वि.सं. २०६७ सालमा स्थापना भएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले करिब एक दशकपछि प्राध्यापक संघ पाएको छ। गत माघमा विश्वविद्यालयका प्राध्यापकको महाधिवेशनबाट केन्द्रीय क्याम्पसका उपप्राध्यापक उत्तम थापाको नेतृत्वमा ११ सदस्यीय प्राध्यापक संघ गठन भएको छ। विश्वविद्यालयले प्राध्यापक संघ पाइसकेपछि प्राज्ञीक उन्नयन र सम्रग विश्वविद्यालयको विकासमा कस्तो सहयोग पुग्छ? प्राध्यापक संघको आवश्यकता किन र केका लागि? र संघका आगामी योजना तथा विश्वविद्यालयको वर्तमान अवस्थामा केन्द्रित रहेर नेपाली पब्लिकका संवाददाता मदन गिरीले अध्यक्ष थापासँग गरेको संवाद:
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको प्राज्ञीक नेतृत्व गर्ने अवसर प्राप्त भयो, कस्तो लागेको छ? अबको योजना के छ?
–एक दशकयता विश्वविश्वविद्यालयमा प्राध्यापक संघ गठन भएको थिएन। अहिले केन्द्रीय क्याम्पससहित १४ वटा आङ्गीक क्याम्पस भइसके पश्चात विश्वविद्यायललाई गति दिन दबाबमूलक समूहको आवश्यकता महसुस भइरहेको थियो। त्यसैले विश्वविद्यालयका प्राध्यापकले विभिन्न समयमा छलफल र बहस चलाएर प्राध्यापक संघ गठन गरेका हौं। संघ गठनपछि साथीहरुले मलाई विश्वास गरेर महत्वपूर्ण जिम्मेवारी दिनु भएको छ। यो जिम्मेवारीलाई कर्तव्यनिष्ठ भएर विश्वविद्यालयको सुधार तथा प्राज्ञीक क्षेत्रकोे विकासका लागि आफ्नो भूमिका निर्वाह गर्नका लागि सधैँ तयार रहने र त्यसका लागि कटिबद्ध भएर लाग्ने प्रण गरेको छु।
विश्वविद्यालयमा प्राध्यापक संघको आवश्यकता किन परेको हो?
–सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा मात्रै होइन, नेपालका हरेक विश्वविद्यालयमा प्राध्यापक संघ गठन हुन्छ। यसको आफ्नै महत्व र आवश्यकता छ। विश्वविद्यालयमा प्राध्यापक संघको आवश्यकता भनेको प्राज्ञीक उन्नयन, विश्वविद्यालयका विकृति विसंगति अन्त्य गर्न र प्राध्यापकको हकहितका लागि ऐन कानून तथा कार्यविधि निर्माणका लागिसम्बन्धित निकायलाई खबरदारी गर्ने काम संघले गर्छ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सन्दर्भमा पनि यहाँ थुप्रै किसिमका समस्याहरु विद्यमान छन्। ती समस्या समाधानका लागि पहल गर्ने, प्राज्ञीक उन्नयन, विद्यार्थीलाई पठनपाठनका लागि जुन सहज वातावरण आवश्यक पर्छ, त्यसको सिर्जनाका लागि यसको आवश्यकता पर्छ, त्यसै अनुरुप संघ जहाँ जे–जस्तो भूमिका खेल्नुपर्छ, त्यसका लागि हामी प्रतिबद्ध छौं।
विश्वविद्यालय, प्राध्यापक र विद्यार्थीको हकहितका लागि तपाईंका योजना के छन्?
