काठमाडौँ – बिहान उठेर हिँड्नु स्वस्थ र दीर्घ जीवनका लागि फाइदाजनक कुरा हो। स्वस्थ रहने हामी सबैको चाहना हुन्छ। फूर्तिलो र स्वस्थ रहनको लागि खानपानलगायत हरेक स–साना कुराहरुमा ध्यान पुर्याउनु जरुरी हुन्छ। डल्लुकी लुना श्रेष्ठले विगत दश वर्षदेखि योगा गर्दै आएकी छन्। ४५ वर्षीया लुना श्रेष्ठको दिनको शुरुवात बिहान पाँच बजेबाट हुन्छ। उनीे बिहान पाँच बजे उठ्छिन् र मुख धोएर दैडिन निस्कन्छिन्। उनी डल्लुबाट छाउनी हुँदै स्वयम्भु पुग्छिन्। हरेक बिहान यसरी नै करिब दुई घण्टा दौडिएपछि मात्र उनको दिनचर्या शुरु हुन्छ।
उनी भन्छिन्, ‘छोराछोरी हुर्केपछि स्वास्थ्यका लागि समय निकाल्न पाएकी छु। शुरुमा त हिड्ने बानी नभएर होला जिउ दुख्थ्यो। तर विस्तारै बानी भएपछि सजिलो भयो। मर्निङ वाकले शरीर स्वस्थ, तन्दुरुस्त र फुर्तिलो हुँदोरहेछ।’ आफू दौडिन थालेको देखेर उनका बस्ती वरपरका अरु महिलाहरु पनि दौडिन थालेको उनले बताइन्। बिहानीको शुरुवात राम्ररी भएमा दिनभरि जाँगरिलो भइने विजय दाहालको अनुभव छ। ‘बिहानको हिँडडुलले खानपान, निन्द्रा, श्वासप्रश्वास र पाचन प्रणाली सबैमा फाइदा पुग्ने रहेछ,’ उनी भन्छन्।
सितापाइलाकी ६४ वर्षीय शान्ति पोखरेल दिनहुँ बिहान घुमफिरमा निस्कन थालेको पाँच वर्ष भयो। ‘उच्च रक्तचाप र मधुमेहको रोगी भएकी हुनाले चिकित्सककै परामर्शअनुरुप ३० देखि ४० मिनेट हिँड्छु’ उनले भनिन्। सडक खाली हुने र स्वच्छ हावामा सास फेर्न पाइने हुनाले हिँडडुलका लागि बिहानीपखलाई रोजेको उनी बताउँछिन्। पोखरेलका अनुसार पाचँ बर्ष अघिको तुलनामा बिहान हिड्नेहरुको संख्यामा वृद्धि भएको देखिन्छ। ‘मैले शुरु गर्दा बिहान सडकमा यति धेरै जना देख्दिनथेँ,’ उनले भनिन्, ‘अचेल त बिहान पैदल हिड्नेले सडक भरिभराउ हुन्छ।’ बाटोमा ठिटाठिटीदेखि बुढाबुढीहरु समेत बिहानको समयमा दैडिने गरेको देखिन्छ।
पोखरेलले भनेझैँ बिहान चारदेखि सात बजेसम्म काठमाडौँ लगायतका सडकहरुमा सबै उमेरका एक्लै वा समूहमा हिंडिरहेको देखिन्छन्। बिहान सबै वर्ग, पेसाका मानिसहरुलाई सडकमा देख्न सकिन्छ। अरु बेला कार्यक्षेत्रबाहेक कतै नदेखिने अति व्यस्त प्राध्यापक, चिकित्सक, कर्मचारी एवं उद्योगीव्यवसायी पनि झिसमिसे बिहानीमा भने सडक, खुला चौर वा पार्कतिर दौडिन्छन्। तीमध्ये अधिकांश स्वस्थ भए पनि शरीरलाई बोझिलो हुन नदिन समय निकालेर डुल्न वा दौडन निस्केका हुन्छन्।
बिहानीको स्वच्छ हावामा घुमफिरले श्वासप्रश्वासमा सहज भई शारीरिक एवं मानसिक स्वास्थ्यमा सहयोग पुग्छ। स्वच्छ खाना, राम्रो निद्रा र बिहानीको डुलाइले मोटोपना बढ्न दिँदैन जसका कारण मानिसहरु स–साना रोगहरुबाट छुटकारा पाउँछन्। बिहान मर्निङ वाक गर्नेहरुको संख्यामा वृद्धि भएको मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीको भनाइ छ। साथै बिहानको हिँडाइ र दौडाइ शरीरका लागि सबैभन्दा उत्कृष्ट व्यायाम एवं रोगबाट मुक्त राख्ने प्रभावकारी उपाय हुने डा. रेग्मी बताउँछन्।
मर्निङ वाकको फाईदा:
नियमित बिहानीपख हिँड्नेलाई जिम गइराख्नु पर्दैन। बिहानीको डुलाइले मुटु बलियो बन्ने, रोग प्रतिरोधी क्षमता बढ्ने, रक्तचाप एवं मुटुको गति सामान्य रहने, हृदयघातको सम्भावना कम हुने, मांसपेशी र जोर्नीलाई बलियो बनाउने गर्दछ। साथसाथै प्रत्येक बिहान एक घन्टाको हिँड्नाले क्यान्सर हुने खतरालाई १४ प्रतिशतले कम गर्ने विशेषज्ञहरुको भनाइ छ। शरीरको आवश्यकता एवं क्षमताअनुकूल नियमित हिंडाइ र क्याल्सियमयुक्त भोजनले जोर्नीहरुलाई सदैव दुरुस्त राख्छ। व्यायामले रोगसँग लड्ने क्षमतालाई बढाउँछ। सरुवा रोगले आक्रमण गर्ने सम्भावना पनि कम हुने डा. रेग्मी बताउँछन्।
ध्यान दिनुपर्ने कुराहरु:
सूर्योदयअघि वातावरणमा अक्सिजनको मात्रा बढी र प्रदूषण कम हुने हुनाले शरीरमा पर्याप्त रक्त सञ्चार हुन्छ। शरीरलाई शिथिल हुन दिँदैन, आलस्यलाई कम गर्छ। त्यसैले सूर्योदय हुनु भन्दाअघि मर्निङ वाक गर्नु राम्रो हुने डा. रेग्मी बताउँछन्। साथै धुलो धुवाको बीचमा मर्निङ वाक गर्नुहुँदैन, जाडोको समयमा चिसो हुने हुदा हर्ट अट्याक हुनसक्छ। त्यसैले न्यानो लुगा लगाउनुपर्छ। दौडिँदा मुटुमा जोड परेर समस्या उत्पन्न हुने हुँदा खानेकुरा खानेबितिकै दौडनु हुँदैन।
त्यस्तै विभिन्न स्वास्थ्य सर्वेक्षण, अध्ययन एवं अनुगमनअनुसार मर्निङ वाक सही तरिकाले गर्नु पनि उत्तिकै जरुरी छ। घरबाट निस्कनेबित्तिकै दौडिहाल्नु हुँदैन, शुरुमा बिस्तारै पाइला चाल्नुपर्छ, अनि गति बढाउनुपर्छ। थकाइ लागेमा आराम गर्ने र फेरि अघि बढ्नुपर्छ। त्यस्तै गम्भिर मुटु रोगीहरुले भने मर्निङ वाक गर्नु राम्रो मानिदैन।