रामचन्द्र न्यौपाने, डोल्पा - त्रिपुरासुन्दरी नगरपालिका–७ बस्ने ४९ वर्षीय हरिमान रोकाय जीवनमरण दोसाँधमा छन्। उनी ८ वर्षदेखि ओछ्यानमै थला परेका छन्। शरीरलाई चलायमान राख्ने मेरुदण्ड (ढाड)नै भाँचिएपछि उनी थला परेका हुन्।
विसं २०६८ वैशाख १ गते छतको छेउमा सुतिरहेको बेला त्यहाँबाट खसेर उनको मेरुदण्ड भाँचिएको थियो। स्थानीय अहेबले ७२ घण्टभित्रै उपचारका लागि जिल्लाबाहिरका ठूला अस्पतालमा लगिए उनको ज्यान बच्ने बताएपछि आफन्तको सहयोगमा उपचारका लागि नेपालगञ्ज लगियो।
नेपालगञ्जमा उपचार सम्भव नभएपछि काठमाडाैँ शिक्षण अस्पताल लगियो। अस्पतालमा ३ दिनसम्म बस्दा चिकित्सकले उपचार नहुने बताउँदै जोरपाटीमा रहेको अस्पतालमा लैजान सुझाव दिए। त्यसपछि जोरपाटीमा रहेको अस्पतालमा १४ दिनसम्म उपचार गराएको उनले बताए।
उनले भने, “चिकित्सकले दुईवटा रड राखेपछि असह्य पीडाका कारण १० दिनसम्म खानासमेत नसकेको मान्छे पछि खानसक्ने मात्र भएँ तर सुधारचाहिँ भएन।” त्यसपछि थप उपचारका लागि भैँसेपाटीमा रहेको एक अस्पतालमा पठाइयो।
भैँसेपाटीमा ३ महिना उपचार गराएपछि पनि राम्रोसँग उपचार हुन सकेन। चिकित्सकले अझै अस्पतालमा बसेर उपचार गर्नुपर्ने बताए पनि खर्च अभावका कारण सासमात्र लिएर घर फर्कनुपरेको हरिमान बताउँछन्।
काठमाडाैँको महँगाे बसाइ, औषधि उपचार खर्च धान्न नसक्दा आफ्नो उपचार हुन नसकेको उनले बताए। ८ वर्षपहिला परिवारमात्रै नभई विपन्न र असहाय छिमेकीको समेत सहारा बन्ने उनी अहिले अर्काको सहारामा जीवनमरणको दोसाँधमा छन्।
उनका लागि घरबाहिर पाल टाँगेर बस्ने ठाँउ बनाइएको छ। ८ वर्षदेखि त्यही ठाउँमा चेप्टो परेर जीवनको अन्तिम सास फेरिरहेका छन् उनी। “पहिला बनाएको घर भए पनि ढाड भाँचिएपछि ८ वर्षदेखि घामपानी, हिउँ छेक्ने त्यही पालको छाप्रोमा चेप्टो पल्टेर मृत्यु कुरिरहेको छु,” रोकायले भने।
उनको बिछ्याउनाको तलपट्टि जस्ता बिछ्याइएको छ। त्यसमाथि ओछ्यान राखिएको छ। जस्तालाई प्वाल पारेर पिसाब छिर्ने बनाइएको छ। दिसा गर्न मन लाग्यो भने अरूलाई बोलाएर भाँडोमा थापेर फाल्नुपर्छ।
उनी न आफैँ खान सक्छन् न दिसापिसाबका लागि शौचालय नै जान सक्छन्, सबै कुरा श्रीमती र छोरीले गरिदिने गरेका छन्। उनका दुई छोरी र एक आठ वर्षीय छोरा छन्।
“आफूलाई असह्य पीडा त छँदै छ, मेरै कारणले परिवारलाई झन् दुःख भएको छ, मर्न पाए सुख हुन्थ्यो,” उनले रुँदै भने। ढाड भाँच्चिएलगत्तै उनलाई दाजुभाइले पैसा उठाएर उपचारका लागि काठमाडौँ लगिएको हो तर खर्च अभावमा उपचार हुन सकेन।
