गोपालप्रसाद बराल, बर्दिवास - महोत्तरी जिल्लामा एचआईभी सङ्क्रमितको सङ्ख्या २ सय ६८ पुगेको छ। एचआईभी जाँचका लागि स्वैच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएका जलेश्वर अस्पताल र नेपाल परिवार नियोजन सङ्घ महोत्तरी परियोजना बर्दिवासले यस्तो तथ्याङ्क देखाएका हुन्।
सन् २००७ देखि एचआईभी र विभिन्न यौनरोगबारे परामर्श, स्वैच्छिक रक्तपरीक्षण र उपचार सेवासमेत दिँदै आएको जलेश्वर अस्पतालले अहिलेसम्म २ सय १८ सङ्क्रमित भेटिएको जनाएको छ।
यसैगरी नेपाल परिवार नियोजन सङ्घ महोत्तरी परियोजनाले सन् २०१२ को अन्त्यसम्म ४९ र यसै वर्ष (विसं २०७५) गत अक्टुबरमा रक्त परीक्षणबाट थप १ सङ्क्रमित पाइएपछि यो सङ्ख्या ५० पुगेको परियोजना प्रमुख धीरज पौडेलले जानकारी दिए।
सन् २०१३ को प्रारम्भदेखि यस वर्षको सेप्टेम्बरसम्म एचआईभी जाँचका लागि रक्त परीक्षण गर्न सेवाग्राही आएका भए पनि त्यस अवधिमा सङ्क्रमित नपाइएको परियोजनाले जनाएको छ।
जलेश्वर अस्पतालमा भने चालू आर्थिक वर्ष २०७५/७६ को गत साउनयता हालसम्म रक्त परीक्षण गर्न आएकामध्ये १९ सङ्क्रमित पाइएको जनाएको छ। अस्पतालमा कुल सङ्क्रमितमध्ये १ सय १६ महिला, ८५ पुरुष र ३ जना तेस्रो लिङ्गी रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजीवकुमार झाले जानकारी दिए।
उक्त सङ्ख्याभित्र १२ वर्षमुनिका १४ बालबालिका रहेको अस्पतालले जनाएको छ। त्यसैगरी परियोजनामा भेटिएका ५० सङ्क्रमितमध्ये ३१ पुरुष र १९ महिला छन्। दुवै ठाउँको सङ्क्रमित सङ्ख्या जोड्दा महिला १ सय ३५ र पुरुष १ सय १६ देखिन्छ।
जिल्लामा वैदेशिक रोजगारीमा गएका र तिनका परिवारजन बढीजसो एचआईभी सङ्क्रमित पाइएका छन्। हालसम्म आफ्नो प्रयोगशालाको परीक्षणबाट सङ्क्रमित पाइएका ३१ पुरुष सबै वैदेशिक रोजगारबाट फर्केका पाइएको परियोजनाले जनाएको छ।
त्यस्तै सङ्क्रमित १९ महिलामध्ये ६ सङ्क्रमित पुरुष (पति)का पत्नी रहेकाे परियोजनाले जनाएको छ। त्यसैगरी जलेश्वर अस्पतालमा पनि वैदेशिक रोजगारबाट फर्केका पुरुष नै सङ्क्रमितमध्ये ८० प्रतिशत रहेको डा. झाको भनाइ छ।
जिल्लामा कुल सङ्क्रमित सङ्ख्यामध्येका १९ बालबालिका भने गर्भैदेखि सङ्क्रमित भेट्टाइएको अस्पताल र परियोजनाको तथ्याङ्कमा उल्लेख छ। पछिल्ला वर्षहरूमा विभिन्न स्वास्थ्य संस्था, स्वयंंसेवी संस्था, एड्स तथा यौन रोगविरुद्धका सघन सचेतना अभियान र परिवार नियोजनको अस्थायी साधन कण्डमको प्रयोग बढेसँगै एचआईभी सङ्क्रमण घटेको परियोजनाको ठम्याइ छ।
यता जलेश्वर अस्पतालले भने सङ्क्रमित हुने क्रम खासै नघटेको जनाएको छ। जिल्लाको उत्तरी क्षेत्रमा सङ्क्रमितले सुरक्षित यौन सम्बन्ध बढाएका र दक्षिणी क्षेत्रमा त्यसमा असावधानी हुँदा एउटै जिल्लामा पनि क्षेत्रगत सङ्क्रमित वृद्धिदर फरक परेको स्वास्थ्यकर्मी बताइएको छ।
जिल्लामा सङ्क्रमितको तथ्याङ्कअनुसार सबै नै असुरक्षित यौन सम्पर्कका कारण पाइएको दुवै रक्त परीक्षण केन्द्रले जनाएका छन्। विदेश जानेमा पाइएको सङ्क्रमण पनि भारत र मलेशियाबाट फर्केकाहरूमा बढी पाइएको परियोजनाले जनाएको छ।
यसैबीच स्वास्थ्यक्षेत्रमा काम गर्दै आएका सामाजिक सङ्घसंस्थाले विदेशबाट फर्कनेहरूलाई विमानस्थल र दुई देशीय सीमाक्षेत्रमा अनिवार्य एचआईभी परीक्षण गरेर मात्र प्रवेशको व्यवस्था गर्न राज्य पक्षसँग माग गरेका छन्।