डा. गीता त्रिपाठी
मनिषा कोइरालाको हिल्ड क्यान्सर युगमा प्रवेश गरिरहेको आजको समयलाई एउटा विजेता हाँक दिने पुस्तकका रूपमा पाठकका हातमा आइपुगेको छ। यो दीर्घप्रतीक्षित पुस्तक मैले डिसेम्बर २७ का दिन भारतको राजीवगान्धी क्यान्सर रिसर्च सेन्टरका अङ्कोलोजिष्ट डाक्टर उल्लास बत्रालाई उपहार स्वरूप लिएर गएकी थिएँ। यता नेपालमा त्यही दिनको अपरान्ह सायद ठिक त्यही समयमा यो पुस्तक सार्वजनिक हुँदै थियो, यसपालिको पोखरा साहित्य महोत्सवमा। मेरो निम्ति पनि त्यो पुस्तक ती अत्यन्त आकर्षक र क्यान्सर रोगीका आस्थाका केन्द्र रहँदै आएका डाक्टरको हातमा पुर्याएको क्षण कम उत्सवमय लागिरहेको थिएन।
उपहारमा त मैले एउटा पुस्तक मात्र समर्पण गरेकी थिएँ तर त्यस पुस्तकको शीर्षकले सायद म बढी आकर्षित भएकी थिएँ। यो पुस्तक यसैले पनि एउटा विशेष प्रतीक थियो! र डाक्टर बत्राले त्यस पुस्तकलाई हत्केलाले उठाउँदा निकै आनन्दमिश्रित भावले उठाएको मैले प्रष्टै देखेकी थिएँ। भारतीय चलचित्र उद्योगमा आफ्नो समयकी अत्यन्त उर्वर रहेकी सुन्दर नायिकालाई पुस्तकका रूपमा फिर्ता पाउँदा अध्ययनशील व्यक्तित्व डाक्टर बत्रा निकै पुलकित भएका थिए। उनलाई यस्तै पुस्तक मेरातर्फबाट दिने दिन सायद उनी प्रतीक्षा गरिरहेका हुँदा हुन् र त भनिहाले, ‘यो त मनिषाले लेखेको किताब हो।’
मैले मनैमन भनेकी थिएँ यो थिमको लागि मलाई तयार पार्ने जिम्मा तिम्रो हो डाक्टर!’ वास्तवमा हिल्ड जगदीश घिमिरेको अन्तर्मनको यात्राको कभर पृष्ठ बन्न सकोस्। यस्तो पुस्तकको रोचकता, जहाँ जीवनको विपतको अनुभव शब्दले गराउँछ। सायद भोक्ताका लागि यति शब्द काफी छैनन्।
क्यान्सरका दिनहरूमा आफ्नो मन र मस्तिष्कले अनुभूत गरेका नितान्त मौलिक जीवनदर्शनहरू, बाँच्ने अभिलाषा र सकिँदैछुको चेतनाबीचको द्वन्द्व, परिवार, आफन्तजन र विभिन्न सन्दर्भमा करिअर बनाउने सिलसिलामा जोडिएर आएका सहयात्रीहरूको शुभेच्छा मनिषाले एक–एकको हृदयस्पर्शी स्मरण गरेकी छन्।
हिल्डमा एक्काइस उपशीर्षकहरू छन्। मनिषाको जीवनको नयाँ मोडमा उनले कल्पना गरेको सुन्दर गृहस्थी उनका प्रिय दर्शकहरूका लागि सुखद समाचार बन्न सकेन। गृहस्थी बन्यो र टुट्यो, दर्शकहरू एकपटक फेरि अभिनय ठानेर झुक्किए। यही अनिश्चितताकै समयमा अर्को डरलाग्दो खबरले मनिषाका शुभचिन्तक र कोइराला परिवारको ऐतिहासिकतासँग जानकार हुनेहरू सबैलाई रन्थनायो। कल्पनाभन्दा माथिको यो पीडादायक वास्तविकता स्वयं मनिषा र उनका परिवारले व्येहोर्न बाध्य भएको क्षणलाई जो कसैले पनि शत्रुलाई पनि नपरोस्... भन्ने समय थियो तर अहिले त्यो टर्यो भन्ने सुन्न पाउँदा आम र विशिष्ट सबैखाले शुभचिन्तक, दर्शक, श्रोता र पाठकमा मिठो उत्साह फैलिएको छ। मनिषाका जीवनका विशेष र निशेष क्षणहरू, आवादी र बर्वादीका रङ्गहरूले कोरिएका शब्दचित्रहरू नै हिल्डको समष्टि हो।

नेपालको अस्पतालमा पत्ता लागेको क्यान्सर बम्बईमा आफूले अत्यन्त विश्वास गरेका डाक्टरको निराशाजनक प्रतिक्रियापछि शुभचिन्तकहरूका साथ र सहयोगले अमेरिकामा पुगेर अनेक चरणमा उपचार सम्भव भएका सङ्घर्षपूर्ण दिनहरूलाई हिल्डमा आख्यानशैलीमा भावुक स्पर्शका साथ प्रस्तुत गरिएको छ। क्यान्सरका दिनहरूमा आफ्नो मन र मस्तिष्कले अनुभूत गरेका नितान्त मौलिक जीवनदर्शनहरू, बाँच्ने अभिलाषा र सकिँदैछुको चेतनाबीचको द्वन्द्व, परिवार, आफन्तजन र विभिन्न सन्दर्भमा करिअर बनाउने सिलसिलामा जोडिएर आएका सहयात्रीहरूको शुभेच्छा मनिषाले एक–एकको हृदयस्पर्शी स्मरण गरेकी छन्। उनले आफू क्यान्सरमुक्त भएको छैटौं वर्षमा लेखेको यस पुस्तकमा आफूले दोस्रो जन्म बाँचिरहेको उल्लेख गर्नु र जीवनको नयाँ सुरुवात भएको मिठो उद्घोष गर्नु साँच्चै नै क्यान्सरको भयावहताबाट बाहिर आउन सङ्घर्ष गरिरहेका जीवनहरूका निम्ति प्रेरक उपहार हो।
आम नेपालीको पहुँच बाहिरको अमेरिकाको क्यान्सर उपचारमा स्वयं मनिषाले उपचार खर्च जुटाउन आफूले झेलेका परिस्थितिहरूलाई सार्वजनिक गरिदिएर यस उपचारलाई सर्वसाधारणका निम्ति सोच्न मानसिक दबाव पनि सृजना गरिदिएकी छिन्। अहिले आफूले पाएको नयाँ जीवनको सदुपयोगमा मानवहितका विभिन्न सेवादायी कर्ममा तल्लीन मनिषाले जीवनको बचाइलाई एउटा कलाको रूपमा ग्रहण गरेको कुरा यसै पुस्तकको निष्कर्षमा प्रस्तुत गरेकी छन्। विभिन्न महत्वपूर्ण भनाइहरूलाई जीवनदर्शनका रूपमा अबलम्बन गरेर मनिषाले जीवन र अभिनयका बिचको दुरीमा आफ्नो आत्मअस्तित्वको मस्तुल आफैभित्र उभ्याएको अभिव्यक्तिका साथ यस पुस्तकको समापन गरेकी छन्। उनका अनुभूतिलाई अभिव्यक्तिमा अभिलेख गर्न सघाउने निलम कुमारले मनिषाका पात्र, परिवेश र जीवनदर्शनको प्रस्तुतीकरणमा शिल्पगत कुशलता देखाएका छन्।
‘हिल्ड’ मनिषा र मनिषाहरूका लागि संवेदना र प्रेरणाको एकमुष्ठ उपहार हो।