एजेन्सी– भारतीय अन्तरिक्ष अनुसंन्धान संगठन इसरोले सञ्चार उपग्रह (स्याटेलाइट) जीस्याट–३० को सफलतापुर्वक लन्च गरेको छ। इसरोको जीस्याट–३० लाई यूरोपियन हेबी रकेट एरियन–५ बाट शुक्रवार बिहान २:३५ मा फ्रान्सको फ्रेंन्च गुएना स्थित कोरोउ टापुबाट लन्च गरिएकाे हो।
भारतीय स्पेस एजेन्सी इसरोको सन् २०२० को पहिलो मिशनकाे रूपमा लन्च गरिएकाे जीस्याट–३० एक सञ्चार उपग्रह हो। इसरोका अनुसार यसले पुरानो इनस्याट–४ ए स्याटेलाइटको ठाउँमा काम गर्नेछ। इनस्याट–४ ए को समय पुरा भएको थियो भने इन्टरनेट टेक्नोलोजीमा तिब्रता आइरहेकोले अधिक शक्तिशाली स्याटेलाइटको आवश्यक्ता रहेको बेला इसरोले जीस्याट–३० लाई लन्च गरेको हो।
जीस्याट–३० काे लन्चपछि भारतको सञ्चार व्यवस्था अझ थप मजबुत हुने छ। यसको मद्दतले भारतमा नयाँ इन्टरनेट टेक्नोलोजीकाे जन्म हुने आशा समेत गरिएको छ। यसका साथै जीस्याट–३० को मदतले भारतको सञ्चार प्रणाली, टेलीभिजन प्रसारण, स्याटेलाइटमार्फत समाचार व्यवस्थापन, समाजको लागी काम आउने जियोस्पेशियल सुविधाहरु, मौसम सम्बन्धि जानकारी र भविष्यवाणी, प्राकृतिक विपत्तिको पुर्व जानकारी लगायत अन्य विभिन्न कामहरुमा प्रयोग हुने बताईएको छ।
जीस्याट–३० जीस्याट सीरीजको अधिक शक्तिशाली सञ्चार उपग्रह हो जसको मद्दतले पुरा भारतको सञ्चार प्रणालीमा अझ सुधार हुनेछ। यसै स्याटेलाइटको मद्दतले भारतमा ५ जी सेवाको शुरुवात गरिने र मोबाइल सेवा नपुगेकाे ठाउँहरूमा पनि मोबाइल टेक्नोलोजी विस्तार गरिने बताईएको छ।
इसरोकाेअनुसार जीस्याट–३०ले १५ वर्षसम्म पृथ्वि माथीबाट भारतको लागी काम गर्नेछ। यसलाई जियो–इलिप्टिकल अर्बिटमा स्थापित गरिनेछ। यसमा दुई सोलार प्यानल र ब्याट्री रहेको छ, जसबाट यसले उर्जा प्राप्त गर्नेछ। हाल जीस्याट सीरीजको १४ वटा स्याटेलाइटले काम गरिरहेको छ। यसैको भरमा भारतको सञ्चार व्यवस्था कायम रहेको छ।