एजेन्सी– एन्ड्रोइड फोन प्रयोग गरिरहनुभएको छ र गुगल प्ले स्टोरबाट जथाभावी एपहरु डाउनलोड गर्ने गर्नुहुन्छ भने सावधान हुनुहाेस्! प्लेस्टोरमा रहेका कतिपय एपहरु प्रयोगकर्ताका लागि जोखिमपूर्ण हुने गरेको पाइएको छ। गुगलको प्रमाणीकरण प्राप्त गरी प्लेस्टोरमा ठाउँ पाएका कतिपय एपहरुले प्लेस्टोरमा छिरिसकेपछि प्रयोगकर्तालाई हानी गर्ने अवाञ्छित गतिविधि गर्ने गरेका छन्।
गुगलले यस्तै गतिविधिमा संलग्न क्याम स्क्यानर नामक चर्चित एपलाई प्ले स्टोरबाट हटाइदियो। उक्त एपले प्रयोगकर्ताका डाटाहरु विज्ञापनको प्रयोजनका लागि प्रयोग गर्ने गरेको पाइएको थियो। गुगलले हटाइदिएपछि क्याम स्क्यानरका डेभलपर्सले एपमा रहेको गल्ती तत्काल सुधार गरी गुगललाई अनुरोध गरेपछि गुगलले उक्त एपलाई पुर्नस्थापित गरेको थियो।
गुगलले विभिन्न ६ वटा यस्तै एपहरुलाई प्ले स्टोरबाट हटाइदिएको छ। ती एपहरुले प्रयोगकर्तालाई हानी पूराउने अवाञ्छित क्रियाकलाप गरेको पाइएपछि गुगलले यस्तो कदम चालेको हो। ती सबै एपहरु अहिलेसम्म ५० करोड पटक डाउनलोड भैसकेका छन्। ती ६ वटा एप मध्ये चारवटा भर्चुअल प्राइभेट नेटवर्क अर्थात् भिपिएन एप हुन्। जसमा हटस्पट भिपिएन, फ्रि भिपिएन मास्टर, सेक्योर भिपिएन र सिएम सेक्योरिटी एपलक एन्टिभाइरस रहेका छन्। अन्य दुईवटा एपहरु क्यामरा एप हुन्। जसमा सन प्रो ब्यूटी क्यामरा र फन्नी स्विट ब्यूटी सेल्फी क्यामरा एप रहेका छन्।
यदि तपाइँले यी एपहरु आफ्नो मोबाइलमा डाउनलोड गर्नुभएको छ भने तत्कालै डिलिट गरिहाल्नुस्। किनकी यी एप्हरु जोखिमपूर्ण छन्। गुगलद्वारा हटाइएका उक्त चारवटा भीपीएन एपहरु चिनियाँ डेभलपर्सले निर्माण गरेका हुन्। यी एपहरुले स्मार्टफोनमा असंख्य ठगी विज्ञापनहरु पठाउने गरेको पाइएको छ। त्यस्तै अन्य दुई क्यामरा एपले पप अप्स विज्ञापनको सहायताले पैसा कमाउने गरेको भन्दै गुगलले हटाइदिएको छ। त्यस्ता विज्ञापनहरु पृष्ठभूमिमा चलिरहने र त्यसले डिभाइसको ब्याट्री खपत गर्नुका साथै डिभाइसलाई समेत स्लो गराउने गरेको पाइएको थियो।
यी एपले प्रयोगकर्ताको अडियो रेकर्ड गर्ने अनुमति माग्ने लगायतका अनेकन अवाञ्छित गतिविधि समेत देखाउने गरेको पाइएको छ। साइबर सेक्योरिटी अनुसन्धानकर्ताहरुले हालै विभिन्न २४ वटा एन्ड्रोइड एपहरुमा भाइरसले आक्रमण गरेको खुलासा गरेका थिए। ती एपका लाखौँ प्रयोेगकर्ता रहेका छन्। ती एपमा हुने भाइरसले प्रयोगकर्ताका डिभाइसका डाटा चोरी गर्ने गरेको खुलासा भएको छ।