अभिनेत्री स्वस्तिमा खड्कालाई एउटा चलचित्रको मुख्य भूमिकामा अभिनय गर्ने अफर आयो । चलचित्रको नाम थियो, बुलबुल । उनले आफूले निर्वाह गर्नुपर्ने क्यारेक्टरबारे सोधिन् । भूमिका थियो, काठमाडौंकी टेम्पो चालकको ।
भूमिका सुन्नेबित्तिकै उनी अचम्ममा परिन् । अभिनय क्षमता देखेर प्रस्ताव आयो कि जिस्क्याउने तरिकाबाट भन्नेमा अन्योलमा परिन् । अन्नतः साँचिकैको भन्ने थाहा पाएपछि प्रस्ताव स्विकारिन् ।
निर्देशक विनोद पौडेलको प्रस्ताव स्विकारिन्, तर उनलाई प्रभावकारी ढंगमा क्यारेक्टरको भूमिका निर्वाह गर्न सक्छु जस्तो लागेन । उनले जीविकोपार्जनका लागि काठमाडौंमा टेप्पो चलाउने महिलाको अभिनय गर्नुपर्ने भयो । सुखैमा हुर्के बढेकी २३ वर्षीया स्वस्तिमाले ३० वर्ष हाराहारीकी संघर्षशील टेम्पो चालकको भूमिका निर्वाह गर्ने हिम्मत गरिन् ।
फोटोः श्रुति श्रेष्ठ/नेपाली पब्लिक
- उनी भन्छिन्, ‘बुलबुलको अभिनयले मलाई अहिलेसम्मकै सबैभन्दा सुखानुभूत भएको छ ।’
निकै अभ्यासपछि उनले उक्त चलचित्रमा अभिनय गरिन् । जुन चलचित्रले उनको उचाइलाई अझ उँचो बनायो । चलचित्रसँगै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पाइन् । बुलबुलको अभिनयले स्वास्तिमाको अभिनय जीवनलाई नै ‘यु–टर्न’ गरायो । उनी भन्छिन्, ‘बुलबुलको अभिनयले मलाई अहिलेसम्मकै सबैभन्दा सुखानुभूत भएको छ ।’
टेम्पो सिक्न तीन महिना
बुलबुलमा अभिनय गर्ने निधो भएपछि स्वस्तिमा टेप्पो सिक्न थालिन् । चलाउनसँगै चालक महिलाको हाउभाउ, जीवनशैली र मनस्थितिबारे पनि बुझ्नपर्ने चुनौती थियो उनलाई ।
उनी झिसमिसेमै उठेर रातोपुल, एयरपोर्टलगायत स्थानमा टेप्पो सिक्न पुग्थिन् । चलाउन सिकाउँथिन्, चालक उर्मिला थापाले । लामो समयदेखि टेप्पो चलाउँदै आएकी उर्मिलाले निकै चासो र मेहनतपूर्व स्वस्तिमालाई सिकाइन् ।
फोटोः श्रुति श्रेष्ठ/नेपाली पब्लिक
करिब तीन महिनाको अवधिमा उनले धेरै टेम्पो चालक महिलाको संगत गर्न पाइन् । जसले उनलाई चालक महिलाको मनस्थिति र जीवनशैली बुझ्न सहयोग गर्याे ।
‘त्यतिबेला अशिक्षित महिला पनि स्वाबलम्बी भएको देख्दा खुसी लाग्थ्यो,’ उनी भन्छिन्, ‘उनीहरुको संघर्षले मलाई थप उप्रेरणा मिल्यो ।’
- कोही श्रीमानले छाडेका, कोही श्रीमान् विदेश भएका । श्रीमान–श्रीमती नै टेम्पो चालक भएको पनि भेटिन्, उनले । उनलाई हरकथाले संघर्ष गर्न अभिप्रेरित गर्थ्याे ।
