नेपाली क्रिकेट अहिले संकटको घडीबाट गुज्रीरहेको छ। क्यानको निलम्बनको फुकुवा भएपनि नेपाली क्रिकेटलाई विगत लामो समयदेखी विभिन्न समस्याहरुले गिजोलीरहेको छ। पछिल्ला श्रृखंलाहरुमा नेपाली क्रिकेट टिमको खस्किएको प्रदर्शनलगायतलाई समेटेर कुरा गर्ने हो भने क्रिकेटलाई लिएर खासै सन्तुष्ट हुने ठाँउ छैन्।
टिमको प्रदर्शनमा उतारचढाव हुनु खेलमा स्वभाविक नै भएपनि भौतिक संरचना, नितीलगायतका अन्य पाटोबाट केलाउँदा पनि क्रिकेटप्रेमीहरुले चित्त बुझाउन सक्ने अवस्था छैन्। नेपाली पब्लिक डट कमले अबको केहि समय ‘अपरेसन क्रिकेट’ मार्फत नेपाली क्रिकेटका विभिन्न पाटोहरुलाई श्रृखंलाबद्द रुपमा केलाउने छ। ‘अपरेसन क्रिकेट’ श्रृखंलाको भाग -१ मा सौरभ आचार्य लेख्छन्ः
भर्खरै सम्पन्न विश्व क्रिकेट लिग अन्तर्गतको एकदिवशिय खेलहरुमा कमजोर प्रदर्शन र त्यस लगत्तैको एसियन कपको लागि भएको पूर्वी एसियाली छनौट खेलको लज्जास्पद प्रर्दशन पछि नेपाली क्रिकेट यतिबेला गम्भिर समिक्षाको चर्चामा छ। यद्यपि नेपाली क्रिकेटको समिक्षाको बहस भने राष्ट्रिय टिमको कप्तान परिवर्तनमा मात्र सिमित देखिन्छ।
भर्खरै मात्र कप्तान परिवर्तन गरेको नेपाली क्रिकेट टिमले बारम्बार कप्तान परिवर्तनको गल्ती गर्न आवश्यक नै छैन। वर्तमान कप्तान ज्ञानेन्द्र मल्ल कुनै पनि अर्थमा कमजोर कप्तान भने होइनन्। कप्तानीको जिम्मेवारी पाउनु अगाडि निकै खराब प्रदर्शनबाट गुज्रिरहेका मल्ल कप्तानको भुमिकामा भने लयमा नै देखिएका छन्।
पूर्वकप्तान पारस खड्काको अनुपस्थितिमा नेपालको लागि राम्रो कप्तानी गरेर आफुलाई प्रमाणित गरिसकेका मल्ललाई दुई वटा प्रतियोगितामा भएको कमजोर प्रदर्शनको सजाय दिनु नेपाली क्रिकेटको लागि उपयुक्त हुदैन।
नेपाली क्रिकेटले पारसको अनुपस्थितिमा मात्र ज्ञानेन्द्रको कप्तानी देखेको हुनाले पारस सहितको नेपाली क्रिकेट टिममा ज्ञानेन्द्रको बलियो कप्तानीको आशा समग्र क्रिकेटप्रेमीहरुले गरेका थिए। तर खेलाडीको जिवनमा कहिलेकाँही खराब प्रदर्शनको आरम्भ नै लय बनीदिन्छ।
पछिल्लो चरणमा पोखरा प्रिमियर लिगबाट सुरु भएको पूर्वकप्तान पारस खड्काको खराब प्रदर्शन नेपाली राष्ट्रिय टोलीको पछिल्ला दुइ महत्वपूर्ण प्रतियोगिताहरुमा पनि कायम रहँदा नेपालले ति दुवै प्रतियोगिताहरुमा ठुलो क्षति बेहोर्न बाध्य भयो।
यसले नेपाली क्रिकेट एउटै खेलाडीमा कति निर्भर रहेछ भन्ने डरलाग्दो अवस्थाको पनि चित्रण गर्दछ। समग्र टिमको खराब प्रदर्शनको गल्ति कप्तानलाई मात्र आरोप लगाएर र कप्तान मात्र परिवर्तन गरेर सुधार हुन्छ भन्ने सोच्न थालियो भने नेपाली क्रिकेटले हरेक प्रतियोगितामा नयाँ कप्तान त प्राप्त गर्ला तर उपलब्धिको नयाँ उचाइ प्राप्त गर्न भने सम्भव हुने छैन।
