एजेन्सी– चीनका चर्चित र्याप गायकहरुले केही समय यता राजनीतिक विषयवस्तु पनि समावेश गर्ने निर्णय गरे तर आश्चर्यजनक रुपमा तिनका गीत शक्तिको दमन विरुद्ध नभएर भिन्दै राष्ट्रियता झल्काउने किसिमका मात्र छन्।
वास्तवमा २०१५ मै चिनियाँ हिप–हप समुह ‘हाइअर ब्रदर्स’ ले गीतहरुलाई राजनीतिक रुप दिनुपर्दा अत्यन्तै सतर्कता अपनाउनुपर्ने कुरा सिकिसकेका छन्। त्यतिबेला यस समुहका र्यापर मेलोको गीतको बोल देशव्यापी विवाद बन्न पुगेको थियो। उनको गीत थियो, “म कहिल्यै राजनीतिक हिप–हप लेख्दिनँ। तर कुनै नेताले मेरो मुख बन्द गर्ने प्रयास गरेमा म तिनको टाउको काटेर शवको खुट्टामा राखिदिनेछु।’ यसलगत्तै उनी राष्ट्रिय बहसको विषय बनेका हुन् भने सरकारी निकायले उनको गीतमाथि सेन्सर लगाउनुका साथै उनलाई सोधपुछका लागि समेत बोलाएको थियो। अमेरिकाको उबर कम्पनी विरुद्धको सो गीतमा उनले त्यस्तो र्याप गाएका थिए। यस्तोमा सार्वजानिक निकायहरुले उनलाई ‘यसपटक त हामीले उबरमाथि मात्र अनुसन्धान गरेका छौँ तर अर्कोपटक त्यसका ठाउँमा तिमी जेलमा पर्नेछौ’ भनि छाडेका हुन्।
त्यसपछि हाइअर ब्रदर्स चीनमा र देश बाहिर समेत अत्यन्तै सफल भए किनकी सो घटना पश्चात् उनीहरुले आफूलाई राजनीतिबाट धेरै टाढा राख्दै आएका छन्। तर जहाँ अमेरिकी हिपहपलाई परम्परावाद र जातिय विरोधले परिभाषित गर्छ त्यहीँ चिनियाँ र्यापरहरुले चाहिँ आफ्ना गीतमा फरक किसिमको राष्ट्रवादी स्वर अपनाइरहेका छन्। जसको उदाहरण हो, चीन विरुद्ध भएका विवादहरुको प्रतिक्रियामा मेलोले आफ्नो सामाजिक संजाल अकाउन्टमा चीनको झण्डा राख्दै ‘मलाई फेरि पनि चिनियाँ भएकाप्रति गर्व छ’ लेखि पोस्ट गरेका हुन्।
त्यस्तै हङकङमा अवस्थित भएपनि अर्का चर्चित कलाकार ज्याक्सन वाङले हङकङ आन्दोलनको विषयमा आफू चीनकै पक्ष लिन समर्पित रहेको वेइबोमा घोषणा गरे। यस्तोमा पछिल्लो समय धेरै भन्दा धेरै र्यापर र गायकहरु चिनियाँ हुनुको अर्थ लगाउनमै जोड दिइरहेका छन्। कुनै समय चिनियाँ र्यापरका आवाजहरुले छुट्टै विचारधारा, अलग भूगोल र भिन्दै आर्थिक सामाजिक स्तरको प्रतिनिधि गर्थे तर अहिलेका युवाहरुले राष्ट्रियतालाई मात्र सफलताको श्रोतका रुपमा लिइरहेको पाइएको छ।
हिप–हप युवा पीढीहरुको आशा र सपनालाई प्रतिबिंबित गर्ने जिवित संस्कृति हो जुन विरोधाभास प्रवृत्तिको हुने गर्दछ। तर चीनले यसलाई उपयुक्त स्थान दिन सक्ने प्रति प्रश्न उठाइएको छ। यता कलाकारहरुलाई चाहिँ आफ्ना दर्शकलाई पर धकेल्नुको सट्टा कसरी एकजुट गराउने भन्नेबारे ठूलो चुनौती रहेको छ। बीबीसी