हुन्छन् ।
छाला सुरक्षा
उनले भने, ‘सुक्खा छाला वा मिश्रित छालाका लागि फिँज नआउने अनुहार सफा गर्ने क्रिम प्रयोग गर्न सकिन्छ ।’ दिनभरिमा चार-पाँचपटकसम्म अनुहार सफा गर्नु राम्रो हुने उनको सुझाव छ । बजारमा पाइने राम्रो खालका एन्टी अक्सिडेन्ट सेरम प्रयोग गर्न सकिने चिकित्सक बताउँछन् । जसले छालाको चिस्यानलाई जोगाइराख्नुका साथै यसलाई वातावरणीय प्रभावबाट पनि सुरक्षित राख्न मद्दत गर्दछ ।
झाले भने, ‘हरियो सागसब्जी, कागती, सुन्तला, गोलभेंडा, सुक्खा फल जस्तै छोकडा, किसमिस, ओखर आदिको प्रयोग गर्नाले छाला चम्किलो र जवान देखिन्छ ।’ यस्तै, गर्मीका बेलामा हप्तामा एक वा दुईपटक अनुहारमा फेस प्याकको प्रयोग उपयुक्त हुन्छ । राति सुत्न अगाडि पानीले अनुहार राम्ररी सफा गरिसकेपछि उपयुक्त फेस प्याकको प्रयोग गर्नुपर्ने चिकित्सक बताउँछन् ।
गर्मीको मौसमा कम शृंगार गर्न उनले सुझाव दिए । राम्रो स्किन टोनरको प्रयोग गर्नाले छालाको छिद्र खुल्छन् । जसले चिल्लो जम्मा हुन पाउँदैन । घिउकुमारी वा काँक्रो भएको टोनर प्रयोग गर्नु फाइदा जनक हुने उनको भनाइ छ । राम्रो, नरम, मुलायम छालाका लागि प्रशस्त पानी पिउनु उपयुक्त हुन्छ । गर्मीको बेलामा दैनिक थोरैमा दुई-तीन लिटर पानी पिउनाले शरीरलाई चाहिने पानीको मात्रा पुग्ने डा. झाको भनाइ छ ।
पूरै अनुहारको तुलनामा आँखा वरिपरिको छाला अझै पातलो र नरम हुन्छ । ह्यालोरोनिक एसिड वा काँक्रो एवं महबाट बनेको आँखाको जेल प्रयोग गर्नाले छालालाई चाहिने ओस पुग्छ । जसले गर्दा छालामा चाउरी पर्ने समस्या नहुने उनको भनाइ छ । चर्को घाममा काम नपरी घर बाहिर नहिँड्न, सनस्क्रिनको लगातार प्रयोग गरिराख्ने, अनुहार छोप्ने लुगा वा सनग्लासको प्रयोग गर्ने, चिसो पानीको स्नान गर्ने आदिले पनि छालालाई स्वस्थ, चम्किलो र ताजा बनाइराख्ने डा. झाको भनाइ छ ।