–सुप विश्वविद्यालयको केन्द्रीय क्याम्पस र आङ्गीक क्याम्पसमा छुट्टाछुट्टै समस्याहरु छन्। १४ वटा आङ्गीक क्याम्पसलाई नेपाल सरकारले चार सय ४४ जनाको दरबन्दी स्वीकृत गरेको अवस्था छ। जसमध्ये एक सय १९ स्थायी, ९८ अस्थायी र एक सय १७ जना छुटेका छन्। कैलाली बहुमुखी क्याम्पस समायोजन हुन सकेको छैन। अबको हाम्रो पहल भनेको के हो भने कैलाली बहुमुखी क्याम्पसलाई पनि आवश्वक मापदण्ड पुरा निर्माण गरेर सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको अभिन्न अंगको रुपमा विकास गर्ने। त्यस अनुरुप हामीले योजना बनाइरहेका छौँ। यसका लागि अागामी दिनमा विश्वविद्यालयका कुलपति, उपकुलपति लगायत यस क्षेत्रका राजनीतिक दलका उच्च पदस्थ नेता र शैक्षिक व्यक्तित्वसँग छलफल चलाएर कैलाली बहुमुखी क्याम्पसलाई सुपको आङ्गीक क्याम्पसको रुपमा विकास गर्ने हाम्रो एक प्रमुख उद्देश्य हो।
अर्कोतर्फ १४ वटा आङ्गीक क्याम्पसको समायोजन भइसकेको अवस्थामा, तीनको सम्पत्ति समेत विश्वविद्यालय ग्रहण पनि गरिसकेको छ। तर, त्यहाँ कार्यरत शिक्षक, कर्मचारी साथीहरुले विगत आठ महिनादेखि तलब नपाएको अवस्था छ। त्यो तलब भुक्तानीसँगै उहाँहरु पाउने अतिरिक्त सेवा सुविधाका लागि हामी पहल गछौँ। २०७० सालमा जयपृथ्वी बहुमुखी र कैलाली बहुमुखी क्याम्पसले सुप विश्विद्यालयको आङ्गीक क्याम्पस बन्न पाउनु पर्छ भनेर निवेदन दिनु भएको छ। त्यसलाई तत्कालिन सरकारले स्वीकृति दिएर सिनेटबाट पारित भइसकेको अवस्था हो। त्यसपछि २०७१ असोजमा अन्य १३ क्याम्पसले जे–जस्तो अवस्थामा छन् त्यही अवस्थामा सुप विश्वविद्यालयको आङ्गीक क्याम्पस बन्न पाउनुु पर्छ भनेर निवेदन दिनु भएको थियो। र, विसं २०७५ वैशाखमा विश्वविद्यालयले कार्यविधिमार्फत बनाएर आङ्गीक क्याम्पस बनाउने निर्णय गरियो। तर, त्यो निर्णय विभेदकारी देखिन्छ। त्यसमा कैलाली बहुमुखी क्याम्पस समायोजनमा नअटाएरको तथा अन्य समायोजन भएका क्याम्पसका शिक्षक, कर्मचारीलाई पनि कुण्ठित पर्ने गरी कार्यविधि ल्याएको छ।
अब हाम्रो भनाई के हो भने यी १४ वटै क्याम्पसका कार्यरत साथीहरुको वृत्ति विकास, प्राज्ञीक उन्नयनका लागि कटौती गरिएको सेवासुविधा निशर्त फिर्ता गर्ने र भुक्तानी दिन बाँकी रहेको क्याम्पसको तत्काल भुक्तानी निकास गराउनका लागि हामी पहल गछौँ। त्यस्तै अबको दिन विश्वविद्यालयका पाठ्यक्रमलाई समय अनुसार परिर्माजन गर्न हामी केन्द्रित छौँ। यस प्रदेशको स्रोतसाधनको अध्ययन, अनुसन्धान र परिचालनका लागि विश्वविद्यायलयबाट त्यस किसिकको सेवा प्रदान गर्न पहल गछौँ। साथै विश्विद्यालयलाई अध्ययन अध्यापनको मात्रै केन्द्र नबनाई यसलाई विभिन्न किसिमको प्राविधिक शिक्षा र अनुसन्धान पद्धतिको विकासका लागि पनि जिम्मेवार निकायलाई घच्घच्याउने कुरामा हामी पछि हट्दैनौँ।
विश्वविद्यालयका केही प्राध्यापक मिलेर अर्को संघ खडा गरी प्राज्ञीक संस्थालाई विवादित बनाएको छ। यसले संघका आधिकारितामाथि पनि प्रश्न चिह्न खडा गरी दिएको छ नि?