उपचारका लागि राजधानीका विभिन्न अस्पतालमा गए पनि आर्थिक अभावका कारण पैसा तिर्न नसक्ने भएकाले उपचार नगरेर फर्किएको उनका भाइ विष्णुमान रोकायले बताए।
“निको हुने आशामा सबै गरेर रु. ७ लाख खर्च भइसक्यो तर अवस्था उस्तै छ, चिकित्सकले रु २५/३० लाख भयो भने उपचार हुन्छ भनेका छन्, यत्रो पैसा घरखेती बेचेर पनि आउँदैन,” हरिमानले भने, “आफू थला परेदेखि घर खर्चका लागि पनि अरूमा भर पर्नुपरेको बेला लाखौँ कसरी पाउने र उपचार गर्ने यसै कुहिएर मर्नु्बाहेक अरू विकल्प छैन।”
उपचार गराउनेसमेत वाचा चुनावी एजेन्डामात्र
चुनावमा उनलाई विभिन्न राजनीतिक दलका नेताले चुनावी एजेन्डासमेत बनाए। आफन्त र उनकाे भोट माग्नका लागि सहरका ठूला अस्पतालमा लगेर उपचार गराउनेसमेत वाचा गरे तर चुनाव जितिसकेपछि कसैले फर्केर हेरेनन्।
“दोस्रो संविधानसभाको चुनावमा भोट माग्न नेताहरू गाउँ आएका थिए, काठमाडाैँ लगेर उपचार गराइदिने भन्दै सम्पूर्ण परिवार र आफन्तको भोट हाल्न अनुरोध गरे, श्रीमानकाे उपचार हुने आशामा सबैलाई हात जोडेर भोट हाल्न लगाएँ तर नेताको बोली आश्वासनमा मात्रै सीमित भयो,” उनकी श्रीमती बुद्धिरूपाले भनिन्।
“श्रीमानकाे जीवन परिवर्तन हुन्छ कि भन्ने आशा पलाएको थियो तर त्यो आशा नेताको बोलीमा मात्रै सीमित भएको उनले बताइन्। “मेरो यस्तो अवस्थालाई नेताले चुनावी एजेन्डासमेत बनाए, मलाई खानाखाजा खुवाउन नदिएर परिवार र आफन्तलाई मतदान केन्द्रमा आफ्नोसहित भोट हाल्न पठाएँ तर चुनाव जितिसकेपछि फर्केर आएनन्,” हरिमानले गुनासो गरे।
उपचार गराएर अन्य मान्छेसरह हिँडडुल गर्नसक्ने बनाइदिन्छन् कि भन्ने ठूलो आशा रहेको तर कसैले पनि चुनावी वाचा पूरा नगरेको उनको भनाइ छ।
घरको आर्थिक अवस्था कमजोर भएकै कारण ठूली छोरीले पढाइ पूरा गर्न सकेकी छैनन्। नजिकैको जनप्रभा माविबाट एसएलसी पास गरे पनि माथिल्लो तहको शिक्षा लिनबाट उनि वञ्चित भएकी छन्। घरायसी कामकाजको बोझ, कमजोर आर्थिक अवस्थाका कारण छोराछोरीको भविष्य बिग्रेको बुद्धिरूपाले बताइन्।
मिसन नेपालको आर्थिक सङ्कलन अभियान
हरिमानको उपचारका लागि मिसन नेपाल नामक सामाजिक संस्थाले अभियान चलाएको छ। देश–विदेशमा रहेको सहयोगी दाताहरूबाट आर्थिक सङ्कलन गरेर उपचार गर्ने लक्ष्यअनुरूप आर्थिक सङ्कलन अभियान शुरु गरिएको संस्थाका अध्यक्ष ओमेन्द्र केसीले जानकारी दिए।
उनको उपचारका लागि आफ्नो संस्थाको तर्फबाट रु. २५ हजार सहयोग गर्नेसमेत केसीले बताए। बिरामी हरिमानको नाममा जिल्ला सदरमुकाम दुनैमा रहेको सिटिजन्स बैंकमा खाता खोलिएकाले सबै सहयोगी मनलाई सहयोग गर्न आग्रहसमेत गरिएको छ। उपचारका लागि आर्थिक सङ्कलन गर्ने क्रम जारी रहेको बताइएको छ।