विष्णु नेपाल, अछाम – लाहुरका रोगले धेरै मरिसके। गणना छैन। अझै लाहुरका रोग भएका धेरै छन्। कतिले खुल्छन्, कतिले अझै लुकाएका छन्।’ चौरपाटी गाउँपालिका–४ स्थित थापडाकी अञ्जनी विक (नाम परिवर्तन)ले भनिन्।
एचआइभी सङ्क्रमितलाई यहाँ ‘लाहुरका रोग’ भन्ने गर्दछन्। ४० वर्षीया उनी आफैँ एचआइभी सङ्क्रमित हुन्। मध्याह्नको गर्मीमा गहुँ झारिरहेकी विकले शुरुआतमा खुलेर बोल्न चाहिनन्। गहुँ राम्रै भएछ? कति होला? कति महिनालाई धान्ला? प्र्रश्नमा ‘यस वर्ष बर्सात भइरह्यो, कहिल्यै नलागेको बाला यसपटक लाग्यो, चार महिना धान्ला कि!’ उनीले जवाफ फर्काइन्।
कम उमेरमा सङ्क्रमणसित जुधिरहेकी उनीले एआरटी सेवा लिइरहेकी छिन्। समय समय सिडी फोर काउन्ट गर्दछिन्। एचआइभी सङ्क्रमित भएकालाई रोगसित जुध्नसक्ने प्रतिरोधी क्षमता बढाउने औषधिलाई एआरटी भनिन्छ। सङ्क्रमितले आफ्नो रगतको अवस्था तथा मापन गरिराख्न सिडी फोर काउन्ट आवश्यक तथा अनिवार्य पर्छ।
सरकारले यी दुवै सेवा निःशुल्क रुपमा प्रदान गर्दै आएको छ। तर यहाँका सङ्क्रमितका लागि ती सेवामा सहज पहुँच छैन। गाउँ नजिक रहेको पायल स्वास्थ्य चौकीले हालसम्म सेवा दिन सकेको छैन। सेवा लिन वयलपाटा अस्पताल तथा चौरमाण्डु प्राथमिक स्वास्थ्य चौकीमा जान विवश छन्।
उनी गाउँमा एचआइभी सङ्क्रमितका लागि दश वर्षदेखि निरन्तर पैरवी, एआरटी सेवा लिएर नलिएको, सिडी फोरको अनुगमन तथा जनचेतना काममा निरन्तर जुटिरहेकी छिन्। ‘श्रीमान्बाट म सङ्क्रमित भएँ, श्रीमान्को छातीको सङ्क्रमणबाट (एड्स) मृत्यु भो। दुई छोरा छन्, उनीहरु दुवै रोजगारीका लागि विदेशिएका छन्। एक्लै छु। उनीहरु के गर्छन् नभनौँ,’ गहभरि आँसु पार्दै विकले भनिन्।
सङ्क्रमितहरु मिलेर यहाँ सञ्चालनमा ल्याएको मिलीजुली समूहमा उनी जिम्मेवारी पदमा नेतृत्व प्रदान गरेकी छिन्। हरेक महिनाको ११ गते समूहको बैठक बस्छ। रुपैयाँ पाँचबाट बचत सङ्कलन गरी शुरुआत भएको संस्थामा चार लाख जम्मा भइसकेको छ।
‘पहिला पहिला त एचआइभी भनेको के हो थाहा नै भएन। लाहुरका रोग भन्थे। बिरामी भएर वयलपाटा अस्पताल जान थालेपछि बल्ल थाहा भो,’ उनी भन्छन्। अस्पताल पुग्न करीव एक दिन लाग्छ। ‘एचआइभी’ भो भनेर शुरुमा कोही खुल्न चाहेनन्। खुलेकालाई अपमान हुन थाल्यो। मृत्यु भएकाको लास उठाउने पुरुषसमेत यहाँ भएनन्।
लास बोकेर जलाउनु परेको उदाहरण दिँदै विकले अहिले सचेतना बढेको र समूहमा बसेर खुलेर कुराकानी तथा सहयोग आदान–प्रदान हुने गरेको बताइन्। रोजगारीका लागि पुरुष भारत जाने गर्दछन्। आफ्नो खेतीपातीले मुस्किलले चार महिना पनि धान्न नपुग्ने भएपछि उनीहरु रोजगारीका लागि अन्यत्र जान विवश छन्। गाउँका बालबालिका, वृद्धवृद्धा मात्र भेटिन्छन्।
चरम खानेपानी सङ्कटले यहाँका बासिन्दालाई पीडामाथि पीडा दिइरहेको छ। सीमित खेतीयोग्य जमीन पनि बाँझो देखिन्छ। विकका अनुसार हालसम्म थापडा गाउँमा मृत्युको प्रमुख कारक एचआइभीले निम्त्याउने अन्य रोग रहेका छन्। हालसम्म आठ जनाभन्दा बढीको मृत्यु भएको छ। सो समूहमा पुरुष र महिला गरी २० जना सदस्य छन्।
गत वर्ष मात्र एचआइभी–एड्सबाट पति गुमाएकी तीन छोराकी ५५ वर्षीया जमुना विक (नाम परिवर्तन)ले भनिन्, ‘लाहुर रोग कसरी नसर्ने हुन जानकारी पाएनौँ। निको नहुने रोग भन्ने कुरा त थाहा पाएको धेरै भएको छैन।’ उनका तीनवटै छोरा घर छैनन्। ‘मलाई त रोग भो भो सन्तानलाई लाग्न नदिन सरकारको आँखा परे हुन्थ्यो,’ आँसु पार्दै उनीले सुनाइन्।
