बाँके — बाँकेमा निकुञ्ज स्थापना भएपछि प्रत्येक वर्ष बाघको सङ्ख्या बढ्दै गएको छ। विसं २०६७ मा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि बाघलगायतका वन्यजन्तुको संरक्षण हुँदै आएको छ। सन् २०१३ मा बाघ गणना हुँदा बाँकेमा जम्मा चार वटा बाघ भेटिएकामा सन् २०१८ मा गणना हुँदा वयस्क बाघको सङ्ख्या २१ पुगेको हो।
छोटो समयमै बाघ संरक्षणमा निकुञ्जले सफलता हात पारेको छ। निकुञ्जमा उचित सुरक्षा, बासस्थान, चित्तल, बँदेल, जरायो, लगुनालगायतका बाघका आहाराजन्य वन्यजन्तु वृद्धि भएसँगै बाघको सङ्ख्या पनि बढ्दै गएको हो। ‘निकुञ्ज घुम्न जाने पर्यटकमध्ये धेरैले बाघ देख्न पाएका छन्। बाघ देखिएका कारण पर्यटक आउनेक्रम बढेको छ’, बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले भने।
उनका अनुसार बाघ अवलोकनका लागि निकुञ्ज सफल बनेको छ। पर्यटक आगमनले यहाँ छेउछाउमा होटल निर्माण बढेको छ। चोरी सिकारी नियन्त्रण हँुदै गएपछि बाघको सङ्ख्या बढेको हो। उचित आहारा, सुरक्षा र प्राकृतिक बासस्थानका लागि उत्तम मानिएको निकुञ्जमा पछिल्लोपटक बाघको सङ्ख्या बढ्दै गएको हो। पर्यटन व्यवसायी कृष्ण चौधरीले बाघलगायतका वन्जजन्तु सहजै देखिने गरेको बताए।
‘यहाँ बाघ, गैँडा, हात्ती सहजै देख्न सकिन्छ’, उनले भने, ‘वन्यजन्तु हेर्न मन पराउने पर्यटकको सङ्ख्या बढेको छ।’ निकुञ्जमा आव २०७५/०७६ मा १ सय ४८ नेपाली, ११ सार्क र एक विदेशीसहित १ सय ६० पर्यटकले निकञ्ज घुमेका छन्। निकुञ्जमा पर्यटक बढेसँगै राजस्वमा वृद्धि भएको सहायक संरक्षण अधिकृत थपलियाले बताए। आव २०७५/०७६ मा रु एक करोड चार लाख ४९ हजार ९ सय ८२ राजस्व सङ्कलन भएको छ।
२ सय मारिए, ४ सय ३१ को उद्धार
निकुञ्जमा पछिल्लो तीन आर्थिक वर्षमा २ सय वन्यजन्तु मारिएका छन्। निकुञ्जमा आव २०७३/०७४ मा ८३ वटा, आव २०७४/०७५ मा ७२ वटा र आव २०७५/०७६ मा ४५ वटा वन्यजन्तुको सडक दुर्घटनाबाट मृत्यु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत थपलियाले बताए। निकुञ्जले आव २०७५÷०७६ मा ४३१ वटा र आव २०७४/०७५ मा ११ वटा वन्यजन्तु उद्धार गरेको छ।
निकुञ्जमा ५४ मुद्दा, ३७ अदालतमा
वन्यजन्तुको चोरीसिकार तथा अवैध व्यापारका ५४ थान मुद्दा बाँके राष्ट्रिय निकुञ्जमा दर्ता भएका छन्। निकुञ्जमा दर्ता भएकामध्ये ३७ थान मुद्दा बाँके जिल्ला अदालतमा पठाइएको छ। सत्र वटा निकुञ्जमा दर्ता भएका छन्। यी मुद्दा अदालतमा दर्ता भई विचाराधीन अवस्थामा छन्। निकुञ्जका अनुसार चोरी सिकार गरेको आरोपमा ३ सय ३८ जना पक्राउ परेका छन्।
आव २०७५/०७६ मा जिल्ला वनतर्फ ३४ वटा मुद्दामध्ये १४ मुद्दा जिल्ला अदालत र २० वटा मुद्दा वन कार्यालयमा दर्ता भएका छन् भने १ सय २७ व्यक्ति पक्राउ परेका छन्। अदालतमा दर्ता भएका मुद्दा फैसला भने हुन सकेका छैनन्। निकुञ्जमा रहेका कतिपय मुद्दामा छलफल तथा बहस भए पनि मुद्दा फैसला हुन नसकेको निकुञ्जले जनाएको छ।
७५ लाख क्षतिपूर्ति
निकुञ्जमा दुई आवमा रु ७५ लाख २१ हजार १ सय १४ वन्यजन्तुपीडितलाई उपलब्ध गराइएको छ। निकुञ्जमा रहेका वन्यजन्तुबाट भएको क्षतिबापत आव २०७४/०७५ मा रु १४ लाख २८ हजार ७२ र आव २०७/०७६ मा रु ६० लाख ९३ हजार ४२ उपलब्ध गराइएको हो। त्यस्तै आव २०७५/०७६ मा ४१८ घरधुरी र आव २०७४/०७५ मा ३०५ घरधुरीमा वन्यजन्तुले क्षति पुर्याएको निकुञ्जले जनाएको छ। (रासस)