बेझाड (पाल्पा) - कालीगण्डकीको अस्तित्व र गरिमालाई बचाउन पाल्पाको राम्दीदेखि पुट्टारघाटसम्म कालीगण्डकी जलयात्रा महोत्सव सञ्चालन गरिएको छ।
नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, रामपुर नगरपालिकाको आयोजना तथा रम्भा गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिका, तनहुँको घिरिङ गाउँपालिकाको सहआयोजनामा जलयात्रा महोत्सव आयोजना गरिएको हो।
शुक्रबार मालुङ्गाबाट एकैसाथ १७ वटा र्याफ्टिङ डुङ्गामा मन्त्रीसहित जनप्रतिनिधि, कालीगण्डकी विकास अभियन्ता, राजनीतिक दल, उद्योग वाणिज्य सङ्घ, नगरपालिका तथा गाउँपालिकाका कर्मचारी गरी १ सय ४६ जना कालीगण्डकीमा जलयात्रामा निस्केका थिए।
कालीगण्डकीको पहिचान र प्रचार तथा नदीको महत्त्वलाई बचाएर बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउन महोत्सवले ठूलो सहयोग पुग्ने कालीगण्डकी उपत्यका विकास समितिका अध्यक्ष शान्ताबहादुर श्रेष्ठले बताए।
करिब ४ घण्टाको समय लगाएर भुजात सिद्धबाबा धामसम्म शुक्रबार साँझ जलयात्राको टोली पुगेको थियो। भुजात सिद्धबाबादेखि पुट्टारघाटसम्म जलयात्रा निकालिने कार्यक्रम छ।
मणिमुकुन्देश्वर उत्तरवाहिनी क्षेत्रमा चापाकोट नगरपालिकाले स्वागत र पुट्टारघाटमा घिरिङ गाउँपालिकाको आयोजनामा समापन गर्ने बताइएको छ। निजी सङ्घसंस्थाद्वारा यसभन्दा अगाडि कालीगण्डकीमा जलयात्रा निकालिए पनि सरकारी तवरबाट भने पहिलोपटक जलयात्रा हुन लागेको हो।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कालीगण्डकी नदी ड्राइभर्सन गरेर अन्यत्र लगिए कालीगण्डकीको तल्लो क्षेत्रमा ठूलो असर पुग्ने बताए। नदी ड्राइभर्सन भएको खण्डमा जलवायु, वातावरणीय, धार्मिक तथा सांस्कृतिक अस्तित्व नै मेटिने उनको भनाइ थियो।
उनले प्रदेश नं. ४ र ५ को भविष्य कालीगण्डकीसँग जोडिएकाले पनि नदीलाई ड्राइभर्सन गरेर अन्यत्र लैजान नहुने बताए।
कालीगण्डकीमा शुक्रबार शुरु भएको जलयात्रा महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले राम्दीबाट कालीगण्डकी नदी थुनेर नेपालका तराई र भारतीय भागमा लैजाँदा तल्लो भेगका जनतालाई असर पर्ने बताए।
प्रदेश नं. ५ का सांसद नारायणप्रसाद आचार्य र युवराज खनालले यस नदीको धेरै ठूलो महत्त्व रहेकाले यसको बचावटका निम्ति सबै तह र क्षेत्र लाग्नुपर्ने बताए।
रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापा कालीगण्डकीको गरिमा र अस्तित्वलाई जोगाउन नदी महोत्सव कार्यक्रमले ठूलो सहयोग मिल्ने बताउँछन्। (रासस)