काठमाडौँ – हरेक वर्ष चैत कृष्ण औँसीका दिन काठमाडौँमा मनाइने एक प्रसिद्ध जात्रा हो, घोडे जात्रा। प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन घोडे जात्रालाई काठमाडौँमा एउटा महत्वपूर्ण पर्र्वका रुपमा मनाइन्छ। आज शुक्रबार घोडे जात्राको त्यो दिन परेको छ। बडो धुमधामका साथ काठमाडौँको टुँडिखेलमा विभिन्न कार्यक्रमका साथ आज घोडे जात्रा मनाइँदैछ।
घोडे जात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा घोडा कुदाउने चलन छ भने सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने परम्परा छ। पहिले काठमाडौँ बासीमा मात्र सीमित यो जात्राले अहिले राष्ट्रिय महत्व पाउन थालेको छ। यद्यपी, काठमाडौँ उपत्यकाको तीनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा परापूर्वकालदेखि नै घोडे जात्रा मनाउने परम्परा रहेको छ।
किन मनाइन्छ घोडेजात्रा?
घोडे जात्राको इतिहासका बारेमा ठ्याक्कै यसै हो भनेर किटान गर्न सक्ने अवस्था छैन। यसबारेमा इतिहासविद् सत्यमोहन जोशी र हरेराम जोशी जानकार हुन सक्छन। सम्पर्क गर्न खोज्दा पनि उहाँहरुसँग सम्र्पक हुन सकेन। किंवदन्ती अनुसार कुनै बेला टुँडिखेलमा टुँडि नाम गरेको राक्षस बस्ने गर्दथ्यो। राक्षस काठमाडौँबासीका लागि त्रासको विषय थियो। जब चैत्र कृष्ण पक्षको औंशीको दिन टुँडि राक्षसको टुँडिखेलमै मृत्यु भएको खवर काठमाडौँबासीले पाए।
यस खवरले काठमाडौँबासीलाई ठूलो राहत दियो र सबै जनता खुसी भए। राक्षसले काठमाडौँबासी जनतामध्ये हरेक दिनजसो एकजना मानिसलाई माथ्र्यो र आफ्नो भोजन बनाउँथ्यो। राक्षस मरेको खवरले काठमाडौँबासी खुसी भएर टुँडिखेलमा जम्मा भए र ठूलै उत्सव मनाए। उत्सव मनाउने क्रममा उनीहरु घोडामाथि चढेर टुँडि राक्षसको शरीरमाथि नाचेको किंवदन्ती पाइन्छ।
त्यसपछि हरेक वर्ष टुँडिखेलमा काठमाडौँका तत्कालिन राजाले टुँडि राक्षसको दुष्ट आत्मा टुँडिखेलको जमिन भन्दामाथि उठ्न नसकोस् भनेर त्यहाँ घोडा दौडाउने प्रचलन बसाले। यही प्रचलन हरेक वर्षचल्दै आएपछि काठमाडौँको टुँडिखेलमा चैत कृष्ण औँसीका दिन घोडे जात्रा मनाउने परम्परा बस्यो। प्रारम्भमा काठमाडौँबासिले मात्रै मनाउने यो घोडे जात्रा विस्तार ललितपुर र भक्तपुरमा समेत मनाउन थालियो। घोडे जात्राको दिन जति तीव्र गतिमा घोडा कुदाइयो, त्यति नै बढी मात्रामा टुँडि राक्षसको आत्मा जमिन मुनि धसिने विश्वास काठमाडौँबासीमा रहिआएको छ।
काठमाडौँ उपत्यकाको ललितपुरको बालकुमारीमा पनि आजैका दिन घोडे जात्रा मनाइन्छ। त्यस जात्रामा नेवारी पुरुष र घोडा दुवैले जाँड खाने प्रचलन छ। त्यसपछि घोडालाई उत्तेजित बनाइ तेज गतिमा दौडाइन्छ। यसकारण यो पर्वलाई दैत्य माथिको विजय भएको खुसीयालीका रुपमा मनाइदै आएको छ। साथै यस जात्राले देशमा शुमंगल ल्याउने विश्वास पनि गरिन्छ।
