चितवन – जिल्लामा लगाइएको आयातित गरिमा जातको वर्णशङ्कर धानमा बाला लाग्न थालेको छ। बाहिर आइनसके पनि भित्री भागमा बाला देखिन थालेको हो। बीउ खरीद गर्दा भनिएको समयमा धानमा बाला नलागेपछि किसानले सरोकारवालाको ध्यानाकर्षण गराएका थिए।
यससँगै राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथका धान संयोजक वरिष्ठ वैज्ञानिक डा रामवरण यादव नेतृत्वको प्राविधिक समूहले जिल्लामा स्थलगत अध्ययन गरी सोमबार प्रतिवेदनसमेत बुझाएको छ। कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार धानमा बालाको भित्री चरण देखिएको छ। यसलाई वैज्ञानीकले ‘प्रिमोडिया’ भन्ने गर्दछन्। क्रमश बाला बाहिर आउने उनले बताएको छ।
बिक्री गर्नेले फरक जातको गरेको हुनसक्ने भन्दै शुरुमा दर्ता गर्दा ल्याइएको गरिमाको बीउ र हाल रोपिएको बीउको ‘डिएनए फिङ्गरप्रिन्ट’ लिने काम भइरहेको छ। बीउविज्ञान तथा प्रविधि महाशाखा खुमलटारमा परीक्षण गर्ने काम भइरहेको वरिष्ठ वैज्ञानिक यादवले बताएका छन्। दुबै धानलाई उमारेर परीक्षण गर्ने गरिन्छ। धान ढिला पाक्ने भएपछि उत्पादन घट्ने र यसपछिको बाली प्रभावित हुने ज्ञान केन्द्रका प्रमुख ढकालको भनाइ छ।
जिल्लामा धानपछि तरकारीखेतीसँगै गहुँ, राजमा र तोरी लगाउने गरिन्छ। ती सबै बाली प्रभावित हुने भएको छ। सरकारले प्रतिवेदन पाइसकेकाले डिएनए प्रतिवेदनआएसँगै बीउ बिक्री गर्ने कम्पनीलाई के कस्तो कारवाही हुने भन्ने विषयमा टुङ्गो लाग्ने ढकालको भनाइ छ। किसानले क्षतिपूर्तिको माग गरेका छन्। करीब १५ देखि २० दिनमा बाला देख्न सकिने उनले बताएछन्। धान पाक्न अझै दुई महिना लाग्ने छ।
वर्णशङ्कर गरिमा जात १३५ दिनमा पाक्ने भए पनि अहिलेको अवस्था हेर्दा धान पाक्न १६० दिन हाराहारी लाग्ने वरिष्ठ वैज्ञानिक यादवले बताएका छन्। धानको बीउ नेपालमा सनराईज एग्रिकल्चर रिसर्च सेन्टर दाङ्ले भित्र्याएको हो। गरिमालगायत देशका सबै स्थानमा यही समस्या देखिएको छ। जिल्लामा करीब एक हजार ३ सय बिघाहामा यो धान लगाइएको अनुमान छ जसवाट पाँच हजार हाराहारी कृषक प्रभावित भएका छन् ।
इच्छाकामना गाउँपालिका बाहेक सबै स्थानमा यो धान लगाइएको छ। गरिमा जातको यो धान विसं २०७२मा सूचिकृत भएको हो। गरिमा भारतीय उत्पादन हो। यसको जातीय गुण अनुसार ९० देखि ९५ दिनभित्र ५० प्रतिशत फूल खेलिसक्नुपर्छ। तर, त्यसो हुन नसकेपछि किसान अन्योलमा परेका छन्। जिल्लामा गरिमा, गोरखनाथ, यूएस ३१२ जातका आयातित वर्णशङ्कर र स्थानीय उन्नत जातका सावित्री, रामधान, सावामन्सुली धान बढी क्षेत्रफलमा किसानले लगाउने गरेका छन्। (रासस)