काठमाण्डौं – ह्याकरहरुले कम्प्युटर, मोबाइल र वेबसाईट पछि राउटरलाई आफ्नो निशाना बनाएका छन्।व्यापारिक प्रयोजनमा प्रयोग हुने लेयर-७ राउटरमा अनाधिकृत कोड हालेर पैसा तिरिने कार्डको विवरण चोरीको प्रयासको प्रमाणहरु प्राप्त भएसँगै ईकमर्स र अनलाइन सपिङ खतरामा परेको हो।
अनलाइन स्टोरका ठुला राउटर ह्याक गर्ने नयाँ मेजकार्ट तरिकाको पुष्टि भएसँगै ईकमर्स र अनलाइन सपिङ खतरामा परेको आइबिएमका विज्ञहरुले बताएका हुन्। वेब स्किमिङ पनि भनिने यस प्रकारको आक्रमणले साइबर सुरक्षाको जटिलता अझ माथिल्लो तह पुर्याएको उनीहरुको भनाइ छ।
लेयर–७ राउटरहरु मुख्य रुपमा अनलाइन सपिङ सेन्टर, होटेल, व्यापारिक मल, एअरपोर्ट, सार्वजनिक स्थानका साथै सरकारी कार्यालयमा समेत प्रयोग गर्ने गरिन्छ। यसबाट पनि मेजकार्ट आक्रमण कति संवेदनशील र व्यापक बन्न सक्छ अनुमान गर्न सकिन्छ।
अझ मेजकार्ट आक्रमणमा कुख्यात ह्याकर समुहको हात रहेको जनाइएको छ। यस आक्रमणको समाधानका रुपमा बिज्ञहरुले एक पटक मात्र प्रयोग गर्न मिल्ने भर्चुअल कार्डलाई अघि सारेका छन्। तर यस्तो सुविधा हाल सीमित देशमा मात्र रहेकाले प्रभावकारी बन्न भने समय लाग्ने उनीहरुको तर्क छ।
नेपाल जस्तो कमजोर साइबर सुरक्षा भएको देश यस्ता हमलाकारीलाई सहज सिकार बन्न सक्छ। त्यसैले आउँदा दिनमा प्रविधिको दुनियाँमा बिस्तारै बामे सार्दै गरेको हाम्रो जस्तो देशलाई यस्ता हमलाबाट बच्न साइबर सुरक्षामा अझ धेरै खर्च र सीपमूलक जनशक्तिको ठूलो आवश्यकता रहनेछ।