काठमाण्डौ–‘वार’ ले बक्स अफिसमा तहल्का मचाइरहेको बेलामा अभिनेता टाइगर श्राफ नयाँ फिल्मका लागि जुटिसकेका छन्। टाइगर अहिले अहमद खानको निर्देशनमा तयार हुने ‘बागी’को तेस्रो पार्टको सुटिङमा व्यस्त रहेका छन्।
फिल्मको छायांकन मुम्बईबाट सुरु भएको हो। मुम्बईमा केही सिनको छायांकन सकेपछि बाँकी छायांकनका लागि कलाकारसहित निर्माण टिम सर्बिया, दिल्ली र आग्रामा जाने तयारीमा रहेको छ। फिल्ममा टाइगरका साथै अभिनेत्री श्रद्धा कपुर, अभिनेता रितेश देशमुख, अंकिता लोखन्डे, र सतिश कौशिकको मुख्य भूमिका रहेको छ।
श्रद्धाले यसपटक ‘बागी ३’ मा एयर होस्टेसको भूमिकामा र रितेश भने भिलेनको भूमिकामा देखिने भएका छन्। हालसम्म अहमदसँगै चर्चित द्वन्द्व निर्देशक राम र लक्ष्मणको निर्देशनमा टाइगरको द्वन्द्वको दृश्य खिचिएको छ। १५ दिन लगाएर निर्माण गरिएको सेटमा मात्र करिब ४०० वटा कारको प्रयोग गरेर ध्वस्त पारिएको छ।
साजिद नाडियाडवालाले निर्माण गर्ने फिल्मका लागि टाइगरले स्टन्ट डिजाइनिङमा पनि काम गरेका छन्। फिल्म ६ मार्च, २०२० मा रिलिज हुने भएको छ। सन् २०१६ मा रिलिज भएको फिल्म ‘बागी’ र २०१८ मा रिलिज भएको ‘बागी २’ को सफलतापछि निर्माण टिम ’बागी ३’ले पनि बक्स अफिसमा तहल्का मचाउने कुरामा विश्वस्त छन्।
‘बागी’ को पहिलो पार्टमा टाइगरका साथ अभिनेत्री श्रद्धा कपूर र सुधिर बाबुले मुख्य भूमिका निर्वाह गरेका थिए भने ‘बागी २’मा भने टाइगरका साथ अभिनेत्री दिशा पतानी र मनोज बाजपेयीको मुख्य भूमिकामा रहेको थियो।