क्रिकेटमा कप्तानको भुमिका नेतृत्वदायी हुन्छ भन्नेमा सायदै मतभिन्नता रहला तर सम्पुर्ण जिम्मेवारी कप्तानमा मात्र सिमित भने रहदैन। क्रिकेट टिम बलियो हुन खेलाडी र कप्तान मात्र उत्कृष्ट भएर पुग्दैन, उत्कृष्ट प्रशिक्षकको पनि उत्तिकै आवश्यकता रहन्छ। उत्कृष्ट प्रशिक्षकको राम्रो प्रशिक्षण पाएका उत्कृष्ट खेलाडीहरु उत्कृष्ट कप्तानको नेतृत्वमा मैदान ओर्लेपछि मात्र एउटा क्रिकेट टिमले उत्कृष्ट खेल प्रदर्शन गर्न सक्षम हुन्छ।
पछिल्लो चरणमा नेपाली क्रिकेटले गरेको सबैभन्दा ठुलो गल्ती नै प्रशिक्षक चयन हो भन्न सकिन्छ।
नेपाली क्रिकेटलाई एउटा नयाँ उचाइ दिने प्रशिक्षकको नाम लिदै गर्दा जो कोहीले पनि नेपाली क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दाशानायकेको नाम लिने गर्दछन्। चार वर्ष नेपाली क्रिकेट टोलीको प्रमुख प्रशिक्षक बनेका दाशानायकेले सन् २०११ मा त्रिभुवन विमानस्थलमा अवतरण गर्दा नै आफ्नो कार्यकालमा नेपाललाई विश्वकप पुर्याउने वाचा गरेका थिए। सन् २०१४ को टि ट्वेन्टि विश्वकपको पहिलो चरणमा नेपाली टीमको मनै लोभ्याउने प्रदर्शनले बंग्लादेशबाट फर्केका दाशानायके आफ्नो वाचा पुरा गर्न सफल भएको पुष्टि हुन्छ। यसैकारण पनि नेपाली क्रिकेटप्रमीहरुको नजरमा दाशानायके नेपालको सफल प्रशिक्षकको रुपमा चिनिने गर्दछन्।
दाशानायकेको सफलता नेपाली क्रिकेट इतिहासकै सबैभन्दा महत्वपूर्ण प्रशिक्षक रोय लुक डायससँग जोडिएको छ। नेपाली क्रिकेट टोलीलाई करिब नौ वर्ष प्रशिक्षण गरेका रोय लुक डायस नै वास्तवमा नेपाली क्रिकेटको सुनौलो भविष्यको जन्मदाता हुन्।
एकै उमेर समुहबाट राष्ट्रिय टिममा आएका खेलाडीहरुलाई लगातार प्रशिक्षण दिएर डायसले निर्माण गरेको त्यो सुन्दर खेलाडीहरुको समुहलाई प्रशिक्षक पुबुदु दाशानायकेले सोही अनुसारको प्रशिक्षण र रणनितीमा अगाडी बढाएपछि नेपाली क्रिकेटले आफ्नो स्वर्णिम समय देखेको थियो।
डायसले त्यति मेहनत नगरेको भए नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्न लगभग असंभव नै थियो। यसबाट टिम निर्माणमा प्रशिक्षकको भुमिका सबैभन्दा महत्वपूर्ण रहने गर्दछ भन्ने प्रमाणित हुन्छ।
नेपाल क्रिकेट संघले पछिल्लो चरणमा राष्ट्रिय टिमका लागि विदेशी प्रशिक्षकमा मात्र ध्यान दिएको पाइन्छ । विदेशी प्रशिक्षकको अभावमा राष्ट्रिय खेलकुद परिषद (राखेप)मा कार्यरत प्रशिक्षकलाई नै राष्ट्रिय टिमको प्रशिक्षणको जिम्मेवारी दिने गरेको छ। अन्तराष्ट्रिय अनुभव सम्हालीसकेका कुनै पनि नेपाली पूर्व खेलाडीहरुले प्रशिक्षकको जिम्मेवारी नपाउनु नेपाली क्रिकेटका लागि दुखद पक्ष हो। यसबाट नेपाली क्रिकेट पूर्व खेलाडीहरुको अनुभव तथा प्रशिक्षणको अभावमा गुज्रिरहेको छ।
३५ वर्षको उमेरमा नै राखेपको प्रशिक्षकमा नियुक्त भइसक्नुपर्ने बाध्यकारी नियमका कारण पूर्व खेलाडीहरु प्रशिक्षकको रुपमा अटाउन सकेका छैनन्।
