काठमाडौं – टाइफाइडलाई नेपालीमा म्यादी ज्वरो पनि भनिन्छ। साल्मोनेला टाइफी वा साल्मोनेला प्याराटाइफी वा साल्मोनेला इन्टेरिका प्रजातिका ब्याक्टेरियाको संक्रमणका कारण लाग्ने ज्वरो लाई नै टाइफाइड भनिएको हाे। यो आन्द्रा मा लाग्ने एक प्रकार को सरुवा रोग हो।
कसरी लाग्छ टाइफाइड ?
साल्मोनेला टाइफी वा साल्मोनेला प्याराटाइफी भएको खानेकुरा खाँदा दूषित पानी पिउँदा वा टाइफाइडको रोगीको संसर्गमा आउँदा ती ब्याक्टेरियाहरु स्वस्थ मानिसको शरीर मा पस्दछन्।
सानो आन्द्रा को भित्ता बाट भित्र छिरेर १ देखि ३ सातासम्म बस्छन्। तेसपछि रगतमा मिसिन्छन् र सेता रक्तकोषलाई क्षति पुर्याउँछन् ।अनि संक्रमित व्यक्तिमा टाइफाइडको तिब्र प्रकोप देखिन थाल्छ।
लक्षणहरुः
–टाइफाइड लागेको बेलामा प्रायजसो बिस्तारै बढ्दै जाने खालको उच्च ज्वरो (१०४।५ डिग्री फरेनहाइट सम्म) देखिने गर्दछ।
–साल्मोनेला टाइफीको सङ्क्रमण भएको छ भने तीसदिन पछि मात्रै रोगका लक्षणहरू देखिन्छन्।
–टाउको दुख्ने पसिना आउने तथा खान अरुचि हुनेगर्छ।
–कमजोरी हुने, पेट दुख्ने, कब्जियत हुने तथा टाउको दुख्ने
–टाइफाइडका केही रोगीहरूको छालामा गुलाबी रङ्गको दाग देखापर्ने गर्दछ।
उपचार विधिः
टाइफाइडको उपचारमा एन्टिबायोटिकसँगै ज्वरो घटाउने औषधिको प्रयोग गरिन्छ। शुरूशुरुमा टाइफाइडको उपचारका लागि क्लोरेम्फेनिकल प्रयोग गर्ने गरिन्थ्यो। तर यो औषधीमा निकै साइडइफेक्ट देखिएकाले यसको प्रयोग कम हुँदै गयो।
यो रोगको उपचारका लागि सिप्रोफ्लोक्ज्यासिन, अजिथ्रोमाइसिन, फ्लुरोक्विनोलोन वा तेस्रो पुस्ताको सेफालोस्पिरिन जस्ता एन्टिबायोटिक औषधिहरूको प्रयोग गरिन्छ।
रगत को कल्चर गरेर बिरामीलाई उपयुक्त हुने एन्टिबायोटिकको छनौट गर्नु राम्रो हुन्छ। एन्टिबायोटिक खान थालेको दुई दिनपछि बिरामीलाई हलुका राहतको अनुभव हुन्छ। टाइफाइडका बिरामीहरुले साह्रो खानेकुरा खानु हुँदैन। तरलपदार्थ पिउने तथा नरम खानेकुरा खाने गर्नुपर्छ।टाइफाइडको कीटाणुमा एन्टिबायोटिक औषधिप्रति प्रतिरोध क्षमता विकसित भएको पाइएको छ।
रोकथामका उपायः
टाइफाइड बिरुद्ध खोपको निर्माण भइसकेको छ। यो खोप लगाएर दुई वर्षसम्म ३० देखि ७० प्रतिशतसम्म रोग लाग्नबाट बच्न सकिन्छ। यो खोप लगाउनु बुद्धिमानी खोपको प्रभावकारिता सात वर्षसम्म केही अंश रहिरहन्छ। यो रोगबाट बच्न सफा खानेपानीको व्यवस्था, सरसफाई र साबुन पानीले राम्रोसँग हात धुने जस्ता कुराहरूमा ध्यान दिनु जरुरी हुन्छ।