धनगढी – नर्सिङ कलेज सञ्चालन गर्न अनिवार्य रूपमा आफ्नै अस्पताल हुनुपर्ने नियम भएपनि सुदूरपश्चिममा सञ्चालित अधिकाशं नर्सिङ कलेजहरुले नियमको पालना गरेका छैनन्। स्वास्थ्य मन्त्रालयले २०६७ सालमा नर्सिङ कलेजको आफ्नै अस्पताल हुनुपर्ने निर्णय गरेको थियो। सो निर्णय कार्यान्वयन हुन नसक्दा नियम मिचेर नर्सिङ कलेज सञ्चालन भइरहेका छन्।
नर्सिङ कलेजले प्रयोगात्मक कक्षाका लागी कम्तीमा अनिवार्य ५० बेडको आफ्नै अस्पताल हुनुपर्ने प्रावधान भए पनि सो प्रावधान लागू नगरी नर्सिङ कलेजहरुले सरकारी तथा अन्य निजि अस्पतालमै विद्यार्थीहरुलाई प्रयोगात्मकका लागी पठाउने गरेका छन्। ठूला अस्पतालमा प्रयोगात्मकका लागी पठाउँदा अस्पतालको काममा बाधा पुग्नुका साथै विद्यार्थीले आवश्यक्ता अनुसार प्रयोगात्मक समेत गर्न नपाउने चिकित्सकहरु बताउँछन्।
सेती अस्पतालमा मात्रै सुदूरपश्चिमका ९ वटा संस्थाबाट प्रयोगात्मकका लागी विद्यार्थी आउने गरेका छन्। नर्सिङसँगै अनमी, ल्याव टेक्निसियन, सी.एम.ए, फार्मेसीलगायत स्वास्थ्यसम्बन्धी सबै प्रयोगात्मकका लागी सेती अस्पतालमै आउने गरेका छन्। सुदूरपश्चिममा सञ्चालित पद्मा नर्सिङ कलेज र नवजिवन नर्सिङ कलेजका मात्रै आफ्नै अस्पताल छन्। अन्य सबै नर्सिङ कलेजहरुले बाहिरकै अस्पतालहरुमा प्रयोगात्मकका लागी पठाउने गरेको सिटिइभिटी सुदूरपश्चिम कार्यालयले जनाएको छ।
शैलेश्वरी फारवेष्ट कलेजबाट मात्रै बर्षमा ३ महिनाका लागी ४० जना नर्सिङ, ल्यावका ४० र हेल्थ असिस्टेन्ट ४० जना विद्यार्थी प्रयोगात्मकका लागी सेती अस्पताल जाने गरेका छन्। फारवेष्ट टेक्निकल कलेजबाट ८०, भागेश्वर एकेडेमीबाट ४०, एकीकृत सामुदायिक विकास केन्द्रबाट ४० नर्सिङ, ८० अनमीको प्रयोगात्मकका लागी सेती अस्पतालमा आउने गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर हेमराज पाण्डेयले बताए। यससँगै सेती प्राविधिक शिक्षालय दिपायल, सुजङ नर्सिङ होम दिपायल, पदमा नर्सिङ कलेज धनगढी तथा खप्तड कलेज धनगढीबाट समेत प्रयोगात्मकका लागी आउने गरेको उनले बताए।
सरकारी बेड क्षमताअनुसार अस्पतालको क्षमता ४० जना र विकास समितिको गरी करिब १ सय जना पुग्ने भए पनि सयौँको सङ्ख्यामा विद्याथीहरु प्रयोगात्मक गरिरहेको उनले बताए। डक्टर पाण्डेयले क्षमता भन्दाबढी प्रयोगात्मकका विद्यार्थीहरु अस्पतालमा भए अस्पतालले दिने सेवामा प्रभाव पर्नुका साथै विद्यार्थीहरुले सिक्नुपर्ने सिपसमेत नसिक्ने अवस्था रहेको बताए।
स्वास्थ्य मन्त्रालयले २०६७ सालमा बनाएको नीति कार्यान्वयन नभएपछि सरकारले हाल एक बर्षसम्म अन्तिम समय दिएको छ। त्यसका लागि सबै संस्थाहरुलाई निर्देशन गरिसकेको सिटिईभिटी सुदूरपश्चिम प्रदेश कार्यालयका निर्देशक कुस्माकर भट्टले बताए। एउटै अस्पतालमा धेरै विद्यार्थी प्रयोगात्मकका लागि जाँदा अस्पतालको सेवा प्रवाहसँगै विद्यार्थीको सिकाइ राम्रो नहुने कुरा जायज नै रहेको भट्ट बताउँछन्। हालको नयाँ ऐनले सबैलाई नियममा ल्याउने र नियमको पालना गर्न नसक्ने संस्था खारेज हुने उनको भनाई छ।
विद्यार्थीलाई प्रयोगात्मकका लागि अस्पतालमा पठाउँदा वा आफ्नै अस्पतालमा प्रयोगात्मक गराउँदा पनि एकजना सुपरभाइजर अनिवार्य खटाउनुपर्ने प्रावधान छ।