आफ्नो खेलजिवन त्यागेर प्रशिक्षक बन्न सायद कुनै पनि खेलाडी तयार हुदैनन् र हुनुहुदैन पनि। राखेपको ३५ वर्षे उमेरहदको व्यवस्था परिवर्तन गर्दै पूर्व खेलाडीहरुलाई प्रशिक्षकको रुपमा कार्य गर्ने अवसर प्रदान गर्न आवश्यक छ। तर यसतर्फ न राष्ट्रिय खेलकुद परिषदले ध्यान दिएको छ न त नेपाल क्रिकेट संघले नै। जसका कारण राम्रो प्रशिक्षकको सम्भावना बोकेका पूर्व खेलाडीहरु जिल्ला क्रिकेटको नेतृत्वमा नै सिमित बन्न पुगेका छन्।
अर्कोतर्फ, प्रशासनिक कार्यको बोझमा पूर्व खेलाडीहरुबाट राम्रो प्रशिक्षण कार्य पनि सम्पन्न हुन सकिरहेको छैन। प्रशिक्षणको भुमिका नपाएका वा प्रशासनिक भुमिकामा सिमित पूर्व राष्ट्रिय खेलाडीहरुलाई धेरै भन्दा धेरै प्रशिक्षणका लागि प्रयोग नगर्ने हो भने नेपाली क्रिकेटले आवश्यक मात्रामा उपलब्धी हासिल गर्नै सक्दैन।
बालबालिका तहको लागि सुरु गर्नुपर्ने विद्यालय क्रिकेटबाट नै पूर्व खेलाडीहरुलाई प्रशिक्षकको रुममा प्रयोग गरिनुपर्दछ। जसको व्यस्थापन राष्ट्रिय खेलकुद परिषद र नेपाल क्रिकेट संघले गर्न आवश्यक छ। राम्रो प्रशिक्षण बिनास्तरिय खेलाडी उत्पादन गर्न कठिन मात्र होइन, असम्भव नै छ।
नेपाली राष्ट्रिय टिमका पूर्व स्टार खेलाडीहरु समेत केही सिमित टि ट्वेन्टि फ्रेन्चाइज प्रतियोगिताहरुमा वा केही क्रिकेट एकेडेमीमा अतिथि प्रशिक्षकको रुपमा सिमित रहँदा राम्रो सम्भावना बोकेका खेलाडीहरुले आवश्यक र स्तरिय प्रशिक्षण पाइरहेका छैनन्। नेपाली क्रिकेटको गम्भिर समिक्षाको यस चरणमा नेपाल क्रिकेट संघले पूर्व राष्ट्रिय क्रिकेट खेलाडीहरुको अनुभवको प्रयोग गर्न उनीहरुलाई धेरै भन्दा धेरै प्रशिक्षणमा केन्द्रित बनाउने निती लिनै पर्छ।
जसरी रोय लुक डायसले तयार पारेका सुन्दर खेलाडीहरुलाई प्रयोग गरेर पुबुदु दाशानायकेले नेपाली क्रिकेटमा एउटा स्वर्णिम समय ल्याए त्यसरी नै पूर्व खेलाडीहरुको प्रशिक्षणमा निरन्तर अभ्यास गरिरहने खेलाडीहरुलाई एक उत्कृष्ट प्रशिक्षकले राष्ट्रिय टिममासम्हाल्न पाए नेपाली क्रिकेटले एक उत्कृष्ट राष्ट्रिय टोली पाउने निश्चित छ।
विदेशी प्रशिक्षकको खोजीमा केन्द्रित देखिएको क्यानले घरेलु क्रिकेटको प्रशिक्षणमा आफुलाई अब्बल सावित गरिसकेका पूर्व राष्ट्रिय खेलाडीहरु माथि अन्याय भने गर्नु हुदैन।
विदेशी प्रशिक्षकले मात्र नेपाली राष्ट्रिय क्रिकेट टोलीको भविष्य परिवर्तन गर्न सक्छन् भनेर सोच्नु भ्रम मात्रै पनि हुन सक्छ। विदेशी प्रशिक्षक भन्दापनि नेपाली क्रिकेट टोलीलाई यतिबेला नेपाली क्रिकेटको वर्तमान अवस्था र नेपाली क्रिकेटसँग जोडिएका सपना बुझेको प्रशिक्षकको खाँचो छ।
भारतिय क्रिकेट इतिहासमा तत्कालिन सफल कप्तान सौरभ गांगुली र तत्कालिन भारतिय प्रशिक्षक ग्रेग च्यापलविचको असमझदारीबाट भारतिय क्रिकेटले भोगेको नियतीबाट नेपाल क्रिकेट संघले पाठ सिक्न जरुरी छ। विदेशी प्रशिक्षक भन्दा नेपाली पूर्व राष्ट्रिय खेलाडीहरुको प्रशिक्षणमा विभिन्न उपाधी जितेको अर्को खेल फुटबलबाट पनि नेपाल क्रिकेट संघले सिक्न सक्ने ठाउँ प्रशस्तै देखिन्छ।