उनले टेप्पो चालक महिलाको फरक–फरक कथा पाइन् । कोही श्रीमानले छाडेका, कोही श्रीमान् विदेश भएका । श्रीमान–श्रीमती नै टेम्पो चालक भएको पनि भेटिन्, उनले । उनलाई हरकथाले संघर्ष गर्न अभिप्रेरित गर्थ्याे ।
सिकिसकेपछि करिब एक महिना टेम्पो चालक भएर काम गरिन् । मास्क लगायर टेम्पो चलाउने भएकाले खासैले चिन्दैनथे । उनले रत्नपार्क–पुरानो बानेश्वर–सिनामंगल रुटको टेम्पो चलाउँथिन् । ‘एक दिनमा ६ टिपसम्म भ्याउँथें,’ उनले भनिन् ।
फोटोः श्रुति श्रेष्ठ/नेपाली पब्लिक
यो अवधिमा उनले टेम्पो चालक महिलाले भोग्नुपर्ने हरसमस्या बुझिन् । पुरुष यात्रुले गर्ने व्यवहारदेखि यात्रु नपाउँदाको पीडालाई उनले नजिकबाट बुझिन् । चालक गीता दिदीको संगतले स्वस्तिमालाई झन् क्यारेक्टर बुझ्न र प्रभावकारी अभिनय गर्न सहयोग मिल्यो ।
तीन महिनाको सिकाइ र एक महिनाको अभ्यासपछि ‘बुलबुल’को सुटिङ भयो । सुटिङका क्रममा पनि उनले धेरै सिक्न–बुझ्न पाइन् । परिणामतः बुलबुल उन्नत चलचित्र बन्यो । लोकप्रिय भयो ।
संघर्षसँगै प्रेरणा
चलचित्रमा अभिनय गर्नका लागि टेम्पो चालक महिलाको संगत गरेकी स्वस्तिमाले जीवनकै लागि ठूलो पाठ सिकिन् । टेम्पो चालक महिलालाई हेर्ने दृष्ट्रिकोण नै बदलियो ।
फोटोः श्रुति श्रेष्ठ/नेपाली पब्लिक
‘शिक्षाको अवसर नपाएका संघर्षशील महिलाका लागि यो पेसा उत्तम रहेछ,’ टेम्पो चालक महिलालाई हेर्ने आमनजर सकारात्मक नभएकोप्रति दुःख व्यक्त गर्दै स्वस्तिमा भन्छिन्, ‘दुःख, चुनौती र संघर्षबीच अघि बढिरहेका महिलाको जीवनबाट धेरै शिक्षा पाएँ ।’
- जबसम्म श्रमको सम्मान हुँदैन तबसम्म समृद्ध समाज बन्न सक्दैन ।
नेपालमा श्रमलाई सम्मान गर्ने संस्कार नभएकोप्रति स्वस्तिमाको चित्त दुखेको छ । ‘श्रम गर्नेको भन्दा चोर्नेलाई इज्जत गर्ने समाज छ हाम्रो,’ उनी भन्छिन्, ‘जबसम्म श्रमको सम्मान हुँदैन तबसम्म समृद्ध समाज बन्न सक्दैन ।’
‘सम्मानले जिम्मेवार बनायो’
बुलबुलको उत्कृष्ट अभिनयले स्वास्तिमाले दर्जनभन्दा बढी सम्मान तथा पुरस्कार दिलायो ।
उनले उक्त अभिनयकै कारण उनले श्रीलंकामा भएको सार्क फिल्मस् फेस्टिभलमा ‘पर्फमेन्स अफ द इयर’को उपाधि पाइन् । जुन स्वस्तिमाको करियरको पहिलो अवार्ड थियो । ‘त्यो अवार्ड पाउँदाको खुसी शब्दमा व्यक्त गर्नै सक्दिनँ,’ उनले भनिन् ।
त्यसपछि उनले राष्ट्रिय चलचित्र पुरस्कार जितिन् । त्यस्तै उनले इमेज अवार्ड पनि हात पारिन् । यस्ता सम्मान तथा पुरस्कारले झन् बढी जिम्मेवार बनाएको उनले बताइन् ।