काठमाडौं । नेपालको अन्न भण्डारका रूपमा चिनिने मधेस प्रदेशलगायतका क्षेत्रमा यस वर्ष मनसुन प्रतिकूल नहुँदा धान रोपाइँ गम्भीर रूपमा प्रभावित भएको छ। मधेस प्रदेश सरकारको सिफारिसमा सङ्घको मन्त्रिपरिषद्ले उक्त प्रदेशलाई तीन महिनाका विपद् सङ्टग्रस्त क्षेत्र घोषणा गरिसकेको छ।
यता सरोकारवालहरूले धान उत्पादनमा नै ह्रास आउन सक्ने भन्दै चिन्ता जनाएका छन्। मधेस प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म मधेस प्रदेशमा जम्मा ४७ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृृषि विभागका अनुसार गत वर्ष यही समयमा मधेसमा करिब ८० दशमलव छ प्रतिशत रोेपाइँ सम्पन्न भइसकेको थियो। यस प्रदेशमा तीन लाख ७२ हजार ६४५ हेक्टरमा रोपाइँ हुने गर्छ। विभागका अनुसार साउन ४ गतेसम्म मुलुकभर ७२ दशमलव १४ प्रतिशत रोपाइँ भएको छ। गत वर्ष सोही अवधिमा ८४ दशमलव छ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो।
मधेस प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा सरोज चौधरीले वर्षा हुन नसक्दा धानको बीउ डढ्न थालेको, भइसकेको रोपाइँसमेत सिँचाइ नपाएर सुक्न थालेको बताए। “अहिले मधेसका फाँट हेर्दा सुक्खा देखिन्छन्, वर्षा नहुँदा आधा प्रतिशत पनि रोपाइँ सकिएको छैन”, उनले भने, “सुक्खाको समस्या कसरी सम्बोधन गर्न सकिन्छ भनेर प्रयास गरिरहेका छौँ।”
राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा. मथुरा यादवले साउनको २०-२२ गतेसम्म पनि राम्रो वर्षा हुन नसकेको खण्डमा उत्पादनमा १५ देखि २० प्रतिशत ह्रास आउने बताए। बालीविद् डा. डिल्लीराम शर्माले पनि मधेस क्षेत्र धान उत्पादनको हब नै रहेको भन्दै मधेसमा सुक्खाका कारण धानको उत्पादनमा असर पर्ने सम्भावना रहेको बताएका छन्।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत हावापानी विज्ञान महाशाखा (हावापानी विश्लेषण शाखा)को तथ्याङ्कानुसार मनसुन अवधिमा मुलुकभर एक हजार चार सय मिलीमिटर सरदर वर्षा हुने गरेकामा हालसम्म करिब पाँच सय मिलीमिटर अर्थात् मनसुन अवधिमा हुने वर्षाको ३४ दशमलव नौ प्रतिशत वर्षा भएको छ।
विभागले उपलब्ध गराएको जनकपुर, सिमरा, विराटनगर, पोखारालगायतका वर्षा मापन केन्द्रको तथ्याङ्क हेर्दा यी मापन केन्द्रमा औसतभन्दा कम वर्षा भएको छ।
जलस्रोत तथा सिँचाइ विभागको तथ्याङ्कानुसार करिब २५ लाख ३० हजार हेक्टर सिँचाइयोग्य जमिनमध्ये हालसम्म करिब १५ लाख हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउनेगरी सिँचाइको संरचना निर्माण गरिएको छ। तर करिब एकतिहाइ भूमिमा मात्र वर्षभरि सिँचाइ सुविधा उपलब्ध हुनसकेको तथ्याङ्कमा उल्लेख छ।