गाउँमा विपन्न समुदायका विक, पार्की कुमाललगायत धामी, कुँवर शाह बसोबास गर्दछन् । अन्यत्र बसाइँ–सराइले ढोकामा ताला मारेका घर गाउँका धेरै देख्न सकिन्छ। ‘वरपर कमाई पाए को जान्छ गाउँ छाडेर? न खाने अन्न छ, न पिउने पानी छ? बाँच्न त र्पयो। घर छाडेर अन्यत्र जानुको अर्को विकल्प छैन,’ ४३ वर्षीय मानसिंह धामी (नाम परिवर्तन) भन्छन्।
उनी गहुँ थन्क्याउन गाउँ आएका थिए। ‘श्रीमतीमा पनि रोग देखियो। दुई छोरा छन् उनीहरुको के भनौँ, भनेर केही हुन्छ? सहयोग गर्ने कोही होइनन्,’ भावुक हुँदै धामीले आफ्नो पीडा सुनाए।
रुपान्तरित हुँदै पायल
थापडा गाउँसित जोडिएको अर्को गाउँ पायल यतिखेर प्रजनन स्वास्थ्यका क्षेत्रमा नमूना गाउँ बन्दैछ। किशोरकिशोरी तथा नवविवाहित युवायुवतीका जोडी खुलेर प्रजनन स्वास्थ्यभित्रका विषय सिक्दै र सिकाउँदैछन्।
मष्टमाडौँ आधारभूत विद्यालय र वैजनाथ माविमा अध्ययनत किशोरकिशारी तथा गाउँका विवाहिता दम्पती अलग अलग समूहमा आबद्ध भई आफूलाई आवश्यक पर्ने प्रजनन शिक्षाका ज्ञान हासिल गरिरहेका छन्। यसले उनीहरुको सशक्तीकरण गर्नाका साथै अभिभावकमा समेत परिवर्तन ल्याएको छ।
यसका लागि बेलायत सरकारको अन्तर्रा्ष्ट्रिय विकास विभाग (डिएफआइडी), संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)को सहयोगमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र चौरपाटी गउँपालिकाद्वारा संयुक्त रुपमा सञ्चालित रुपान्तरण कार्यक्रमले सहयोग गरिराखेको छ।
१३ वर्षीया किशोरी सिर्जना धामीले भनिन्, ‘किशोरी अवस्थामा आउने शारीरिक परिवर्तन, महिनावारी, महिला हिंसा के हो, कुन उमेरमा विवाह, बच्चा जन्माउने उमेरलगायत विषयमा समूहमा छलफल हुन्छ। समूहमा हुने छलफलले आत्मविश्वास बढाउँदो रहेछ।’ कम उमेरमा विवाह गर्ने र घरमा सुत्केरी हुने प्रचलन लगभग यहाँ अन्त्य हुँदै गएको छ।
पायल स्वास्थ्य चौकीका अनमी शिला कट्टेलले भनिन्, ‘गत वर्ष सबै गर्भवती आमाले यही स्वास्थ्य चौकीमा आएर बच्चा जन्माउनुभयो।’ पछिल्लो जनगणनाअनुसार चौरपाटी गाउँपालिका–४ पायलको जनसङ्ख्या चार हजार ९ सय ९४ रहेको छ। स्वास्थ्य संस्थामा ५५ जना सुत्केरी भएका थिए। स्वास्थ्य संस्थामा आई परिवार नियोजन सेवाका बारेमा परामर्श र सेवा लिनेको सङ्ख्यामा सुधार भएको छ।
वैशाखको अन्तिम हप्ता विवाह बन्धनमा बाँधिएका कैलाश कुमाल र देवकुमारी कुमालले भने, ‘व्यवस्थित परिवार योजनाका लागि परिवार नियोजनको आवश्यकता हुन्छ। परिवार नियोजनका पाँचै प्रकारमा अस्थायी साधन (कण्डम, पिल्स, डिपो, इन्प्लान्ट र आइयुसिडी)को प्रयोगले फाइदा हुन्छ। कण्डम प्रयोग गर्ने सोचमा छु।’
दशजोड दुई उत्तीर्ण गरेका कैलाशले आमालाई आइयुसिडी प्रयोग गर्न लगाएका थिए। पायल गाउँ पूर्ण खोप गाउँ बनेको छ। ‘हामी पायललाई एचआइभी सङ्क्रमितमुत्त गाउँ बनाउँछौँ, हामी पनि सचेत हुन्छौँ,अरूलाई सचेत बनाउँछौँ,’ देवकुमारी कुमालले भनिन्।
औषधिको सेवन गरिने सुरक्षित गर्भपतन सेवा स्वास्थ्य चौकीमा रहेको छ। गत वर्ष १९ जनाले सो सेवा लिएका थिए। रुपान्तरण कार्यक्रम सोकट र कमलबजारमा कार्यान्वयनमा भइरहेको यहाँस्थित युएनएफपिएका सञ्चार र पैरवी अधिकृत सन्तोष क्षेत्रीले जानकरी दिए। (रासस)