काठमान्ठौँ– बाल्यवस्था जीवनको सबैभन्दा खुशी र सुखद को क्षण हो । यो समयमा न कुनै तनाव हुन्छ, न त कुनै समस्या नै। मात्र रमाइला क्षणहरु हुन्छन्। विगतमा बाल्यवस्थामा खेलिने लुकामारी, कर्बति, आसपास जस्ता खेलहरुले बच्चालाई मनोरञ्जन दिनेमात्र होइन, ती खेलमा गरिने कामले बच्चाहरुको शारीरिक व्यायाम पनि हुने गर्थ्यो।
यीनै खेलहरुका कारण पहिलेका बच्चाहरु अहिलेको तुलनामा कम बिरामी हुने गर्दथे। तर अहिले समय परिवर्तन भएको छ। समयसँगै बच्चाहरुको खेल्ने तरिका पनि परिवर्तन भएको छ । बच्चाको खेलमा पनि आधुनिकीकरण आइसकेको छ।
मोबाइल तथा टेभि, ल्यापटप नै बच्चाको संसार बनेको छ। बिभिन्न किसिमका चित्रहरु, भिडियो गेमहरु जस्ता विशाल श्रृंखलाले बच्चालाई आफ्नो उमेरभन्दा ठूलो बनाइदिएको छ।
जब कुनै बच्चाले मोबाइलमा चाउछ, जुन सरासर गलत कुरा हो। कहिले पनि आमाबुबाले आफ्ना बच्चाको बानीलाई मोबाइल वा रिमोटसँग दाँज्नु हुँदैन। आफूबाट थालनी गर्नुहोसकी।
बच्चाले त्यही कुरा सिक्छ जुन उसले आफ्नो वरपर देख्ने गर्छ । त्यसैले आमाबुबाले जे गरेको देख्छ, त्यसैलाई पछ्याउँछ। यदी तपाईं बच्चाको अगाडि बसेर मोबाइल चलाउनु हुन्छ भने बच्चाले पनि मोबाइल चलाउन खोज्छ।
यदि हामीले बच्चालाई मोबाइल चलाउन रोक्न खोज्यौं भने उसले हामीप्रति नकारात्मक सोच बनाउन थाल्छ। हामीले बच्चालाई जुन कुराको लागि धेरै रोक्न खोज्छौं, बच्चा त्यही कुरातर्फ बढी आकर्षित हुन्छ।
त्यसैले सर्वप्रथम हामी बच्चाको लागि आदर्श बन्नु आवश्यक छ। बच्चालाई पार्क लैजानुहोस। बच्चालाई साँझमा पार्क घुमाउन लैजाने बानी बसाल्नुहोस्। जसले बच्चाको मन खेलकुदतिर आकर्षित हुन थाल्छ।
त्यसको साथै बच्चाले नयाँ साथी बनाउने मौका पाउँछ र हरियो वातावरणमा रमाउन थाल्छ। प्राकृतिक वातावरणको बारेमा उसलाई केही ज्ञान पनि हुनुको साथै नयाँ,नयाँ कुरा देख्न र सिक्न पाउँछ।
हजुरबा र हजुरआमाको साथ
जस्तो किसिमको बाल्यावस्था हुन्छ, वृद्धावस्था पनि त्यस्तै हुन्छ। हजुरबा हजुर आमाको साथ नाती नातिनीको लागि अति नै रमाईलो हुने गर्छ। हजुरबा आमासँग समय बिताउँदा बच्चाहरुले आफ्नो संस्कृतिको बारेमा पनि धेरै कुरा जान्ने बुझ्ने मौका पाउँछन्।
बच्चाहरुले उनीहरुबाट कथाहरु सुन्न पाउँछन् र उनीहरुलाई हजुरबा हजुर आमाको साथ रमाइलो पनि लाग्न थाल्छ।बच्चालाई व्यस्त राखौं बच्चालाई कुनै न कुनै कुुरामा व्यस्त राख्नु पर्छ। उनीहरुलाई केही कुराको जिम्मेवारी दिनुहोस् र त्यसमा आफू पनि सहभागी हुनुहोस्।
उनीहरुलाई पेन्टिङ, स्केटिङ, गायन, नृत्य जस्ता कुराहरुमा प्रोत्साहित गर्नुहोस् । जुन कुरामा तपाईंको बच्चालाई रुचि छ, त्यो कलामा उसलाई दक्ष बन्न सहयोग गर्नुहोस्।
लोभ देखाउन हुँदैन
बच्चालाई कुनै पनि कुराको लोभ देखाउन हुँदैन। यति होमवर्क गर, त्यसपछि मोबाइल खेल्न दिन्छु अथवा भनेको काम गर, चक्लेट दिन्छु भन्ने जस्ता लोभले बच्चाको ध्यान त्यही कुराप्रति केन्द्रित हुन्छ र उसलाई लोभको बानी बस्छ।
यदि तपाईं कुनै काममा व्यस्त हुनुहुन्छ भने बच्चालाई खेल्नको लागि फोन नदिनुहोस् उसलाई आफ्नो खेलौनामा नै व्यस्त गराउनुहोस्। यदि तपाईं आफ्नो बच्चालाई टेलिभिजनमा इतिहास अथवा जियोग्राफी च्यानलहरु देखाउन चाहानु हुन्छ भने तपाईं आफू पनि सँगै बसेर यी च्यानलहरु हेर्नुहोस्।
फोनको लागि बच्चालाई गाली गर्ने अथवा पिट्ने नगर्नुहोस्। उसलाई मोबाइल फोन चलाउँदा कस्तो नोक्सान हुन्छ भन्ने कुरा सम्झाउनुहोस्।