विमलबहादुर विष्ट, डोटी – बडीकेदार गाउँपालिका अत्तरकाँडाकी कल्पना (नाम परिवर्तन) आफ्ना श्रीमानसँगै वडा नं. २ खड्यौली पुगिन्। उनी त्यहाँ स्थायी बन्ध्याकरणका लागि पुगेकी थिइन्। उनका श्रीमानले आफू स्थायी बन्ध्याकरण गर्न जिद्दी गर्दै थिए तर कल्पनाका अगाडि उनको जिद्दीले काम गरेन।
कल्पनालाई स्वास्थ्यकर्मीले पनि सम्झाउन खोजे तर उनले कसैले भनेको न मानिन् न त सुनिन नै। अन्ततः उनले श्रीमानकाे बन्ध्याकरणको साटो आफ्नै मिनिल्याप गराइन्। श्रीमानकाे स्थायी बन्ध्याकरण गरे कमजोर हुन्छ भन्ने विश्वासका कारण यहाँका महिला आफ्ना श्रीमानकाे बन्ध्याकरण गराउनुको साटो आफ्नो गर्ने गरेको जोरायल गाउँपालिका–३ का प्रकाश साउदले बताए।
कल्पना त एक पात्र मात्र हुन्, यहाँका ग्रामीण क्षेत्रका अधिकांश महिलाले आफ्ना श्रीमानलाई स्थायी बन्ध्याकरण गर्न नदिने गरेको पाइएको छ। त्यस्तै जिल्लाकै पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा पनि महिलाले आफ्ना श्रीमानलाई स्थायी बन्ध्याकरण गर्न नदिई बरु आफ्नै मिनिल्याप गर्ने गरेको जिल्ला अस्पतालका डाक्टर गिरिश अवस्थीले बताए।
“हामीले सञ्चालन गरेका कतिपए भ्याक्सेटोमी क्याम्पमा श्रीमतीले नै श्रीमानकाे बन्ध्याकरण गर्न नदिने र आफ्नो गरराउने गरेका छन्,” उनले भने, “किन महिलाले यसो गरेका होलान् म त अचम्मित छु।”
नेपाल सरकारको सहयोग र जिल्ला स्वास्थ्य कार्यालयका साथै स्थानीय स्वास्थ्य संस्थाको समन्वयमा नेपाल परिवार नियोजन सङ्घले जिल्लाका १६ स्थानमा सञ्चालन गरेको परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरमा बन्ध्याकरण गराउने २ सय १६ मध्ये १ सय ६७ महिला छन्।
यो सङ्ख्या सेवा लिने कुल सङ्ख्याको ७७ प्रतिशत हुन आउँछ। प्रत्येक स्थानीय तहमा २ दिन गरी १८ दिनसम्म सञ्चालन भएको उक्त शिविरमा सबैभन्दा बढी आदर्श गाउँपालिकामा ५१ महिलाले स्थायी बन्ध्याकरण गराएका छन्। उक्त गाउँपालिकामा जम्मा ६० ले मात्रै उक्त सेवा लिएका थिए।
त्यस्तै सायल गाउँपालिकामा २२ मध्ये १९ महिला, दिपायल सिलगढी नगरपालिकामा ३० मध्ये २२ महिला, केआइसिंह गाउँपालिकामा ११ मध्ये ९ महिला र शिखर नगरपालिकामा १० मध्ये ६ महिलाले स्थायी बन्ध्याकरण गराएको नेपाल परिवार नियोजन सङ्घका प्रमुख चेतराज फुलाराले बताए।
स्थायी बन्ध्याकरण सुविधा लिनेमा पूर्वीचौकी गाउँपालिकामा २६ मध्ये २५ महिला, जोरायल गाउँपालिकामा १७ मध्ये १२ महिला र बडीकेदार गाउँपालिकामा २५ मध्ये १७ महिला छन्।
बोगटान गाउँपालिकामा भने पुरुषको सङ्ख्या बढी देखिएको छ। यस गाउँपालिकामा बन्ध्याकरण सेवा लिने १५ मध्ये ९ जना पुरुष छन्। पुरुषले बन्ध्याकरण गरे यौन क्षमतामा पनि ह्रास आउने भ्रम महिलामा परेको र यसले गर्दा उनीहरूले श्रीमानलाई बन्ध्याकरण गर्नबाट रोक्ने गरेको आफूले बुझेको फुलाराले बताए।
पुरुषले बन्ध्याकरण गर्दा शारीरिक रूपमा कमजोरी नहुने जिल्ला अस्पतालका डाक्टर अवस्थीले बताए। उनले भने, “बन्ध्याकरण गरेकालाई सामान्य ढाड दुख्ने समस्या हुनसक्ने तर अन्य कुनै समस्या हुँदैन।” डोटीका महिला श्रीमानमाथि बढी निर्भर भएका कारण श्रीमानलाई केही भई पो हाल्छ कि भनेर बन्ध्याकरण गर्न नदिने गरेको डाक्टर अवस्थीको अनुमान छ।