बालबालिकालाई भूत, प्रेत, पिशाचलगायत नकारात्मक तत्वले दुःख नदियोस् भनेर पनि घोडेजात्रा मनाउनका पछाडि विविध कारणमध्ये एउटा भएको किंवदन्ती छ। चैत कृष्ण चतुर्दशीको दिनलाई पिशाच चतुर्दशी पनि भनिन्छ। परापूर्वकालमा काठमाडौँ उपत्यकामा बालबालिकालाई भूत, प्रेत, पिशाच नामका ‘कु’ तत्वले धेरै नै दुःख दिने गर्थे।
यी तत्वले बालबालिकालाई दुःख नदिऊन् भनी चतुर्दशीका दिन यी तत्वलाई केही मनपर्ने खानेकुरा दिएर चित्त बुझाइने भएकाले औँसीको अघिल्लो दिनलाई पिशाच चतुर्दशी भनिएको मानिन्छ। चैतकृष्ण चतुर्दशीका दिन भूत, प्रेत र पिशाचलाई चित्त बुझाइने र त्यस समयमा नजाने भूतपिचाशको आत्मालाई औँसीका दिन घोडाको टापले कुल्चिएर भगाउने परम्परा बसेको किंवदन्ती बुढापाकाहरु सुनाउँछन।
विशेषगरी बालबालिकालाई किचकन्नी, मूर्कट्टा आदि नामका नकारात्मक तत्वले दुःख नदिऊन् भनी यो पर्वमा सहरभर घोडा कुदाउने गरिन्छ। पहिले काठमाडौँका अन्य स्थानमा समेत घोडा कुदाउने गरिन्थ्यो। तर यहाँ शहर विस्तार हुँदै घनाबस्ती भएपछि उक्त परम्परा हटेको हो।
नेपाली सेनाको घोडचढी कला प्रदर्शन
घोडे जात्राका दिनलाई घोडचढी प्रतिस्पर्धाको रूपमा समेत मनाइन्छ। त्यसैले घोडेजात्राका अवसरमा टुँडिखेलमा नेपाली सेनाले घोडचढी कला प्रदर्शन गर्दछ। घोडचढी प्रतिस्पर्धाको रूपमा मनाइने यस पर्वमा देशको अति उच्च पदमा आसिन राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीस लगायत साधारण नागरिकसम्म सहभागि भएर मनोरञ्जन लिन्छन्।
घोडे जात्राको अवसरमा सेनाले गर्ने घोडचढी प्रदर्शन मनोरञ्जनका लागि मात्रै हो। सो अवसरमा नेपाली सेनाले खेलका विभिन्न कलाकौशल समेत प्रस्तुत गर्ने गर्दछन्। यस अवसरमा आयोजना गरिने विशेष समारोहमा अश्वकलाका विविध रोचक कार्यक्रमहरुका साथै सेनाका जवानहरुले ट्रिकराईड, टांगन र चार्जर घोडा दौड, साईकल रेस, शो जम्प, ड्रिल राईड, गु्रप टेण्ट पेगिङ्ग, क्रस टेण्ट पेगिङ्ग, लान्स हिट प्याक, लान्स पिक, भल्टिङ्ग, हर्ष ह्याण्डलिङ्ग, सिक्स बार, रेन फ्रि जम्प, म्युजिकल राइड, डग शो, हंगेरियन पोष्ट, क्रसकन्ट्रीजम्प र फायर जम्प प्रदर्शन गर्छन्।
सैनिक मञ्च टुँडिखेलमा सेनाले प्रदर्शन गर्ने अश्वकला, अश्वदौड प्रतियोगिताको रूपमा हो। तर, धार्मिक र सांस्कृतिक मान्यताअनुसार टुँडिखेलमा बासस्थान भएका पिशाच प्रेतात्मा, भूतहरूलाई घोडाको टापले कुल्चिएर जमिनबाट माथि आउन नदिनु नै यसको मुख्य परम्परा रहेको बताइन्छ।
