विराटनगर – विराटनगरस्थित प्रदेशिक अस्पताल (कोशी) को आकस्मिक वार्डमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ। मौसममा आएको परिवर्तनको कारण भाइरल ज्वरोको बिरामी बढेको अस्पतालका डा सङ्ज्ञा ज्ञवालीले बताए।
उपचारका क्रममा दैनिकजसो ३० भन्दा बढी भाइरल ज्वरोका बिरामी अस्पतालमा आउने गरेका छन्। भाइरल ज्वरो आउँदा शरीर तातो हुने, धेरै ज्वरो आउने, टाउको र शरीर दुख्ने र वान्ता हुने लक्षण देखा पर्दछ।
यसको लक्षण डेङ्गुसँग मिल्दोजुल्दो रहेको चिकित्सकको भनाइ रहेको छ। अस्पतालमा विगत दुई महीनाको अवधिमा दुई हजार ५०० भन्दा बढी भाइरल ज्वरोका बिरामी आएर उपचार गराएको डा ज्ञवालीले जानकारी दिए।
बिरामी भएर आउनेमा मोरङ, सुनसरीका शहरी र ग्रामीण क्षेत्रमा बसोबास गर्ने छन्। भाइरल ज्वरोबाट बच्न मास्कको प्रयोग गर्ने, धेरै भीड भएको ठाउँमा नजाने, झोल खानेकुरा बढी खाने र सरसफाइमा ध्यान दिनुपर्ने डा ज्ञवालीले सल्लाह समेत दिएका छन्।
अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ४० जनामा डेङ्गुको सङ्क्रमण देखिएर उपचार भएको अस्पतालले जनाएको छ। अस्पतालमा डेङ्गु पहिचान गर्ने कीटको अभाव नरहेको डा ज्ञवालीले जानकारी दिए।
डेङ्गुु रोगबाट बच्न दिउँसो हिँड्दा शरीर छोपिने कपडा लगाएर हिँड्ने, घरको वरिपरि पानी जम्न नदिने र घरभित्र भाँडा, बोतलमा पानी जमाएर नराख्ने, सुत्केरी भएका महिलाले आफू र बच्चालाई यो सङ्क्रमणबाट बच्न झुलको प्रयोग गर्ने, धेरै मानिस आवतजावत हुने स्थानमा नजाने आदि सुझाव चिकित्सकले दिएका छन्।
उच्च ज्वरो आउनु, शरीरका जोर्नी दुख्नु, आँखाका गेडी दुख्ने, शरीरमा रातो धब्बा देखिनु र वाकवाक लाग्ने भएमा डेङ्गुको सङ्क्रमण भएको बुझ्नुपर्ने चिकित्सकको भनाइ छ। त्यस्तो लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर तत्कालै उपचार गराउनुपर्ने सल्लाह चिकित्सकको रहेको छ। (रासस)