–केही साथीहरुले कोठे बैठक गरेर संगठन बनाइँदैमा त्यो आधिकारिक हुन्छ भन्ने होइन। आधिकारिकता के हो र कस्तो हुन्छ भन्ने कुरा हामीले विभिन्न फोरमहरुमा राखिसकेका छौँ। म अझ पनि प्रष्ट पार्न चाहन्छु। हामी नेपाल प्राध्यापक संघको अनुमति र निर्देशन अनुसारमा संघ गठन गरेका हौँ। यसको गठन प्रक्रियामा संघका केन्द्रीय अध्यक्ष तथा दुई जना केन्द्रीय सदस्य, भीमदत्त नगरपालिका नगर प्रमुख एवं विश्वविद्यालयका सिनेटर सुरेन्द्र बिष्टलगायत जिल्लाका प्रमुख राजनीति दलका नेता गणहरुको उपस्थितिमा हाम्रो संघ गठन भएको हो। त्यसैले हामीले हाम्रो संघ आधिकारिक हो भनेर प्रचार गरिराख्नु पर्दैन।
विश्वविद्यालयका प्राध्यापकले भोग्नु परेका मुख्य समस्या के हुन्?
–अहिले प्राध्यापकहरुले भागिरहेको मुख्य समस्या के हो भने आङ्गीक क्याम्पस समायोजन भएको आठ महिना बितिसक्दा पनि त्यहाँ कार्यरत शिक्षक कर्मचारीले तलब खान पाएका छैनन्। तलब नपाएरै उहाँले काम गरिरहनु भएको छ। रकम एक दिन त अवश्य भुक्तानी हुन्छ होला। तर, केही साथीको तलबकै भरमा सबै कुरा गर्नुपर्ने भएकाले एक खालको त्यो समस्या छ। विश्वविद्यालयले जुन किसिमले अध्ययन अनुसन्धानका कार्यलाई अगाडि बढाउनु पर्थ्यो, त्यो हुन सकेको छैन।
सबैभन्दा पहिले म विश्वविद्यालयको प्राध्यापकको नेताभन्दा पनि विश्वविद्यालयको प्राध्यापक हुँ। मेरो पहिलो जिम्मेवारी अध्यापन हो। यससँगै अहिले मैले जुन जिम्मेवारी पाएको छु, त्यसका लागि पनि मेरो क्षमता भ्याएसम्म काम गर्छु।
त्यसका लागि अनुसन्धान परिषद, पाठ्यक्रम विकास केन्द्रको व्यवस्थित गरेर गतिशीलता दिनुपर्ने त्यो पनि हुन सकेको छैन। यी त आन्तरिक व्यस्थापकीय समस्या हुन्। त्यस्तै अन्य विकराल समस्या छन्। विश्विद्यालयका पदाधिकारी गैरजिम्मेवार भइदिँदा विश्वविद्यालय जुन गति लिनु पर्ने हो त्यसबाट विचलित भएको अवस्था छ। अहिले विश्विद्यालयको नेतृत्व नै परिर्वतनको प्रक्रियामा रहेकाले अबको दिन विश्वविद्यालय चाँडै नै सुधारको बाटो जान्छ भन्नेमा हामी विश्वस्त छौं।
प्राध्यापकहरु विश्वविद्यालयभन्दा पनि निजी क्षेत्रमा बढी क्रियाशील हुने र राजनीति गतिविधिमा संलग्न हुन्छन् नि?
–अहिलेको विद्यमान अवस्थामा महँगीबृद्धि धेरै भइरहेको छ। त्यसले प्राध्यापकहरुको सामान्य जीवनयापन गर्न गाह्रो भइरहेको स्थिति छ। हामीले भनेका छौँ, यदि हाम्रो पेसाको प्रतिष्ठा जोगाउने हो भने विश्वविद्यालयमा अतिरिक्त भुक्तानीको व्यवस्था गरिनु पर्छ। एकातर्फ विश्विद्यालयमै कार्यरत हुँदा ६० प्रतिशतको बार लाग्ने, उहाँहरुले काम गरेका भुक्तानी नपाउने र बाहिर पनि अध्यापन गराउन नपाउने। तर, विश्वविद्यालयको ऐनमा विश्वविद्यालयबाट स्वीकृति लिएर मात्रै बाहिर पढाउने व्यवस्था गरिएको छ। मलाई लाग्छ, ऐन विपरीत साथीहरुले काम गरेर गरिरहनु भएको छैन।
विश्वविद्यालय राजनीति मात्रै हुन्छ, पढाई हुँदैन। सुप विश्वविद्यालयमा विकास भइरहेको यो अवस्थामा जिम्मेवार को हुने?