पाटनमा एकल घोडेजात्रा
पाटनको बालकुमारीमा भने ओल्खु चिबहाः टोलको ज्यापुको भीमसेन गुठीले एकल घोडे जात्रा सञ्चालन गर्ने गरेको छ। पाटनमा एकल घोडे जात्रा निकै लोकप्रिय मानिन्छ। यसमा घोडे जात्राको एक दिनअगाडि पाटनको ओल्खु चिबहाः टोलका ज्यापुले महाभारतका पात्र पाँच पाण्डवको मूर्ति रहेको मङ्गलबजारको भीमसेनस्थानमा छ्वयलाभु गर्ने भनी राँगो बलि दिने प्रचलन छ। यो बलिमा चढाएको राँगोलाई कृष्ण देगलको उत्तरपट्टी जलाईन्छ। यसरी बलि दिई पूजा गर्ने बेलामा भीमसेनले किचक वध गर्नुका साथै भीमसेनको वर्णन गरिएको स्तूति भजन गाइन्छ।
यसै दिन पाँच पाण्डवलाई पूजा गरी समयबजि खुवाइन्छ। भोलिपल्ट दिउँसो दुई बजे यही भीमसेनस्थानमा नेपाली सेनाले एउटा घोडा ल्याइपुर्याउने गरेको छ। त्यसपछि भीमसेन गुठीका सम्पूर्ण गुठियारले त्यस स्थानदेखि स्वागत गरी घोडालाई ललितपुरका ओल्खु चिबहाःको ताहाफल्चामा ल्याउछन्।
यस गुठीका थकालीले आवश्यक परम्परागत विधिपूर्वक पूजा गरी आजुहरूले चुनेका गुठियारमध्ये कुनै पनि व्यक्तिलाई घोडा चढाउनुका साथै घोडा चढ्नेलाई सम्मानस्वरूप भीमसेनस्थानबाट ल्याएको फूलमाला पहिर्याइ, टीका पूजा गरिन्छ। त्यस स्थानबाट यो एकल घोडेजात्रा सुरु हुन्छ।
गुठी संस्थानबाट नै बन्दोबस्त गरिने लाय्कु बाजाबाट शुभारम्भ हुने यो जात्रा विधिवत् रूपमा पाटनको मूलचोकबाट सुरु भई ओल्खु, नेउत, लोहलँ, भोल गणेश हुँदै बालकुमारी परिक्रमा गरी फेरि भोल गणेश हुँदै बालकुमारीमै फर्किन्छ। जात्राको पछि–पछि सिमसिम राजाको प्रतीकका रूपमा गुठी संस्थानका एक कर्मचारीलाई तरवार बोकाउनुका साथै छाता ओढाई सम्पूर्ण गुठियारहरू जात्रामा सरिक हुने गर्दछन्।
यसरी दुईपटकसम्म ओहोरदोहोर गरी तीनपटक परिक्रमा गरी यो जात्रा गरिन्छ। परिक्रमापछि घोडा चढ्ने व्यक्तिलाई बालकुमारी मन्दिरको दायाँ राखी पान, सुपारी दिएर बिदावारी गरी जात्रा समापन गरिन्छ। त्यसपछि सम्पूर्ण गुठियार त्यहाँबाट पाहाँर्चहेमा गाइने धातु लयमा गीत गाएर भीमसेन मन्दिरमा फर्किने प्रचलन छ।
त्यसको भोलिपल्ट सीकाःभ्वय् गर्ने भनी ५१ गुठियार बसी भोज गरिन्छ। भीमसेन देवताको पछाडिपट्टकिो गुठीको घरमा तीन दिनसम्म चल्ने यो भोज सम्पूर्ण गुहृय पूजा भोज हो। पाहाँर्चहेको दिनमा भीमसेन मन्दिरमा बलि दिएको राँगोको अगाडिको भाग भीमसेनको भाग भनी त्यस दिन खाइन्छ। बलिको टाउकोको भाग सीकाःभ्वय् खाने भनी जात्राको भोलिपल्ट सम्पूर्ण गुठियारले सी लिएर भोज खाइन्छ।
एउटा अचम्मको कुरा के भने तीन–चार दिनसम्म चल्ने यो भोजमा नुन, तेलबाहेक अरू कुनै पनि मरमसला राख्न मनाही छ।