काठमाडौं– समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबिच एकीकरणका लागि पटक पटक छलफल भए पनि सार्थक परिणाम हासिल हुन सकेको छैन। राष्ट्रिय सभाको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग नजिकिएको राष्ट्रिय जनता पार्टी नेपालभित्र सरकारमा जान नहुने भन्ने लाइन हाबी हुँदै गएको छ।
पार्टीभित्र समाजवादीसँगको एकीकरणलाई प्राथमिकता दिने कि केपी ओली नेतृत्वको सरकारमा जाने भन्ने विषयमा दुई धार छ। तर केही दिनयता समाजवादीसँगको एकीकरणलाई प्राथमिकता दिनुपर्छ भन्ने धार बलियो हुँदै गएको छ। यद्यपि सरकारमा जाने लाइन बोकेका नेताहरू अहिले पनि आफ्नो माग सम्बोधन भए सरकारमा जान सकिने अभिव्यक्ति दिएका छन्।
तर राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव भने सरकारमा जाने लाइनमा लचिलो थिए। यसैबीच राजपा अध्यक्षमण्डलका ६ मध्ये ४ अध्यक्ष महतो, महेन्द्र भण्डारी र राजकिशोर विभिन्न बाहनामा भारत भ्रमणमा गए। त्यहाँ केही भारतीय नेताहरूसँग भेटघाट पनि गरे।
भारत भ्रमण गएका सबै नेताहरू स्वदेश फर्किसकेका छन्। ‘अहिले सरकारमा नजाने लाइन हाबी हुँदै गएको छ,’ राजपाका एक पदाधिकारीले भने। एकीकरणका लागि लगभग धेरै कुरा मिलिसकेको भन्दै उनले नमिलेको कुरामा छलफल गरेर चाँडै टुङ्गो लगाउन प्रस्ताव गरेका थिए।
राजपा नेपालका नेताहरुले भने एकीकरण कहिले र कसरी गर्ने भन्नेबारे स्पष्ट जवाफ दिएका छैनन्। यता, सरकारमा नजान पार्टी नेतृत्वमाथि विभिन्न तहबाट दबाब पनि बढ्दै गएको छ। पार्टीका दोस्रो तहका नेताहरूले विभिन्न माध्यमबाट सरकारमा नजान पार्टी नेतृत्वलाई दबाब दिँदै आएका छन्।
केही दिनअघि वरिष्ठ उपाध्यक्ष बिर्खेशचन्द्र लाललगायतका ७ जना पदाधिकारीले अध्यक्षमण्डलका संयोजकलाई ध्यानाकर्षण चिठी लेखी यही स्थितिमा सरकारमा नजान दबाब दिएका थिए। त्यो मात्रै नभई राजपाका केही जिल्ला अध्यक्षहरूले संयुक्त विज्ञप्ति निकाली सरकारमा नजान पार्टी नेतृत्वलाई सुझाए। भारत भ्रमणपछि जिल्ला गएका नेताहरूलाई त्यहाँका कार्यकर्ताले पनि यथास्थितिमा सरकारमा नजान सुझाव दिए। ‘यही स्थितिमा हामी सरकारमा जान्नौ।
राजपा नेपालबाट वार्ता समितिका संयोजक राजेन्द्र महतो नै एकता प्रक्रियाका लागि अहिले सक्रिय छैनन्। यसअघि एकीकरणका लागि उनी नै सबैभन्दा बढी सक्रिय थिए। राजपा नेपालका अध्यक्षमण्डलका संयोजकको नाताले महेन्द्र राय यादव एकता प्रक्रियाका लागि सक्रिय रहे पनि अन्य नेताहरुले उनलाई साथ दिएका छैनन्। संयोजक यादव र समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच नियमित छलफल भइरहेको बताइन्छ।
उनले भने, ‘मधेशी जनताको म्याण्डेट नै दुई दलबीच एकीकरण हुनुपर्ने हो, मधेशी जनताको दवावमा जसरी पनि एकीकरण हुन्छ।’ केही दिनमै औचपारिक कुराकानी हुने उनको भनाइ छ। यता नेकपाले राजपासँग उपसभामुख पद लिए प्रदेश दुई सरकार फेर्नुपर्ने सर्त राखेको छ। ‘नेकपाको सर्तमा राजपाका नेताहरू पहिले केही लचिलो देखिए पनि हाल उक्त लाइनमा सहमत भएको देखिन्न,’ राजपाका अर्का एक पदाधिकारीले भने, ‘राजपा तत्काल प्रदेश २ सरकारको समीकरण फेर्ने पक्षमा छैन।’