पछिल्लो चरणमा सिमित मात्रामा सञ्चालित नेपाली घरेलु क्रिकेट प्रतियोगितामा आफुले सम्हालेको टोलीलाई धेरै खेलमा फाइनलसम्म पुर्याउन सफल मनोज कटुवालहरु विदेशी प्रशिक्षकहरु भन्दा पनि महत्वपूर्ण सावित हुन सक्दछन्। समय समयमा ड्रेसिङरुम भित्र खेलाडीहरुमा केहि विवाद अवश्य देखा पर्न सक्छन्। त्यस्ता विवादहरु कुनै विदेशी प्रशिक्षकले भन्दा नेपाली प्रशिक्षकहरुले सहजै समाधान गर्न सक्छन्।
नेपाली टिमभित्रको विवादको रुपमा तत्कालिन कप्तान पारस खड्का र सन्दिप लामिछानेविचको सामाजिक सञ्जाल विवाद यसको पछिल्लो उदाहरण हुन सक्दछ। पारस र सन्दिपविचको जस्तै सामाजिक सञ्जालको विवाद सन् २०१९ को एकदिवशिय क्रिकेट विश्वकप लगत्तै भारतिय क्रिकेटमा पनि देखा परेको थियो।
टिमका उपकप्तान रोहित शर्मा र टिम कप्तान विराट कोहली विच देखिएको उक्त विवादमा यदि कुनै विदेशी प्रशिक्षकको उपस्थिति थियो भने त्यसले गांगुली–च्यापल जस्तै रुप लिन सक्ने थियो तर भारतिय पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक रवि शास्त्रीको उपस्थितिको कारण उक्त विवाद लामो समय रहेन। जसले भारतिय क्रिकेटलाई सम्भावित दुर्घटनाबाट बचाएको थियो।
यता सन्दिप–पारस विवाद उत्तिकै कायम रहनुले खेलाडीहरुलाई बुझ्ने र बुझाउन सक्ने प्रशिक्षकको खाँचो स्पस्ट महशुष हुन्छ।
त्यस्तै भुमिकाविहिन बनेका पूर्व राष्ट्रिय खेलाडीहरुलाई छनौट समितिको जिम्मेवारी पनि दिइनु पर्दछ। क्रिकेटको लामो अन्तराष्ट्रिय अनुभव बोकेका खेलाडीहरुले प्रतियोगिताको आवश्यकता, विपक्षीहरुको मुल्याङ्कन, मैदानको अवस्था र खेलाडीहरुको हालसालैको प्रदर्शनको आधारमा एउटा बलियो टिमको छनौट गर्न सक्दछन्।
राष्ट्रिय टिमको अन्य जिम्मेवारीहरुमा पनि पूर्व खेलाडीहरुको सहभागिता बढाउदै लैजानु पर्दछ । यस्तै स्टार खेलाडीहरुको म्यानेजरको रुपमा कार्यरत खेलाडीका एजेन्टहरुलाई राष्ट्रिय टोलीहरुबाट निकै परको दुरीमा राख्नु पर्दछ। ड्रेसिङ रुमभित्र खेलाडीहरु विच हुने विवाद खेलाडीहरुका आफन्त, नजिकका व्यक्ति वा खेलाडीका एजेन्टहरुबाट सुरु हुने गर्दछ।
वर्तमान समयमा नेपाली राष्ट्रिय टिमका प्रशिक्षक लगायत विभिन्न भुमिकामा कार्यरतहरुलाई धन्यवाद दिदै विदाई गर्ने र पूर्व राष्ट्रिय खेलाडीहरुको सहभागिता बढाउदै लैजानु आजको नेपाली क्रिकेटको आवश्यकता हो।
कप्तान मात्र परिवर्तन गर्ने समिक्षामा नेपाल क्रिकेट संघ सिमित भयो भने नेपाली क्रिकेटले उपाधी भन्दा कप्तानको मात्र संख्या बढाउनेमा दुइमत छैन। यस्तो प्रवृत्तिले न त खेलाडीको मनोबल बढाउँछ न त क्रिकेटको भविस्यमा नै योगदान पुर्याउनेछ।