एजेन्सी– अन्तरिक्ष यात्राले वास्तवमै मानिसको स्वास्थ्यमा विभिन्न असर गरिरहेको हुन्छ। धेरै लामो समय सम्म वैज्ञानिकहरुले एक नयाँ अनुसन्धानपछि अन्तरिक्षमा कार्टिलेजलाई गम्भीर क्षति पुग्ने गरेको र जोर्नीको समस्या उत्पन्न हुने गरेको पत्तालगाएका छन्।
भविष्यमा मानिसलाई मंगल ग्रहमा पठाउनु अगाडि यो विषयमा गम्भीर अनुसन्धान आवश्यक रहेको बताइएको छ। यसरी छोटो समय अन्तरिक्षमा प्रवेश गर्दापनि यसले शरीरलाई विभिन्न तरिकाले प्रभाववित गर्ने र जोर्नी सम्बन्धी रोग उत्पन्न गराउन सक्ने बताइएको छ।
पृथ्वीको गुरुत्वाकर्षण बाहिरको वातावरणमा हाम्रा जोर्नी र हड्डीहरुले भिन्दै तरिकाले काम गर्ने हुनाले नै यस्तो भएको उनीहरुको भनाइ छ। विगतका विश्लेषणहरुमा पनि अन्तरिक्षमा बसेर काम गर्नुले प्रतिरोघात्मक प्रणालीदेखि रक्तचाप र आँखाको आकार सहित हाम्रो शरीरमा विभिन्न असर पार्ने गरेको पत्ता लागेको थियो। तर हेनरी फोर्ड अस्पताल, मिसिगनले यो यस प्रकारको पहिलो अध्ययन भएको बताएको छ।
पृथ्वी बाहिर शुन्य गुरुत्वाकर्षणको सामना गर्दा हाम्रो ‘मस्कुलोस्केलेटल सिस्टम’ मा कम तौलको दबाब हुन्छ जसकारण हड्डीले आफ्नो प्राकृतिक अवस्था कायम राख्न सक्दैन। मस्कुलोस्केलेटल सिस्टम अर्थात मांसपेसी र हड्डी मिश्रित प्रणाली हो।
यसरी नासाको एक लाख डलर लगानीमा सञ्चालन गरिएको यस नयाँ अध्ययनमा मुसाको कार्टिलेज अर्थात पातलो हड्डीको आन्तरिक तत्वमा कस्तो परिवर्तन आइरहेको छ भन्ने विश्लेषण गरिएको हो। सो मुसालाई त्यही समय पृथ्वीमा रहेका मुसाको शरीरसँग तुलना गरि अध्ययन गरिएको हो।
यसरी तुलना गर्दा पृथ्वीको मुसाको कार्टिलेजमा कुनै क्षति देखा नपरेको अनुसन्धान टोलीले बताएको छ। तर यता अनुसन्धानमा ‘ओस्टिओआर्थि्टिस’ बाट ग्रसित अन्तरिक्षयात्री र मुसाको कार्टिलेजमा समान किसिमको परिवर्तन देखा परेको थियो। आस्टिओआर्थि्रटीस जोनीसम्बन्धी सबैभन्दा सामान्य रोग मानिन्छ जसले जोर्नीहरु दुखाउँछ र अकडन पैदा गराउँछ। यसलाई निको पार्न सकिँदैन तर विभिन्न मलमहरु मार्फत यिनका लक्षण भने कम गर्न सकिन्छ।
जर्नल ‘माइक्रोग्राभिटी’ मा प्रकाशित यस अध्ययनका मुख्य लेखक डाक्टर जेमी फिट्जगेराल्डले बताए, ‘ निष्कर्षमा भन्नुपर्दा तीस दिनको माइक्रोग्राभिटी अर्थात सुक्ष्म गुरुत्वाकर्षणपछि कार्टिलेजमा क्षित पुग्ने प्रक्रिया सुरु हुन थालेको हामीले पत्ता लगायौँ। यसमा हामीले क्षतिग्रस्त कार्टिलेजसँग सम्बन्धित जीनका अभिव्यक्तिहरुमा पनि परिवर्तन देख्यौँ। वास्तवमा कार्टिलेजलाई तलतर्फ तानिरहने गुरुत्वाकर्षण नहुँदा यसले आफ्नो संरचना र अखंडतालाई कायम राख्न सक्दैन।
यसको सबैभन्दा रोचक उदाहरण भनेको मांसपेशीको क्षति र हड्डीको डि–मिनरलाइजेसन हो जुन अन्तरिक्ष उडानका समयमा हुने गर्दछ। पृथ्वीमा हामी हरेक चोटी बाहिर निस्कदा हामीले सो कार्टिलेजको भार उठाइरहेका हुन्छौँ तर अन्तरिक्षमा त्यसको केही हिस्सा तौल मात्र हामीले बोक्नुपर्छ। यसैकारण गुरुत्वाकर्षणबाट बाहिर पुगेपछि सो भार हराउँदा टिस्युहरुमा क्षति पुग्न थाल्छ। यसरी लामो समय अन्तरिक्षमा बस्दैगर्दा मानिसमा यस्तो हुन सक्ने स्पष्ट भएको छ जसले पछि जोर्नी सम्बन्धि धेरै ठूलो समस्या निम्त्यिाउन सक्छ।
डाक्टर फिट्जगेराल्डका अनुसार अन्तरिक्षबाट पृथ्वीमा फर्किसकेपछि गुमेका हड्डी र मांसपेसी यथावत् अवस्थामा आउने गरेपनि कार्टिलेज एकदम कमजोर रुपमा मर्मत हुने गर्दछ। उनले थप भने, ‘मान्छेको कार्टिलेज सजिलै निको हुँदैन त्यसैले पृथ्वी फर्किसकेपछि सम्भावित रुपमा दिर्घकालीन स्वास्थ्य समस्या देखा पर्छ।
डेलीमेलबाट