लमही– पछिल्लो समयमा खेतीका लागि कृषि उपकरणको प्रयोग हुन थालेको छ। गाउँघरमा गोरु तथा राँगाले खेत जोत्ने, धान दाइँ लगाउने चलन विस्तारै हराउँदै गएको छ। जिल्लामा पछिल्लो समय आधुनिक कृषि उपकरण भित्रिएसँगै खेतीपाती गर्न किसानलाई सहज भएको छ।
खेती लगाउनेदेखि स्याहार्नसमेत विभिन्न कृषि उपकरणको प्रयोग बढ्दै गएको छ। किसानले धान, गहुँ चुट्ने र जोत्नसमेत ट्र्याक्टर प्रयोग गर्न थालेका छन्। गाउँघरमा गोरु तथा राँगा पाल्ने क्रम घटेको किसान युवराज वलीले बताएका छन्। प्रविधि भित्रिएसँगै यसको प्रयोगले गर्दा किसानको श्रम कम लाग्ने र छिटोछरितो हुने उनको भनाइ छ।
कृषि उपकरणले गर्दा समयमै खेतीपाती ढल्याउन सहज भएको अर्का किसान मनसरी केसीले बताएका छन्। ‘पहिले–पहिले सातआठ दिनसम्म पनि खेतबारीमै काम गर्नुपथ्र्याे तर आजभोलि दुईतीन दिनमै खेती ढल्याउने भएको छ,’ उनले भने। तुलसीपुर–१० की कमला केसीले विगतमा खेत जोत्नेदेखि धान स्याहार्न खेताला लगाउने गरे पनि यस वर्ष भने ट्र्याक्टर र थ्रेसर प्रयोग गरी बाली स्याहारेको बताएका छन्।
गाउँघरमा धान चुट्ने दाउने मानिसको अभाव भएका समयमा कृषि उपकरण आएपछि धेरै सजिलो भएको उनको भनाइ छ। उपकरण र यन्त्रको प्रयोगले कृषि कार्यमा श्रम, समय र पैसा बचत हुने किसान बताउँछन्। ‘एक दिनको गोरु र मानिसले रु ८०० देखि एक हजार लिने गर्छन् तर ट्र्याक्टरले भने कम लिन्छ’, अर्का किसान निर्मल वलीले भने।
थ्रेसर मेसिनले धान दाउँदा प्रतिघण्टा रु दुई हजार र जोत्दा प्रतिघण्टा रु ८०० लिने गरेका उनको भनाइ छ। कृषि प्राविधिक यमप्रसाद पाण्डेले जिल्लामा पछिल्लो समयमा धेरैजसो किसानले विभिन्न उपकरण र यन्त्र प्रयोग गर्ने क्रम बढेको बताएका छन्। ‘पहिलेजस्तो गोरु र राँगाले खेत जोत्ने, दाइँ हाल्ने चलन हराउँदै गएको छ, सबैले आधुनिक उपकरण प्रयोग गर्न थालेका छन’, उनले भने।
जिल्लामा धान काटने, दाउने थ्रेसर, खेत जोत्ने साना तथा ठूला ट्र्याक्टर र मकै रोप्ने तथा गोड्ने मेसिनसमेत आएका छन्। किसानले कृषि औजार प्रयोग गर्न थाले पनि आफूहरुलाई पनि भ्याइनसक्नु भएको थ्रेसर चालक विमल चौधरीले बताएका छन्। (रासस)