काठमाडौँ – पर्यटन विभागले वसन्त ऋतुमा सगरमाथामा सम्पर्क अधिकृतमा रुपमा खटाए पनि काममा नगएका १५ जना कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।
सम्बन्धित स्थानमा नपुग्ने कर्मचारीमाथि कारवाही प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मन्त्रालयले भदौ १ मा विभागलाई निर्देशन दिएको थियो। विभागले खटिएको स्थानमा नपुग्ने १५ जना सम्पर्क अधिकृतसँग आफ्नो जिम्मेवारी निर्वाह गर्न नसक्नुको प्रमाण पुग्ने विवरण र स्पष्टीकरण बुझाउन आग्रह गरेको छ।
१५ दिनभित्र स्पष्टीकरण बुझाउन विभागले समयसीमा तोकेको छ। यस अवधिमा स्पष्टीकरण नबुझाउने सम्पर्क अधिकृतमाथि कारवाही प्रक्रिया शुरु गरिने विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिएकी छिन्। उनकाअनुसार वसन्त ऋतुमा ३७ जना सम्पर्क अधिकृतलाई सगरमाथामा खटाइएको थियो। उनीहरुमध्ये २२ जना मात्र सम्पर्क अधिकृत सगरमाथामा पुगेका थिए। १५ जना सम्पर्क अधिकृत भने तोकिएको स्थान मै नपुगि पारिश्रमिक तथा भत्ता बुझेका छन्।
को हुने सम्पर्क अधिकृत ?
६ हजार ५ सय मिटरभन्दा माथिको उचाईका हिमालमा प्रत्येक आरोहण दलमा एकजना सम्पर्क अधिकृत रहने व्यवस्था रहेको छ। त्यस्ता सम्पर्क अधिकृत दलकै साथमा रहनुपर्छ।
आरोहण दलका सम्पूर्ण गतिविधि नेपाल सरकारलाई जानकारी गराउने र दललाई आइपर्ने समस्याको समाधान गर्न पुलको रुपमा काम गर्ने जिम्मेवारी सम्पर्क अधिकृतको हुन्छ। दलको साथमा खटिने सम्पर्क अधिकृतको सेवा र सुविधा, बीमा र उपचार र उद्धारको जिम्मेवारी भने सम्बन्धित आरोहण दलको हुने प्रावधान छ।
सन् २०१९ को वसन्तु ऋतुमा विभिन्न हिमालका लागि ९१ जना सम्पर्क अधिकृत खटिएका थिए। त्यसमध्ये ३७ जना सगरमाथाका लागि खटिएका हुन्। छोटो अवधिमा ठूलो कमाई हुने, कामै नगरी सरकारी तलव पाउने र दलको तर्फबाट एजेन्सीमार्फत भत्ता पाइने लोभले एकै व्यक्ति पटक पटक सम्पर्क अधिकृत बन्ने तर काममा गम्भीर नदेखिएको स्वयमः सरकारी छानविनबाट देखिएको छ।
सरकारले काममा खटाएपनि बीना कारण फिल्डमा नखटिएका कर्मचारीमाथि अर्कोपटक हिमालमा सम्पर्क अधिकृतका रुपमा खटाउन अयोग्य हुने गरी कारवाही गर्ने तयारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उक्त प्रतिवद्धता व्यक्त गरिसकेका छन्।
सरकारले सगरमाथा सहितका हिमालमा अब व्यक्तिगत रुपमा नभई समूहमा सम्पर्क अधिकृत खटाउने तयारी गरेको छ। सगरमाथामा अनेक विकृति देखिएपछि सरकारले छानविन समिति गठन गरेको थियो, जसले ‘सम्पर्क अधिकृत समूह’ बनाएर खटाउने व्यवस्था गर्न सिफारिस गरेको छ।
उपसचिवको नेतृत्वमा अधिकृत, डाक्टर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका कर्मचारी, नासु, कम्प्यूटर अपरेटर, आवश्यकता अनुसार सहयोगी कर्मचारी रहने गरी समूह खटाउन सिफारिस गरिएको छ। यस्तो टोली आरोहण प्रारम्भ भएपछि सम्पन्न नहोउन्जेल आधार शिविरमै खटिनु पर्ने प्रावधान ल्याउन सिफारिस गरिएको छ।