–भनाइ छ नि, संसारलाई सुधार गर्नु छ भने सुरुआत आफूबाट गर्नुपर्छ। हो, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय राजनीति अखडा मात्रै भयो। पढाई हुँदैन, राजनीति हावी हुन्छ भनेर बाहिर व्यापक हल्ला चाँहि फैलिएको छ। विश्वविद्यालयमा राजनीति हुन्छ, त्यहाँ विभिन्न राजनीतिक दलका भातृ संगठनहरु क्रियाशील हुन्छन्। तिनीहरुले पनि विद्यार्थीको हकहितमा काम गरिहेका हुन्छन्। र, पछिल्लो समयमा विश्वविद्यालय तालाबन्दी भइरहँदा पठानपाठनमा कुनै पनि किसिमको अवरोध भएको देखिँदैन।
साथीहरुले नियमित पढाइरहनु भएको छ। र, विद्यार्थी भाइबहिनीहरुले पनि त्यो वातावरण पाइरहेका छन्। तालाबन्दी हुँदा पनि पठनपाठनमा कुनै बाधा हुँदैन। विश्वविद्यालय राजनीतिक थलो होइन, यसलाई राजनीतिक अखडा बनाउनु हुँदैन। अध्ययन, अध्यापन कार्यहरु निरन्तर सञ्चालन गरि देशलाई चाहिएको उर्जाशील दक्ष जनशक्ति उत्पादन गर्ने दिशातर्फ अग्रसर हुनुपर्छ। त्यसैअनुसार संघले आफ्नो गतिविधिका अगाडि बढाउँछ।
तपाईं प्राध्यापकहरुको नेता, यसले मुख्य जिम्मेवारीमा असर पर्दैन? कसरी व्यवस्थापन गर्नु हुन्छ?
–सबैभन्दा पहिले म विश्वविद्यालयको प्राध्यापकको नेताभन्दा पनि विश्वविद्यालयको प्राध्यापक हुँ। मेरो पहिलो जिम्मेवारी अध्यापन हो। यससँगै अहिले मैले जुन जिम्मेवारी पाएको छु, त्यसका लागि पनि मेरो क्षमता भ्याएसम्म काम गर्छु।
तपाईंको प्राज्ञीक जीवनबारे बताइनुस् न?
–म पहिले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय बन्नुभन्दा पूर्वको सिद्धनाथ बहुमुखी क्याम्पसको विद्यार्थी हुँ। २०५४ सालको त्यति बेलाको पीसीएल लेभल त्यही क्याम्पसबाट गरे। त्यसपछि मेरो ब्याचलर र मास्टर काठमाडौँ मीनभवनबाट हो। सुरुबाट नै मेरो रुचिको विषय प्राध्यापन भएकाले आफ्नै जन्मथलोमा केही गर्नु पर्छ भन्ने भावनाकासाथ म अध्ययन सकेर महेन्द्रनगर आए। यद्यपि, मेरो जन्मभूमि डडेल्धुरा हो। डडेल्धुरामा प्राध्यापन त्यति व्यवस्थित नभएकाले मैले कञ्चनपुरमै बसेर विद्यार्थी जीवन व्यतित गरेको हुनुले यही काम गर्ने मनसाय बन्यो।
२०६४ सालमा जनज्योती बहुमुखी क्याम्पसमा उपप्राध्यापकको रुपमा नियुत्त भए। र, त्यही वर्ष सिद्धनाथ विज्ञान क्याम्पसमा पार्ट टाइम शिक्षकको रुपमा काम गर्ने अवसर पाए। त्यसपछि म अहिले निरन्तर रुपमा हालसम्म अध्यापन गरिरहेको छु। बीचमा सञ्चालक समितिको निर्णयअनुसार लामो समय योगदान गरेका शिक्षकलाई पुर्णकालिन सेवारत बनाउने व्यवस्था गरियो। विश्वविद्यालयले सिद्धनाथ क्याम्पसलाई आफ्नो मातहतमा लिने क्रममा त्यहाँको जनशक्ति र भौतिक श्रोत साधन जे—जस्तो अवस्थामा छ, त्यही अवस्थामा अधिग्रहण गर्यो। तत्कालिन रुपमा सिद्धनाथका कार्यरत शिक्षक साथीहरुको सेवा आयोगमार्फत परिक्षा लिइयो। म पनि त्यही परीक्षा उत्तीर्ण गरेर अहिले विश्वविद्यालयमा स्थायी उपप्राध्यापकको रुपमा कार्यरत छु।