एजेन्सी - बिहान उठ्नसाथ के गर्नुहुन्छ? यो प्रश्न भन्दा अगाडि तपाईंको उठ्ने समय महत्वपूर्ण छ। कुन समयमा उठ्नुहुन्छ, विहान सबेरै उठ्नुहुन्छ वा ढिलो, उठ्ने समय नियमित छ, वा अनियमित, अहिले हामी उठ्ने समयप्रति त्यति ख्याल गर्दैनौं।
बिहानभर न्यानो ओछ्यान् छाड्न नपरे हुन्थ्यो भन्ने सोच्छौं, बिहान घाम झुल्किएपछि आँखा त खोल्छौं तर ओछ्यान छाड्न जाँगर चल्दैन, ओछ्यानमै पल्टिएर मोवाइल खेलाउन थाल्छौं, मोवाइलमा फेसबुक चलाउन थाल्छौं, युट्युबका भिडियो हेर्न थाल्छौं, जब हामी सामाजिक सञ्जालमा जोडिन्छौं, त्यहाँ नानाथरीका प्रसंगहरु फेला पर्छन् ।
भिडियो हेर्न थालेपछि त्यहाँ अनेकथरीका सामाग्रीहरु भेट्छौं। अब हामी ति सामाग्री हेर्दा– हेर्दा आफ्नो मुड बदल्न पुग्छौं, कहिले हिंस्रक खबर हेर्छौ, कहिले उत्तेजित बनाउने, कहिले दुःखी तुल्याउने, अक्सर उत्प्रेरणा जगाउने, सकारात्मक भाव पैदा गर्ने सामाग्री हामी हेर्ने गर्दैनौं।
धेरैजसो त हत्या, हिंसा वा विकृतीजन्य घटनाले हामीलाई आकर्षीत गर्छ। यसरी दिनको सुरुवात नै खराब मुडबाट हुन्छ। त्यसपछि अल्छी मान्दै उठ्छौं, खाना खाइरहँदा, कार्यलयमा काम गरिरहँदा हामीलाई बिहानकै कुराले पच्छ्याईरहन्छ।
वास्तवमा दिनको सुरुवात सही र सकरात्मक रूपमा गर्न सकियो भने हामी दिनभर उर्जाशिल रहन्छौं। बिहानको कर्मले हामीलाई दिनभर ताजा राख्छ। त्यसैले हाम्रो दिन राम्रो र सार्थक ढंगले बित्छ। बिहानको सुरुवात कसरी गर्ने त? यसमा हामीले केही कुरा ख्याल राख्नुपर्छ।
सूर्योदयअघि उठ्ने
संभव भएसम्म हामीले सूर्योदयअघि नै उठ्ने बानी गर्नु राम्रो हुन्छ। जब हामी बिहान सबेरै उठ्छौं, ताजापन अनुभूत गर्छौं । सूर्योदयअघि वहने हावा शुद्ध हुन्छ भनिन्छ। त्यसैले हाम्रा पूर्खाहरुले ब्रम्हा मुहूर्तमा उठ्नुपर्छ भन्दै आए, यतिबेला वायुमण्डलमा प्राणवायु वहन्छ।
विहानको सूर्यको किरणले जब शरीरमा स्पर्श गर्छ, बेग्लै उर्जा अनुभव हुन्छ। यसले हामीमा सकारात्मक भाव पनि पैदा गर्छ । बिहान सबेरै उठेपछि शौचक्रिया गरेर बाहिर टहल्नुहोस् । बगैंचा, छत वा बाटोमा यताउता हिँडडुल गर्न सकिन्छ।
संभव भएसम्म केही समयका लागि पैदल यात्रा गर्नुहोस्। फटाफट हिँड्नुहोस् । यसरी हिँड्दा तपाईंको मुटु, फोक्सो अरु बढी गतिशिल हुन्छ। शरीरमा शुद्ध अक्सिजन प्रवेश हुन्छ। जब शरीरमा पर्याप्त शुद्ध अक्सिजन मिल्छ, दिनभर तपाईंले ताजा अनुभव गर्न सक्नुहुन्छ।
ध्यान गरौँ
ध्यान गर्ने अभ्यास गरौं । ताजा हावामा ध्यान बस्नुको आफ्नै फाइदा छन्। खुला ठाउँमा बस्नुहोस् र ध्यानको अभ्यास गर्नुहोस् । यसले तपाईंको मनलाई शान्त र स्थिर तुल्याउँछ। बिहान कम्तीमा पाँच मिनेट ध्यान अभ्यास गरियो भने पनि धेरै लाभ मिल्छ। त्यससँगै प्राणायाम गरौं।
प्रकृतिप्रति कृतज्ञ रहनुहोस्
हामी सधै अरुबाट अपेक्षा गर्छौं, आशा राख्छौं त्यसैले दुःखी हुन्छौं । यद्यपि हामी अरुप्रति कृतज्ञ हुने हो भने हामीलाई सन्तोष मिल्छ, खुसी मिल्छ। सूर्योदयको दृश्य हेर्नुहोस्, वरीपरीको वातावरण हेर्नुहोस्, रुख, फूल नियाल्नुहोस्, डाँडापाखा हेर्नुहोस, आकास हेर्नुहोस, यी सबै दृश्यहरुले पनि तपाईंलाई खुसी दिलाउँछ।
यी खुसीका स्रोत हुन्। अतः आफुलाई खुसी दिलाउने प्रकृतिसँग कृतज्ञ रहनुहोस्, ताजा फलफूल वा खानेकुरा खानुहोस। बिहानको समय बासी वा धेरै मसलेदार, तारेको, खानेकुरा खाने नगरौं, बिहानको खाली पेटमा ताजा, सुपाच्य, पोषिलो खानेकुरा खाऔं, सलाद, फलफूल, सातु, दुध, दही आदि भोजनबाट दिनको सुरुवात गरौं, प्रेरणादायी संगीत सुनौं, दिनभरका लागि खुसी र सकारात्मक रहन तपाईंलाई संगीतले पनि साथ दिनेछ।
बिहान कुनै राम्रो भजन वा गीत सुन्ने गरौं, मधुर संगीतले तपाईंको मुड दिन भर ताजा बनाई राख्नेछ।