काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक घुस प्रकरणमा मुछिएपछि उनीमाथि विशेष अदालतमा मुद्दा दर्ता भयो।
विशेष अदालतले ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा पाठकसँग ७८ लाख नै धरौटी मागेको थियो। पाठक मात्रै होइनन् पछिल्लो समय अख्तियारमा बसेर गएका कर्मचारी तथा प्रहरीहरू पनि धमाधम भ्रष्टचार काण्डमा नै मुछिन थालेका छन्। अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्नेत पनि अहिले सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानमा छन्।
अख्तियारमा बसेर गएका प्रमुख अधिकृत, प्रहरी र कानुनका उपसचिवसहित ६ जनाभन्दा बढी घुस प्रकरणमा मुछिएको पाइएको छ। केही त अख्तियारद्वारा नै रंगेहात पक्राउसमेत परेका छन्। अख्तियारमा लामो समय बसेर अन्यत्र सरुवा भएका कर्मचारी नै घुस काण्डमा मुछिन थालेपछि अख्तियारको स्वच्छतामाथि नै गम्भीर प्रश्न सिर्जना हुन थालेको छ।
यी घटनाले कतै अहिले पनि अख्तियारमा रहेका त्यस्तै, भ्रष्ट कर्मचारीले ‘बार्गे्िनङ’ गर्दै घुस त लिइरहेका छैनन् भन्ने आशंका सिर्जना गरिदिएको छ। यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन्।