चितवन - लडेर र दुर्घटनामा परेर मेरुदण्डमा चोटपटक लागेका घाइतेलाई सुरक्षित तवरबाट अस्पतालसम्म पुर्याउन सकेमा सफल उपचार गर्न सहज हुने विज्ञले बताएका छन्।
मेरुदण्डका चिकित्सकको संस्था एसाेसिएसन अफ स्पाइन सर्जन अफ नेपाल र भरतपुर अस्पतालले शुक्रबार यहाँ आयोजना गरेको सुसुम्न नाडी (स्पाइनल कड) र चोटपटक एवं सङ्क्रमण विषयक एक दिवसीय सम–गोष्ठीमा सहभागी विज्ञले यस्तो बताएका हुन्।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले घाइतेको शरीरलाई चलमल हुन नदिने गरी मुढोजस्तो बनाएर अस्पतालसम्म ल्याउनुपर्ने बताए। कतिपय घाइतेको दुर्घटना भएलगत्तै खुट्टाका औँला चल्ने गरेको तर अस्पताल आएपछि नचल्ने गरेको पाइएको भन्दै उनले अस्पतालसम्म ल्याउँदा विशेष ख्याल गर्न आग्रह गरे। पछिल्ला वर्षमा घाइतेलाई उद्धार गरेर अस्पतालसम्म कसरी पुर्याउने भन्ने विषयमा जनचेतना दिने काम भइरहेको पौडेलले बताए।
स्पाइनल सर्जन अफ नेपालका अध्यक्ष प्राडा रवीन्द्रलाल प्रधानले दुर्घटना हुँदा मेरुदण्डमा आंशिक असर पुगेका कतिपय घाइते अस्पतालसम्म पुग्दा पूर्णरूपमा क्षति भएको अवस्थामा पुग्ने गरेको पाइएको बताए। आंशिक क्षति भएकालाई उपचारपछि पूर्ववत् अवस्थामा फर्काउन सकिन्छ भने पूर्णरूपमा क्षति भएकालाई फर्काउन कठिन हुन्छ।
प्राडा प्रधानले सम–गोष्ठीमा सहभागी चिकित्सकबीचमा सीपको आदानप्रदानसँगै उपचारका नयाँ पद्धतिको बारेमा एकापसमा ज्ञान आदानप्रदान गरिएको बताए। विज्ञ चिकित्सकले मेरुदण्ड उपचार पद्धति एवं सङ्क्रमण भएको अवस्थामा गरिने उपचार र शल्यक्रियाका विषयमा फरक फरक कार्यपत्रसमेत प्रस्तुत गरेका थिए।
उनका अनुसार देशभरमा हरेक वर्ष १ हजार हाराहारीको मेरुदण्डको शल्यक्रिया हुने गरेको तथ्याङ्क रहेको छ। शल्यक्रिया गर्न हुँदैन भन्ने भ्रम रहेको भन्दै उनले यसलाई चिरेर समयमा शल्यक्रिया गर्न सकेमा पूर्णरूपमा समस्या नभएकालाई पूर्ववत् अवस्थामा फर्काउन र पूर्ण क्षति भएकालाई सहजीकरण गराउन सकिने बताए। प्राडा पौडेलका अनुसार सम–गोष्ठीमा देशभरबाट ६० चिकित्सक सहभागी भएका थिए। (रासस)